प्रधानमन्त्री केपी ओलीको बहिर्गमनका लागि कांग्रेस र माओवादी केन्द्रले नयाँ समीकरणको कसरत सुरु गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नयाँ सत्तासमीकरणबारे ‘सकारात्मक’ छलफल गरेका छन् ।
भेटमा प्रचण्डले समीकरणको नेतृत्व गर्न देउवालाई प्रस्ताव नै गरेका छन् । तर, कांग्रेस र माओवादी केन्द्रको मात्रै अंकगणितले नयाँ सरकार बन्न नसक्ने अवस्था रहेकाले देउवा र प्रचण्ड दुवैले जसपासँग संवाद अगाडि बढाउने सहमति गरेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्छ ।
पेरिसडाँडामा पार्टीको स्थायी कमिटी बैठकबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्नुअघि प्रमुख प्रतिपक्ष कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेलगत्तै प्रचण्ड भेटका लागि बुढानीलकण्ठस्थित देउवानिवास पुगेका थिए । देउवा र प्रचण्डबीच अपराह्न ४ बजेपछि करिब आधा घन्टा ‘वान टु वान’ छलफल भएको थियो ।
छलफलपछि प्रधानमन्त्री ओलीको बहिर्गमन गर्दै संविधान कार्यान्वयनका बाँकी कार्य गर्ने सम्बन्धमा गठबन्धनको सरकार बनाउन देउवा र प्रचण्ड सहमत भएका छन् । भेटमा जसपासहित गठबन्धन गर्दा संसद्मा हुने अंकगणितका विषयमा समेत छलफल भएको छ । ‘जसपाभित्र विभाजनको कुरा आएको छ, त्यसले संसद्मा पार्ने प्रभाव र सहकार्यका विषयमा थप छलफल गर्ने गरेर अघि बढ्ने कुराकानी भएको छ,’ देउवानिकट एक नेताले भने ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवा र प्रचण्डबीच अहिलेको तरल राजनीतिक अवस्थाका विषयमा छलफल भएको जानकारी दिए । ‘यो स्वाभाविक भेटघाट हो, दुई पार्टीका नेताहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल हुनु स्वाभाविक हो, तर भेटमा कुनै प्रस्ताव वा समझदारी भएको छैन,’ प्रवक्ता शर्माले नयाँ पत्रिकासँग भने ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रचण्ड र देउवाबीच सकारात्मक संवाद भएको र निष्कर्षमा पुग्न अझै बाँकी रहेको बताए । ‘कांग्रेस सभापति शेरबहादुर देउवासँग सकारात्मक कुराकानी भएको छ । संविधान र लोकतन्त्रको रक्षाका लागि सहकार्य गर्ने सहमति बनेको छ । आजै जसपाका संघीय परिषद् अध्यक्ष अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग पनि प्रचण्डले छलफल गर्नुभएको छ । भोलि (बुधबार) जसपाकै अध्यक्ष महन्थ ठाकुरसँग पनि भेट्ने कार्यतालिका छ,’ शर्माले भने, ‘जसपासँग बुधबार भेट भएपछि कांग्रेससँग थप सहकार्यबारे एउटा निर्णय हुन्छ ।’
जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रचण्डसँग नयाँ समीकरणबारे छलफल भएको, तर कुनै सहमति नभएको बताए । ‘शेरबहादुरजीलाई भेटेर प्रचण्ड मकहाँ आउनुभएको रहेछ । उहाँसँगको भेटमा मुख्यतः अब केपी ओली नै यो प्रतिगमनका मुख्य बाधक हुन् । उनलाई बिदा गर्न कांग्रेस, माओवादी र जसपा गठबन्धन गरेर जानुपर्छ भन्नेबारे सामान्य कुराकानी भयो । खासमा उहाँ मेरो स्वास्थ्यबारे बुझ्न आउनुभएको हो,’ डा.भट्टराईले भने ।
डा. ट्टराईले कांग्रेस, माओवादी केन्द्र र जसपाबीच समीकरणको सम्भावना रहेको दाबी गरे । उनले थपे, ‘यद्यपि नेकपाको एकता भंग भइसकेपछि प्रधानमन्त्रीको पार्टी अल्पमतमा परिसकेको छ । अब वैधानिक हिसाबले पनि नयाँ सरकार स्वाभाविक बन्छ । ओली रहेसम्म राज्यसत्ताको दुरुपयोग गरेर वितण्डा मच्चाइरहने खतरा रहन्छ, त्यसैले उनलाई बिदा गर्नेमा छिटोभन्दा छिटो एउटा समझदारी गरेर जानुपर्छ । तर, अहिले नै समझदारी बनिसकेको छैन । तर, बन्ने सम्भावनाचाहिँ छ ।’
स्रोतका अनुसार सर्वोच्च अदालतले नेकपाको एकता भंग हुने गरी फैसला गरेलगत्तै देउवाले नयाँ गठबन्धनका लागि दोस्रो तहका नेता परिचालन गरेका थिए । संसद्मा दोस्रो, तेस्रो र चौथो शक्तिका रूपमा रहेका दलहरूबीच गठबन्धन गरेर सरकार बनाउने विषयमा माओवादी केन्द्रले चासो देखाएपछि देउवा उत्साहित छन् ।
जसपासमेत कांग्रेस–माओवादीसँग नयाँ गठबन्धनका लागि सकारात्मक रहेको देउवानिकट स्रोतको दाबी छ । ‘ओलीको बहिर्गमनका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुवैसँग अनौपचारिक छलफल भइरहेको छ, छलफल सकारात्मक रूपमा अघि बढेको छ,’ देउवानिकट एक नेताले भने । ती नेताको दाबीअनुसार कांग्रेस र माओवादी केन्द्रसँग सहकार्यका लागि जसपाका शीर्ष नेताहरूसँग अन्तिम संवाद मात्रै बाँकी छ ।
कांग्रेस सभापति देउवा र जसपाका नेताद्वय भट्टराई र यादवसँग भेट गर्नुपूर्व प्रचण्डले पार्टी स्थायी कमिटीमा सम्भावित समीकरणबारे सबै पक्षसँग संवाद गर्ने निर्णय गराएका थिए । ‘संसद्, सरकार, राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयन प्रक्रिया बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्ष कांग्रेस, जनता समाजवादी पार्टीसँग वार्ता गर्ने बैठकले निर्णय गरेको छ,’ नेता नारायणकाजी श्रेष्ठले बैठकपछि भनेका थिए, ‘आवश्यकताअनुसार एमालेसँग पनि वार्ता गर्छौँ, तर हाम्रो मुख्य जोड कांग्रेससँगै हुनेछ ।’
एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने विषयमा भने अन्य पार्टीसँगको छलफल र राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरेर मात्र आवश्यक निर्णय लिने माओवादी केन्द्रको निर्णय छ । ‘हाम्रो पार्टीले सम्बन्धित कमिटीले निर्णय गर्छ, केन्द्रीय कमिटीबाट पनि हुन सक्छ,’ सरकारबाट समर्थन फिर्ता लिने कि नलिने जिज्ञासामा श्रेष्ठले भने, ‘तर, सबै पार्टीसँग छलफल गरेर, राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरेर आवश्यक निर्णयमा पुग्छौँ,’ बैठकपछि नेता श्रेष्ठले भनेका थिए ।
कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान राजनीतिक परिस्थितिका विषयमा सबै पार्टीसँग अनौपचारिक रूपमा संवाद भइरहेको बताए । ‘देशमा थप गम्भीर संकट पनि आउन सक्छ, यस्तो वेला हामी चुप लागेर बस्ने कुरा भएन, तर अहिले हामी संसद्मा सानो आकारमा मात्रै छौँ, हाम्रो खास भूमिका नै छैन,’ कार्कीले नयाँ पत्रिकासँग भने ।
अदालतले नेकपाको एकता भंग गर्नुअघि देउवालाई नेकपाका दुवै समूहले सत्ता सहकार्यका लागि अफर गरेका थिए । तर, देउवाले नेकपा विभाजनको आधिकारिकता खोज्दै आएका थिए । देउवा सरकारको नेतृत्वमा जान सक्ने देखिएपछि पार्टीभित्र अहिले कांग्रेस सरकारमा जान नहुने विषय चर्किएको थियो । पार्टीको १४औँ महाधिवेशनको मितिसमेत घोषणा गरिसकेको अवस्थामा देउवा प्रधानमन्त्री भए त्यसको प्रत्यक्ष प्रभाव महाधिवेशनको नतिजामा पर्ने संस्थापनइतर समूहको बुझाइ छ । तर, देउवा भने महाधिवेशन प्रभावित पार्नकै लागि भए पनि अवसर पाए देशको बागडोर सम्हाल्न चाहन्छन् ।
अदालतले नेकपाको एकता भंग गरेको अवस्थामा देउवाले आफूनिकटका नेताहरूमार्फत चुनावका लागि गठबन्धन सरकारको एजेन्डा फ्याँकेका छन् । कांग्रेसको केन्द्रीय समिति र संसदीय दलमा संस्थापनइतर समूहले देउवाले रोक्न सक्ने अवस्था छैन । तर, महामन्त्री पूर्णबहादुर खड्काले भने सरकारमा जाने वा नजाने भन्ने विषयमा कांग्रेसले बहस गर्ने वेला नभएको बताए ।
‘अदालतको निर्णयले दुई पार्टी अलग भएका छन् । बल्ल ती पार्टीको गतिविधि सुरु हुँदै छ । अहिल्यै यस्तै गर्ने भनेर निर्णय गर्ने अवस्था बनेको छैन । त्यसमा अनौपचारिक छलफल हुने कुरा सामान्य हो,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘अहिले नै सरकार वा सरकारबाहिरको बहसमा प्रवेश गर्ने वेला भएको छैन, भर्खर त नयाँ खेल सुरु भएको छ । तर, देशले कांग्रेसबाट फेरि पनि परिपक्वता र साहसिक निर्णयको अपेक्षा गरेको छ ।’
केन्द्रीय सदस्य बद्री पाण्डेले संसद् पुनस्र्थापना भएको अवस्थामा कांग्रेसले संसदीय प्रक्रियामा आफूलाई प्रभावकारी भूमिकामा देखाउने बताए । ‘अहिलेको अवस्थामा कांग्रेसको कुन निर्णयले अहिलेको व्यवस्था र संविधान कार्यान्वयनमा मद्दत पुग्छ, त्यहीअनुसार संसद्भित्रै कांग्रेसले आफ्नो भूमिका निभाउनुपर्छ, निकासको बाटो खोज्नुपर्छ, कांग्रेसले आफू प्रतिपक्षमा रहेको बिर्सिनुहुँदैन,’ उनले भने ।
अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरे कांग्रेसले सरकार बनाउने विषयलाई एग्रेसिभ रूपमा नलिएको दाबी गर्छन् । ‘कांग्रेस पाँच वर्षका लागि प्रमुख प्रतिपक्षकै भूमिकामा रहन्छ, बस्छ । सरकार हाम्रो प्राथमिकता होइन । तर, संसदीय प्रक्रियामा देशलाई निकास दिनैपर्ने अवस्थामा मात्रै कांग्रेसले आफ्नो दायित्व निभाउँछ,’ नेता घिमिरेले भने, ‘एउटा कुरामा ढुक्क हुनुस्, कांग्रेस ओलीको पक्षमा थिएन, अब पनि उभिँदैन, ओलीलाई समर्थन गर्दैन ।’
श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि पनि एमालेमै रहेका गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीबारे उनीहरूका तर्फबाट पछिल्लो स्थिति र आफ्नो भूमिका स्पष्ट भइसकेपछि मात्र पार्टीले धारणा स्पष्ट पार्ने पनि जानकारी दिए । त्यसैबीच माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिबारे छलफल गर्न २९ फागुनमा केन्द्रीय कमिटी तथा १ चैतमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । बैठकमा पार्टी एकीकरणअघि निर्वाचन आयोगमा बुझाइएको सूचीका केन्द्रीय सदस्य सहभागी हुनेछन् ।