स्पष्ट दिशा समात्न नसकेको नेप्सेमा २ सातापछि एकै दिन उच्च अंकले वृद्धि भएको छ । बिहीबार नेप्से ९० दशमलव ६८ अंकले बढेर २ हजार ५ सय बिन्दुमा पुगेको छ । यसअघि ३ फागुनमा एकै दिन नेप्से करिब ९३ अंक बढेको थियो । नयाँ सरकार बन्ने सम्भावना बढेको, सशस्त्र संघर्षमा रहेको दलसँग विद्यमान सरकारले शान्तिवार्ता गरेकोलगायतलाई समेत बजार बढ्नुको कारण मानिएको छ ।
सरकारले बिहीबार नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहसँग वार्ता गरेर मूलधारको राजनीतिमा ल्याएको छ । कतिपयले भने लगातार घटेको बजारमा लगानीकर्ता फेरि खरिददारीमा लाग्दा बजार बढेको मान्छन् । आइतबारको कारोबारपछि बजारको दिशा केही स्पष्ट हुन सक्ने आकलन विश्लेषकहरूले गरेका छन् । यद्यपि, अघिल्लो सातादेखि घटेको बजारलाई करेक्सनका रूपमा लिएका विश्लेषकहरूले अब भने स्थिरता देखिन थाल्ने आकलन गरेका छन् ।
यस दिन सबै १३ समूहमा वृद्धि भएपछि सूचकहरू हरिया भएका छन् । व्यापार तथा होटेल समूह सबैभन्दा धेरै ७ प्रतिशतले बढेको छ भने अन्य समूहहरूमा पनि करिब १ देखि ५ प्रतिशतसम्म वृद्धि भएको छ । नेप्से परिसूचक बढेको भए पनि यस दिन कारोबार रकम भने केही घटेको छ ।
यस दिन २ सय ६ किसिमका धितोपत्र र ऋणपत्रको १ करोड ६६ लाख इकाइ–कित्ता किनबेच हुँदा ६ अर्ब ५८ करोड रुपैयाँ मूल्यबराबरको कारोबार भएको छ ।यस दिन सूर्योदय लघुवित्त, चन्द्रागिरि हिल्स, लिबर्टी इनर्जीको सेयरमा १० प्रतिशतले सर्किट लागेको छ । बिहीबार ‘क’ वर्गको कम्पनी सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । यस दिन १४ दशमलव ६७ प्रतिशत अंकले बढेर ४ सय ५१ बिन्दुमा पुगेको छ । यस दिन १२ वटा कम्पनीको मूल्य भने घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) अग्रस्थानमा छ । कम्पनीको ९ लाख ८९ हजार कित्ता किनबेच हुँदा ५३ करोड २३ लाख मूल्यबराबरको किनबेच भएको छ । त्यस्तै, शिखर लाइफ इन्स्योरेन्सको २४ करोड ४४ लाख मूल्यबराबरको सेयर कारोबार भएको छ ।