दोस्रो चरणको खोपका लागि काठमाडौंमा १५ केन्द्र तोकियाे

शुक्रबार, २१ फागुन, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको छ ।  

खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले महानगरपालिकाले १५ अस्पताललाई केन्द्र तोकेको छ । वडा छुट्याएर केन्द्र तोकिए पनि परिचय खुल्ने फोटोसहितको परिचयका आधारमा पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने छ ।  

खोप केन्द्र तोकिएका अस्पताल

खोप केन्द्र तोकिएका अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, क्षेत्रपाटी नि:शुल्क चिकित्सालय, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, मदरल्याण्ड अस्पताल सिनामंगल, काठमाडौं मेडिकल कलेज सिनामंगल, ओम अस्पताल एन्ड रिसर्च सेन्टर, स्तुपा अस्पताल बौद्ध, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल नक्साल, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र जनमैत्री अस्पताल बालाजु छन् ।  

अहिले तोकिएकाभन्दा अरू अस्पतालले पनि खोप सञ्चालन गर्न चाहेमा कामपाले समन्वय गरेर त्यस्ता अस्पतालमा पनि केन्द्र सञ्चालन गर्न सकिने कामपाका प्रवक्ता ईश्वरमान डंगाेलले जानकारी दिए । 

खोप लगाउनुपूर्व कामपाको ३२ वटै वडामा रहेका लाभग्राहीको संख्या पूर्वानुमान गर्नुपर्ने, सूक्ष्म व्यवस्थापनमा काम गर्नुपर्ने, अशक्त भएका व्यक्तिलाई कसरी खोप दिनेबारे यकिन गर्नुपर्ने, स्वयंसेवकको संख्या बढाउनुपर्ने, वडास्तरीय विपत् व्यवस्थापन समितिलाई पनि सक्रिय बनाउने प्रवक्ताको भनाइ छ ।    

कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले तोकिएका १५ खोप केन्द्रमध्ये गंगालाल हृदय केन्द्र बूढानीलकण्ठ नगरको व्यवस्थापनमा पर्छ । बाँकी १४ वटा महानगरको व्यवस्थापन क्षेत्रमा छन् । एउटा केन्द्रमा दुईजना खोप लगाइदिने व्यक्ति र ६ स्वयंसेवक खटाउने तयारी छ । 

कुँवरले भने, ‘कामपामा यसपटक करिब दुई लाख १५ हजार व्यक्ति खोपका लागि लक्षित समूहमा छन् । त्यसमध्ये करिब एक लाख ५० हजार व्यक्ति खोपका लागि आउने हामीले अपेक्षा गरेका छौँ ।’    

सबै केन्द्रमा खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । उनका अनुसार खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र, कार्यालयको परिचयपत्र लिएर जानुपर्नेछ । परिचयपत्र उपलब्ध नहुनेका लागि सिफारिस आवश्यक पर्नेछ ।

‘कोभिड– १९ रोगविरुद्धको खोप अभियान, कार्यक्रम सञ्चालन निर्देशिका ०७७/७८’ मा पालिकाका अध्यक्ष/प्रमुखको संयोजकत्वमा पालिका समन्वय समिति र वडाध्यक्षको संयोजकत्वमा वडा समन्वय समिति गठन हुने व्यवस्था छ ।     

 

See More On

सुझावित समाचार