सातदोबाटो शीर्ष डिभिजनमा : डीदेखि ए डिभिजनसम्मको दुई दशकको यात्रा

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

सुरुवातबाटै ए डिभिजनको टोली बन्ने एउटा सपना थियो । विशेषगरी बी डिभिजनमा पुगेपछि हामीले प्रत्येक सिजन यही सपना पूरा गर्न मिहिनेत गरेका थियौँ, सपना पूरा हुँदा साँच्चिकै खुसी लागेको छ । - कपिल रानामगर, अध्यक्ष सातदोबाटो युथ क्लब

प्रतियोगिता सकिनु एक साताअघि नै शीर्ष डिभिजनको बढुवा निश्चित गरेको सातदोबाटो युथ क्लबले त्यसको खुसी बिहीबार मनाएको छ । लिगको अन्तिम खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)लाई पराजित गरेसँगै खेलाडीहरूले मैदानमै बढुवाको खुसियाली मनाएका हुन् । 

आरसिटीविरुद्ध सातदोबाटोको जितका लागि माल्दिना आङ्थुपोले खेलको ६७औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । त्यसपछि खेलाडीहरूले च्याम्पियन लेखेको जर्सीमा ट्रफी ग्रहण गरेका थिए । उनीहरूले मैदानबाटै आफ्ना समर्थकहरूसँग खुसी साटेका थिए । बढुवासँगै सातदोबाटो अब सहिद स्मारक ए डिभिजन लिगको नयाँ सदस्य बनेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समय रोकिएर फेरि सुरु भएको सहिद स्मारक बी डिभिजन लिगमा सशक्त प्रदर्शन गर्दै सातदोबाटोले शीर्ष डिभिजनको यात्रा पक्का गरेको हो । 

पुरस्कार
(विजेता) सातदोबाटो युथ क्लब : १५ लाख
(उपविजेता) खुमलटार युथ क्लब : १० लाख
(तेस्रो) बाँसबारी : ८ लाख
(चौथो) ब्वाइज युनियन : ५ लाख

व्यक्तिगत विधातर्फ
उत्कृष्ट स्ट्राइकर : सविन केसी (खुमलटार)
उत्कृष्ट गोलरक्षक : अञ्जल श्रेष्ठ (खुमलटार)
उत्कृष्ट रक्षक : शिव गुरुङ (बाँसबारी)
उत्कृष्ट मिडफिल्डर : दिनेश राई (सातदोबाटो)
उत्कृष्ट प्रशिक्षक : सनोज श्रेष्ठ (सातदोबाटो) 
उत्कृष्ट घोषित सबैलाई २५–२५ हजार रुपैयाँ 

सातदोबाटोको बढुवासँगै उपत्यकाको टोलीहरूको बाहुल्यता रहेको ए डिभिजन लिगमा अब ललितपुरको मात्रै ६ वटा टोली भएको छ । ललितपुरका पाँच टोली थ्री स्टार, जावलाखेल, फ्रेन्ड्स, च्यासल र ब्रिगेड ब्वाइज ए डिभिजनमै छन् । 

सातदोबाटो अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग प्रणालीमा सहभागी भएको दुई दशकमै शीर्ष डिभिजनमा पुग्न सफल भएको हो । ०५७ सालमा दर्ता भएको सातदोबाटोले सोही वर्ष एन्फाको डी डिभिजन खेलेको थियो । त्यसको दुई वर्षपछि टोली सी डिभिजनमा बढुवा भयो । 

सी डिभिजनमा सातदोबाटोले नौ वर्ष बितायो । ०६८ सालमा मात्रै सातदोबाटो बी डिभिजनमा उक्लिएको थियो । त्यसपछिको थप नौ वर्षपछि सातदोबाटो ए डिभिजनमा पुगेको हो । टोलीको यो सफलतामा क्लबले खुसी मनाएको छ । ‘सुरुवातबाटै ए डिभिजनको टोली बन्ने एउटा सपना थियो । विशेष गरी बी डिभिजनमा पुगेपछि हामीले प्रत्येक सिजन यही सपना पूरा गर्न मिहिनेत गरेका थियौँ,’ सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल रानामगर भन्छन्, ‘सपना पूरा हुँदा साँच्चिकै खुसी लागेको छ ।’

शीर्ष डिभिजनको बढुवाका लागि सातदोबाटोले पछिल्लो नौ वर्षदेखि नै मिहिनेत गरिरहेको थियो । तर, त्यसका लागि विशेष योजना भने तीन सिजनअघि मात्रै बनेको थियो । ए डिभिजन क्लबहरूमै खेलाडीहरू लामो समय टिक्दैनन् । सातदोबाटोले पछिल्लो तीन सिजन एकै खेलाडीलाई अनुबन्ध गरिरह्यो । एकै प्रशिक्षकलाई निरन्तर जिम्मेवारी दियो । ‘यी खेलाडीलाई निरन्तर तीन सिजन क्लबमै राख्न सक्नु हाम्रो सफलता पनि हो । त्यसो हुँदा सबै खेलाडी परिवारका सदस्यजस्तै भए । त्यसले एकअर्काको खेल बुझ्न पनि सहज बन्यो,’ प्रशिक्षक सनोज श्रेष्ठ भन्छन्, ‘सबैको मिहिनेत र लगनले यो सफलता प्राप्त भएको छ ।’

                                           .....                   .....

सातदोबाटो युथ क्लब फुटबलप्रेमी केही युवाहरूले सुरु गरेको क्लब हो । सुरुवातमा यी युवाहरू सामाजिक काममा सक्रिय थिए । उनीहरू टोलमा सरसफाइ गर्ने र अन्य सामाजिक काममा अगुवाइ गर्थे । त्यही युवामध्येका एक कपिल अहिले क्लबका अध्यक्ष छन् । उनी भन्छन्, ‘सुरुवातमा हामी ७–८ जना साथीहरू सामाजिक काममा सक्रिय थियौँ । जुनियर भाइहरूले क्लबको नामबाट स्थानीय प्रतियोगिता जित्दै गए । त्यसपछि फुटबल खेल्नुपर्छ भन्ने भयो । अनि यतातिर लाग्यौँ ।’

सुरुवातमा उनीहरू सातदोबाटो योङ मुभमेन्ट नामबाट सक्रिय थिए । फुटबल नै खेल्ने निर्णय भएपछि ०५७ सालमा उनीहरूले जिल्ला प्रशासन कार्यालय ललितपुरमा सातदोबाटो युथ क्लब दर्ता गराएका हुन् । सोही वर्ष उनीहरूले डी डिभिजन लिगमा सहभागिता जनाएका थिए । 

त्यही यात्रा अहिले ए डिभिजनसम्म पुगेको छ । दुई दशकको यो अवधिमा सातदोबाटोले धेरै सफलता चुमेको छ । डीबाट, सी र बी डिभिजन पनि जितेर ए डिभिजनमा पुगेको हो । यो अवधिमा क्लबले आफ्नो छुट्टै भवन पनि बनाएको छ । व्यापारिक दृष्टिकोणले बनाइएको उक्त भवनबाट क्लबलाई केही आर्थिक सहयोग पनि जुटिरहेको छ । 

तर, अब ए डिभिजनको बढुवासँगै चुनौती पनि बढेको छ । ए डिभिजनमा क्लबको खर्च यत्तिकै पनि ठूलो छ । एसियाली फुटबल महासंघ (एएफसी)ले अन्य देशहरूमा जस्तै नेपालमा पनि क्लब लाइसेन्सिङ सिस्टम लागू गर्ने प्रयास गर्दै आइरहेको छ । 

त्यसअन्तर्गत अब क्लबहरूसँग आफ्नै छुट्टै मैदान हुनुपर्छ । महिला र युवा टोलीदेखि एकेडेमी पनि हुनैपर्ने नियम छ । यो व्यवस्था नगरेसम्म एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्नै नपाउने अवस्था छ । 

यी बाध्यतालाई बुझेका अध्यक्ष कपिल अब क्लब व्यवस्थापनले पनि नयाँ ढंगले सोच्नुपर्ने बताउँछन् । ‘अहिले हामीसँग सीमित नै भए पनि आर्थिक स्रोत त बनेको छ । ए डिभिजनमा पुगेपछि केही ठूला व्यापारिक घरानाले पनि सहयोगको वचन दिएका छन्,’ कपिल भन्छन्, ‘तर, हामीलाई यत्तिले मात्रै पुग्ने छैन । अब नयाँ ढंगले सोच्नुपर्छ ।’

उनले भनेको नयाँ ढंगको सोच क्लबको परिवार बढाउनेतर्फ पनि हुनुपर्नेछ । सातदोबाटोको परिवार अझै पनि सुरुवातको जस्तै सानो छ । पदाधिकारीबाहेक साधारण सदस्य निकै कम छन् । सानो परिवारले ठूलो जिम्मेवारी उठाउन सहज हुनेछैन । विशेषगरी फुटबल क्लबलाई अघि बढाउन त्यसको सदस्य संख्याले ठूलो मद्दत गर्ने गर्छ । सातदोबाटो नेपाली खेलकुदको ‘हब’ नै हो । अन्तर्राष्ट्रिय खेलकुद परिसर यहीँ छ । अन्तर्राष्ट्रिय स्तरको मानिएको स्विमिङ पुलदेखि कराते र तेक्वान्दोको एकेडेमी त्यही परिसरभित्र छन् । सातदोबाटो अरू धेरै खेलको केन्द्र पनि हो । फुटबलको मुख्यालय सातदोबाटोमै छ । 

खेलकुदको लत बुझेको सातदोबाटोको आशा अब यही क्लबसँग जोडिनेछ । त्यो आशालाई जीवन्त राख्न पनि क्लबले आफूलाई अझ सशक्त बनाउन आवश्यक छ । कपिल थप्छन्, ‘हामी यो क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी अघि बढ्नेछौँ ।’
 

See More On

सुझावित समाचार