साइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा शाखा सञ्चालनमा ल्याएको छ । बुटवलमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको डेभलपमेन्ट बैंकको सुदूरपश्चिममा पहिलो शाखा हो ।
शाखाको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्त रूपमा बुधबार उद्घाटन गरेको जनाइएको छ । उद्घाटनपछि मेयर विष्ट र उद्योग वाणिज्य संघका अध्यक्ष मल्लले उद्योग, पर्यटन, कृषि र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न बैंकलाई सुझाब दिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले देशभरका ८ राष्ट्रियस्तरका विकास बैंकमध्ये काठमाडौंबाहिरको एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको बताए ।
साइन रेसुंगाले सातै प्रदेशमा बैंकिङ सेवा दिने लक्ष्यसहित अघि बढेको र डिजिटल बंैकिङ तथा वित्तीय साक्षरतालाई प्राथमिकता दिएको उनको भनाइ थियो । उनले स्थानीय माग र आवश्यकताअनुसार निक्षेप र कर्जाका विविध प्रडक्ट बैंकसँग भएको उल्लेख गर्दै यसबाट लाभ लिन आग्रह गरे ।
बैंकले ७६ शाखा र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।