मतपत्र छाप्न तयारी अवस्थामा रहन जनक शिक्षालाई शिक्षामन्त्रीको निर्देशन (भिडियोसहित)

मंगलबार, २५ फागुन, २०७७
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेसिन तयारी हालतमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन् । निरीक्षण भ्रमण गरी मन्त्री श्रेष्ठले केन्द्रका पदाधिकारीलाई अब निर्वाचनको समय आएकाले मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 

मन्त्री श्रेष्ठले सरकारले निर्वाचन आयोगलाई निर्देशन दिने र आयोगको निर्णयसँगै खुरुखुरु छपाइ थाल्न सक्ने तयारी अवस्थामा रहन निर्देशन दिए । केन्द्रमा मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । 

निर्वाचन आयोगमा रहेका मेसिनहरू पनि तत्काल ल्याउने व्यवस्था मिलाउनसमेत निर्देशन दिए । यसअघि सरकारले १७ र २७ वैशाख गर्ने निर्वाचन घोषणा गरेसँगै आयोगको टोलीले केन्द्रको भ्रमण गरेको थियो । 

पुस्तक अभावको गुनासो सुन्न नपरोस् : मन्त्री श्रेष्ठ
मन्त्री श्रेष्ठले शैक्षिक सत्रको सुरुमै पुस्तक विद्यार्थीको हातमा पुग्ने गरी काम गर्न केन्द्रलाई निर्देशन दिएका छन् । ‘अब पुस्तक अभावको कमेन्ट सुन्न चाहन्नौँ,’ मंगलबार निर्देशन दिँदै भने, ‘शैक्षिक सत्र सुरु हुँदा विद्यार्थीको हातहातमा पुस्तक नहुने अवस्था नहोस् ।’ पुस्तक छपाइ गरेर सबैभन्दा पहिले दुर्गममा पु¥याउन आग्रह गरे । 

विगतमा पुस्तक नपुगेको समाचार मिडियामा दोहोरिएर नआउने वातावरण बनाउनुपर्ने बताए । 

अरू कक्षाका पुस्तक छपाइ कार्य भइरहे पनि कक्षा ६ को भने नयाँ पाठ्यक्रम कार्यान्वयन हुने भएकाले अझैसम्म पनि तयारी छैन । मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पिआरसी) तत्काल ल्याएर छपाइ गर्ने व्यवस्था गर्न निर्देशन दिए । कक्षा ६ को पाठ्यक्रम स्वीकृतिमा मन्त्रालयले नै ढिला गरेका कारण समस्या आएको पाठ्यक्रम विकास केन्द्रका अधिकारीको भनाइ छ । 

केन्द्रले आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ११ सम्म छपाइ गर्नुपर्ने लक्ष्य एक करोड ८४ लाख ४६ हजार नौ सय ८० राखेको छ । तीमध्ये एक करोड ४७ लाख १३ हजार नौ सय ९९ थान छपाइ पूरा गरेको जनाएको छ । 

अर्थ मन्त्रालयका काम जनक शिक्षाबाटै गर्न आग्रह
जनक शिक्षा केन्द्रमा ५० प्रतिशत सेयर अर्थ मन्त्रालयको रहेको र अर्थ मन्त्रालयलगायतका सबै काम जनक शिक्षाबाट गर्न उचित हुने बताए । आन्तरिक राजस्व विभागको स्टिकरलगायतका काम जनक शिक्षाबाट गर्नुपर्ने उनले बताए । 

केन्द्रका अध्यक्ष एवं सचिव रामप्रसाद थपलियाले जनक शिक्षाले अर्थ, यातायात, भूमि व्यवस्था तथा सहकारीलगायत सबै सरकारी निकायको गोप्य काम छपाइ गर्नुपर्ने बताए । त्यसका लागि आवश्यक पूर्वाधार विकासमा लाग्ने पनि बताए । 

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले सुरक्षण मुद्रणालयमा थप मेसिन ल्याएर थप नयाँ अघि बढाउने, संस्थालाई ऋणमुक्त गराउने र संस्थाको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउनेलगायतका काम गर्ने लक्ष्य रहेको बताए । 

सुझावित समाचार