नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति जटिल रहेको बताउँदै उपलब्धि गुम्न नदिन एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि संघर्षमा होमिएको बताए ।
केपी प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभूति भएको उनको भनाइ छ । देशको राजनीतिक परिवर्तनमाथि षड्यन्त्रले हमला भइराखेको भन्दै उनले सजग भएर त्यसविरुद्ध आफ्नै खुट्टामा उभिएर लड्नुपर्ने बताए । अरूसँग एकीकृत हुँदा आफ्ना साथीहरू छुटेर कमजोर देखिएको भन्दै प्रचण्डले आगामी दिनमा पुराना साथीहरू एकताबद्ध गरेर अगाडि बढ्ने बताए ।
प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाको निम्ति देशव्यापी अभियान चलाउने उनले बताए । दुई–चार वर्ष जनताको बीचमा गएर अभियान सञ्चालन गर्ने उनको भनाइ छ । उनले भने, ‘फेरि जनतासँग जोडिने, फेरि देशव्यापी अभियान चलाउनेतिर मैले सोचिराखेको छु । म काठमाडौंभन्दा अभियानमा बढी बस्ने विचार छ । प्रतिक्रियावादी देशभित्र र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसलाई परास्त गर्नु छ । मलाई विश्वास छ– परास्त गरिन्छ । हामीले आफ्नै धर्तीमा टेकेर मात्रै परास्त गर्न सकिन्छ । हामी आफ्नै शक्तिमा भर परेर मात्रै परास्त गर्न सकिन्छ । हामी देशका सबै सहरबजारका टोल–टोल, गल्ली–गल्ली र गाउँघर पाखा–पखेरा सबैतिर मजदुर किसान जसरी हिजो हामीले दलित, महिला, मुस्लिम, आदिवासी, जनजाति, मधेसी सबै सबै वर्ग तहतप्काका जनतालाई अधिकारसम्पन्न गर्ने लडाइँ लड्यौँ र हामीले जित्यौँ । हामीले फेरि एकचोटि अभियान चलायौँ । अहिले युद्ध गर्नुपर्ने स्थिति छैन । शान्तिपूर्ण ढंगले नै हामी आफ्नो खुट्टामा उभिएर जनतासँग जोडिने अभियान चलायौँ भने प्रतिक्रियावादीहरू परास्त हुन्छन् । हामी जित्छौँ ।’
प्रचण्डले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरूलाई पार्टीमा उचित स्थान दिएर राखिने पनि बताए ।