रातमाटे सबस्टेसनको मुआब्जा वितरण ६० प्रतिशत सम्पन्न

शुक्रबार, २१ फागुन, २०७७
डिजिटल संस्करण

नुवाकोटको रातमाटेमा निर्माण हुने सबस्टेसनका लागि आवश्यक जग्गाको ६० प्रतिशत मुआब्जा वितरण गरिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । 
एमसिएले कार्यान्वयन गर्न लागेको विद्युत् प्रसारण लाइन निर्माण थाल्नुअघिको काम अहिले धमाधम भइरहेको बिहीबार विदुरमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले जानकारी दिए । लप्सीफेदी–रातमाटे–हेटौँडा, रातमाटे–दमौली–बुटवल सीमा प्रसारण लाइनको सबस्टेसन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नपा–७, रातमाटेको ३ सय ८५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । 

९४ परिवारको १ सय ८४ कित्ता जग्गा अधिग्रहण गरिएको हो । त्यसमध्ये ९१ जग्गाधनीलाई ६६ करोड ५० लाख क्षतिपूर्ति प्रदान गरिएको एमसिए नेपालका कार्यकारी निर्देशक विष्टले जानकारी दिए । अधिग्रहण गरिएका सबै परिवारको विद्यमान जीवनस्तर नखस्किने गरी क्षतिपूर्ति दिनुका साथै उनीहरूलाई जीविकोपार्जन र पुनस्र्थापनासम्बन्धी तालिमसमेत उपलब्ध गराउने निर्देशक विष्टको भनाइ छ । 

संसद्ले कम्प्याक्ट सम्झौता अनुमोदन नगरे पनि अनुमोदनअघिका पूर्वतयारीका कामहरू भने अहिले भइरहेको कार्यकारी निर्देशक विष्टले बताए । ‘अहिले भइरहेका कामहरू पूर्वतयारीका कामहरू हुन् । अधिग्रहण, मुआब्जा वितरण, डिजाइनलगायतका कामहरू हुन् । यी कार्य भइरहेका छन्,’ विष्टले भने, ‘संसद्ले अनुमोदन गरेपछि निर्माणमा मुख्य कार्य सुरु भएर पाँच वर्षमा सम्पन्न हुनेछ ।’

हालसम्म आयोजनामा नेपाल सरकारको १ अर्ब र अमेरिकी अनुदानको १ अर्ब ५० करोड खर्च भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना प्रसारण लाइन ३ सय १५ किलोमिटर लामो रहेको छ । दोहोरो सर्किटको ४ सय केभीको प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण हुनेछन् । त्यसमध्ये रातमाटे सबस्टेसन नेपालकै सबैभन्दा ठूलो र आधुनिक किसिमको हुने उनको भनाइ छ । 

नेपाल सरकारले संसद्मा प्रस्तुत गर्दा सम्झौता अनुमोदन नभई एमसिसी फर्किए पनि अहिलेसम्म खर्च भएको अनुदान रकम भने नेपालले फिर्ता गर्नुनपर्ने मिलेनियम च्यालेन्ज कर्पोरेसनका नेपालस्थित उपनिर्देशक सञ्जय पौडेलले बताए । 
नेपालले विद्युत्बाट आर्थिक आर्जन गर्नका लागि यो प्रसारण लाइन नेपालले बनाउनैपर्ने र यसले नेपालको हित हुने कार्यकारी निर्देशक विष्टले बताए ।

बाहिर हल्ला चलेजस्तो आयोजना सम्झौता अनुमोदन गरेका देशको सार्वभौमसत्तामाथि दखल पुग्नेमा कुनै सत्यता नभएको उनले बताए । ‘नेपालले अन्य दाताहरूसँग गरेका सम्झौताहरूभन्दा एमसिसीसँगको कम्प्याक्ट सम्झौता निकै लचिलो छ । काम गरेपछि कुनै अवरोध नआओस्, काम तोकिएको समयमा सम्पन्न होस् भन्न मात्र संसद्बाट अनुमोदन गर्नुपर्ने भएको हो,’ विष्टले भने ।

सुझावित समाचार