भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित, व्यवसायी मिलेर मार्गचित्र बनाउन आग्रह

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

नेपालमा लगानी बढाउन दुई देशका व्यवसायीले रोडम्याप बनाउनुपर्ने भारतीय व्यवसायीहरूले बताएका छन् । भारतीय वाणिज्य एवं उद्योग महासंघ (फिक्की)ले केही दिनअघि नयाँदिल्लीमा नेपालका आर्थिक पत्रकारसँग गरेको अन्तक्र्रियामा यस्तो धारणा राखेका हुन् । त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने उनीहरूको भनाइ छ । 

भारतीय उद्योगी–व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको एस ट्याक्टर तथा कन्स्ट्रक्सन इक्विपमेन्टका सिओओ अशोक अनन्थरमनले बताए । ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको ठूलो स्रोत हो,’ उनले भने, ‘नेपालमा अझै भारतीय लगानी तीव्रत्तर रूपमा बढ्छ ।’  

फिक्की साउथ एसिया क्षेत्रीय परिषद्का अध्यक्ष एवं महिन्द्रा एन्ड महिन्द्रा गु्रपका मनोज चुगले पानी र ऊर्जामा नेपाल र भारतको सम्भावना धेरै रहेको बताए । ‘साउथ एसियामा पहिलोपटक क्रसबोर्डर पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात–निर्यात भएको छ, यस्तो सम्भावना अझै भएकाले साझा रोडम्याप बनाउनुपर्छ,’ उनले भने ।

नेपालको व्यापारमा दुईतिहाइ, सेवा व्यापारको एकतिहाइ, वैदेशिक प्रत्यक्ष लगानीको एकतिहाइ, पेट्रोलियम आपूर्तिको सय प्रतिशत र निवृत्तिभरण, पेसाकर्मी र खातामा आन्तरिक रेमिट्यान्सको उल्लेखनीय हिस्सा भारतको रहेको अनन्थरमनले बताए । भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेकाले आर्थिक सम्बन्ध सुदृढ पार्नु दुवै देशका लागि महत्वपूर्ण कुरा भएको उनको भनाइ थियो । 

व्यवसायी राजन मल्होत्राले भारतका १ सय ५० भन्दा धेरै ठूला कम्पनीले नेपालमा लगानी र व्यवसाय गरिरहेको बताउँदै नेपालको कानुन र वातावरण बिस्तारै लगानीमैत्री हुँदै गइरहेकाले थप लगानी बढ्ने बताए । सन् २०१९–२०२० मा कुल द्विपक्षीय व्यापार ७.८७ अर्ब अमेरिकी डलर पुगेको बताउँदै मल्होत्राले सोही वर्ष भारतमा नेपालको निर्यात ७१ करोड १० लाख अमेरिकी डलर भएको बताए । जबकि भारतको नेपालतर्फ निर्यात ७.१६ अर्ब अमेरिकी डलर भएको तथ्य मल्होत्राले 
प्रस्तुत गरे । 

सिएनएच इन्ड्रस्ट्रिज इन्डिया प्रालिका विकास किकनले नेपालमा स्थिरता, पारदर्शिता र एकरूपता कायम भइरहने हो भने नेपालमा भारतीय लगानी बढ्ने बताए । उनले भने, ‘नेपालको अटो बजारका लागि सबै भारतबाट जान्छ, नेपालमै टिभिएस, बजाजले प्लान्ट लगाएको छ । बजार बढाउने हो भने अरू प्लान्ट पनि आउन सक्छन्, तर त्यसका लागि लागत खर्च पनि हेरिनुपर्छ ।’ 

केइसी इन्टरनेसनल लिमिटेडका सार्क क्षेत्रका उपाध्यक्ष पंकज टण्डनले नेपालमा पूर्वाधारको क्षेत्रमा अझै विकास गर्ने सम्भावना अधिक रहेकाले भारतीय लगानीकर्तासँग मिलेर पूर्वाधारमा राम्रो काम गर्न सकिने बताए । ‘विकासको खाका पूर्वाधारबाट हुने भएकाले दुई देशका लगानीकर्ताले पूर्वाधारमा जोड दिनुपर्छ,’ उनले भने । 

बिराज बिनानी गु्रपका प्रबन्ध निर्देशक विनोद जुमेजाले नेपाल र भारतको व्यापार सदीयौँ पुरानो भएकाले दुई देशले आर्थिक लाभ लिन अब एक–अर्काेलाई नजिकबाट सहयोग गर्नुपर्ने बताए । नेपालमा धेरै भारतीय बैंकहरू संयुक्त लगानीमा खुले पनि भारतमा नेपालका बैंकहरूको अहिलेसम्म प्रवेश नभएको बताउँदै यसमा नेपालको राष्ट्र बैंकले प्रस्ट धारणा ल्याउनुपर्ने बताए । 

See More On

सुझावित समाचार