रहस्यमय मृत्यु भएको ७२ दिनपछि प्रहरीले एमाले नेता युवराज बाँस्कोटालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । १४ पुसमा पथरीशनिश्चरे नगरपालिका– १० निवासी एमाले नेता युवराज बाँस्कोटाको घरमा सुतेका सोही वडानिवासी १९ वर्षीय सन्दीप भण्डारीको शंकास्पद मृत्यु भएको घटनाको आरोपमा ७२ दिनपछि नेता बाँस्कोटलाई नियन्त्रणमा लिएर मोरङ प्रहरीले अनुसन्धान थालेको हो ।
तत्कालीन नेकपाको प्रदेश १ का सदस्य रहेका नेता बाँस्कोटा ओली समूहबाट केन्द्रीय सदस्य बनेका थिए । नेता बाँस्कोटाले नै आफ्नो छोराको हत्या गरेको मृतक सन्दीपका आमाबाबु र आफन्तले आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले किटानी जाहेरी लिए पनि नेता बाँस्कोटालाई पक्राउ गरेर अनुसन्धान थालेको थिएन ।
शंकास्पद मृत्युबारे किटानी जाहेरी दिँदा पनि प्रहरीले पहुँचकै आधारमा आरोपी बाँस्कोटालाई पक्राउ नगरेको भन्दै आफन्तले निरन्तर संघर्ष थालेका थिए । आमा राधिका भण्डारीले निरन्तर प्रहरी कार्यालय घेराउ गर्ने, पत्रकार सम्मेलन गर्ने, माथिल्लो निकायमा डेलिगेसन गएर नेता बाँस्कोटालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै आएकी थिइन् ।

बाँस्कोटाको घरमा मृत भेटिएका सन्दीप भण्डारी
८ मार्च नारी दिवस ( २४ फागुन) का दिन पथरीमा आयोजित कार्यक्रमा सन्दीपकी आमा राधिका भण्डारीले छोराको हत्यारालाई पक्राउ नगरेको गुनासो गरेपछि नेता बाँस्कोटासँग महिलाहरूको झगडा भएको थियो । झगडाकै क्रममा महिलाहरूले बाँस्कोटालाई कुर्सी र जुत्ताचप्पल प्रहार गरेका थिए ।
घटना भएको ७२ दिनमा प्रहरीले २६ फागुनमा नेता बाँस्कोटालाई अचानक पक्राउ गरेको हो । बाँस्कोटालाई बुधबार अदालतबाट म्याद थप गरेर इलाका प्रहरी पथरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।
बाँस्कोटाले सन्दीपको मृत्यु भवितव्य भएकोले आफू निर्दोष रहेको बताउँदै आएका थिए । तर, सन्दीपका आफन्तले भने शरीरमा चोट भएकोले मृत्यु भवितव्य नभएर हत्या नै भएको र हत्यारा बाँस्कोटा नै हो भनेर पुस २६ मा किटानी जाहेरी दिएका थिए ।