भारतको चतुर खोप कूटनीति

आइतबार, १ चैत, २०७७
डिजिटल संस्करण

महामारीबाट पार लाउने खोपको आविष्कार भइसके पनि ‘खोप दौड’ र ‘खोप राष्ट्रवाद’जस्ता शब्द विश्वव्यापी जनबोलीमा प्रवेश गरेका छन् । खोप वितरणमा विश्वव्यापी सहकार्य न्यून देखिन्छ । विपन्न मुलुकलाई लक्षित विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम तत्कालै अघि बढ्ने अवस्था छैन । यस्तोमा भारतले भने ‘खोप कूटनीति’को फरक मार्ग लिएको छ । ‘खोपमैत्री’ कार्यक्रमअन्तर्गत भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले निर्माण गरेको कोभिसिल्ड खोपको लाखौँ डोज निर्यात गरिसकेको छ । 

उसो त औषधि निर्माणको सन्दर्भमा भारतलाई विश्वको ‘पावरहाउस’ मानिन्छ । विश्वमा निर्माण हुने सम्पूर्ण जेनेरिक औषधिको २० प्रतिशत हिस्सा भारतमा बन्छ । विश्वव्यापी खोप निर्माणमा त भारतको हिस्सेदारी अझ बढी अर्थात् ६२ प्रतिशत छ । कोभिड–१९ को खोप निर्माण हुनुपूर्व पनि भारतले झन्डै एक सय देशमा हाइड्रोअक्सिक्लोरोक्विन र पारासिटामोल निर्यात गरेको थियो । त्यस्तै, लगभग ९० देशलाई महत्वपूर्ण किट तथा अन्य उपकरण पठाएको थियो ।

अक्सफोर्ड–एस्ट्राजेनेका खोप स्वीकृत हुनुपूर्व नै सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख ४० वर्षीया आधार पुनावालाले खोपले स्वीकृति पाएपछि आफूहरूले निर्माण गर्ने जोखिमपूर्ण निर्णय गरेका थिए । स्वीकृत भइसकेपछि सेरम इन्स्टिच्युटले करोडौँ डोज निर्माण गरिसक्यो । इन्स्टिच्युटले निर्माण गरेका खोपका डोज घरेलु प्रयोग र निर्यातका लागि भारत सरकारलाई उपलब्ध गराइरहेको छ । 

‘खोप राष्ट्रवाद’का कारण धेरै देशलाई खोप हासिल गर्न कठिन भएको समयमा भारतले विश्वका विपन्न मुलुकहरूलाई खोप उपलब्ध गराएर विश्वमा आफ्नो कद बढाएको छ । यो कदमले भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा स्थायी सिट दिलाउन सहयोग गर्न सक्छ । 

भारतमा बनेका खोप उसका अधिकांश छिमेकीले पाएका छन् । यसमा अफगानिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, म्यानमार र नेपाल यसमा समावेश छन् । अझ टाढाका सिसेल्स, कम्बोडिया, मंगोलियो र प्रशान्तीय टापु, क्यारिबियन तथा अफ्रिकी मुलुकले पनि भारतीय खोप पाएका छन् । खोप कूटनीतिले बंगलादेशसँगको तनावपूर्ण बन्दै गएको भारतको सम्बन्धमा सुधार ल्याएको छ भने माल्दिभ्ससँगको मैत्रीपूर्ण सम्बन्ध थप बलियो बनाएको छ । पश्चिमी औषधि कम्पनीले औषधि निर्माणका क्रममा विश्वव्यापी प्रचार पाए ।

तर, तिनले निर्माण गरेको खोप समृद्ध मुलुकले प्रयोग गरेपछि मात्र अरूले पाउने अवस्था छ । पिफाइजर–बायोएनटेक, मोडेर्ना र जोनसन एन्ड जोनसनजस्ता पश्चिमी कम्पनीले निर्माण गर्ने खोपको उच्च मूल्य विपन्न मुलुकलाई भारी पर्ने देखिन्छ । भारतमा निर्माण भएको खोप सुरक्षित, तुलनात्मक रूपमा न्यून मूल्यको छ । साथै, अन्य खोपजस्तो यसलाई भन्डारणका लागि अत्यन्त न्यून तापक्रको आवश्यकतासमेत पर्दैन ।

भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले विशुद्ध मानवतावादी उद्देश्ले भारतको विज्ञान प्रविधिको जग बसालेका थिए । उनीपछिका नेतृत्वले वैज्ञानिक तथा चिकित्सकीय क्षमतालाई भूराजनीतिक स्थिति सबल बनाउन प्रयोग गर्न सकिन्छ भनेर पहिचान गरे । धनाढ्य मुलुकले आफ्नो प्रयोगका लागि मात्र खोप संग्रह गरेकोमा आलोचना खेपिरहँदा भारतले हालसम्म ३.३ करोड खोप विपन्न मुलुकलाई पठाइसक्यो । 

लुकेको कुरा होइन, खोप कूटनीतिमा चीन र भारतको प्रतिस्पर्धा देखिन्छ । तर, विपन्न मुलुकलाई खोप पुर्याउने मामिलामा भारतको खोप वितरण चीनको भन्दा प्रभावकारी र तीव्र देखिन्छ । उदाहरणका लागि चीनले म्यानमारलाई तीन लाख डोज खोप दिने घोषणा गरे पनि हालसम्म खोप म्यानमार पुगेको छैन । तर, उही अवधिमा १७ लाख डोजको भारतीय खोप म्यानमार पुगिसक्यो । कम्बोडिया र अफगानिस्तानमा पनि भारतले चीनलाई उछिनेको छ ।

विपन्न मुलुक मात्र होइन, भारतमा बनेको खोप सम्पन्न मुलुकमा पनि पुगिरहेका छन् । सेरम इन्स्टिच्युट अफ इन्डियाबाट बेलायतले एक करोड खोप मगाएको छ । क्यानडाले २० लाख खोप मागेकोमा पाँच लाख खोप पाइसकेको छ । क्यानडाका प्रधानमन्त्रीले भारत र मोदीको प्रशंसा गर्दै कोभिड–१९ विरुद्धको लडाइँमा भारतको भूमिका महत्वपूर्ण हुने बताए । 

चीनको आर्थिक तथा भूराजनीतिक प्रभुत्वको विकल्पमा भारतले आफ्नो देशको औषधि निर्माण क्षमतालाई अघि सारेको छ । खोप सम्बन्धमा विकसित देशको आत्मकेन्द्रित प्रवृत्तिको त सर्वत्र आलोचना भइरहेको छ । विकसित देशमा विश्वका १६ प्रतिशत जनसंख्या बस्ने भए पनि विश्वको कुल खोप आपूर्तिको ६० प्रतिशत हिस्सा तिनले आफ्नो लागि सुरक्षित गरेबाट पनि तिनको स्वार्थीपन झल्किन्छ । भारतले भने अन्य निर्यातका अतिरिक्त विश्व स्वास्थ्य संगठनले गरिब मुलुकमा खोप पुर्याउन ल्याएको कोभ्याक्स कार्यक्रममा पनि १.१ अर्ब खोपको डोज दिँदै छ ।

भारत सरकारले आफ्ना जनतालाई दिएकोभन्दा तीन गुणा खोपको डोज निर्यात गरेकोमा देशभित्र चिन्ता नभएको होइन । अगस्टसम्म ३० करोड मानिसलाई खोप लगाउने लक्ष्यमा भारत पछाडि परेको छ । केही स्थानमा भाइरसको लहर पुनः बढ्न थालेको छ । अर्थतन्त्र पनि पूर्णतः नब्युँतेको अवस्थामा भारतले आफ्ना घरेलु माग र विपन्न मुलुकप्रति जनाएको प्रतिबद्धता पुर्याउन नसक्ने हो कि भन्ने चिन्ता पनि छ । यस चुनौतीलाई पूरा गर्दा महत्वपूर्ण राष्ट्रिय स्वार्थको हित हुनेछ । 

विश्वशक्ति बन्ने भारतको चाहनामा खोप कूटनीतिले महत्वपूर्ण सहयोग पुर्याएको छ । भविष्यमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यको संख्यामा पुनर्संरचना हुने भयो भने धेरै देशले प्राणघातक भाइरसले विध्वंस मच्चाएको वेला सबैभन्दा बढी सहयोग गर्ने देशलाई अवश्य सम्झनेछन् ।

संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव रहिसकेका थरुर हाल भारतीय राष्ट्रिय कंग्रेसका तर्फबाट भारतीय लोकसभाका सांसद हुन् । 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य 

सुझावित समाचार