नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाउने चेतावनी दिएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै प्रचण्डले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताए ।
लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य रहेकामा जोड दिए । पछिल्लो समय देशमा परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भएको जनाउँदै उनले यसका विरुद्ध संघर्ष गरिने बताए । ‘मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन, तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रंगीन क्रान्ति आवश्यक छ ।’
नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको बाह्रबुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाइने जनाउँदै अध्यक्ष दाहालले सबैलाई एकजुट हुन आह्वान गरे । अध्यक्ष प्रचण्डले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रह गरेका छन् ।