रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत १४ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
नियुक्तिसम्बन्धी सम्झौतामा स्पिनिङ मिल्सका अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यानको उपस्थितिमा सञ्चालक शशीकान्त अग्रवाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेको जनाइएको छ ।
२०५१ सालमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको स्पिनिङ मिल्स नेपालकै ठूलो रहेको जनाइएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत जारी गर्न लागेको सेयरमध्ये ४० प्रतिशत सेयर संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको छ ।
४ हजार ३ सयभन्दा बढीलाई रोजगारी दिएको कम्पनीले सुनसरीको दुहबी र खनारमा उद्योग सञ्चालन गरिरहेको जनाएको छ । उच्च प्रविधियुक्त स्पिनिङ प्लान्ट र मेसिनरी जडान गरी कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्नलगायत सिउने धागो विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको जनाइएको छ । कम्पनीले उद्योगबाट उत्पादित वस्तु भारत, टर्कीलगायत विभिन्न देशमा निर्यात गर्ने गरेको जनाएको छ ।