राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको काम सुरु गरेको छ । पहिलो चरणको सुरुङ बनाउने काम सकिएपछि अहिले बाँध र विद्युत्गृह बनाउने काममा तीव्रता दिइएको हो । बाँधस्थल निर्माण र विद्युत्गृहका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभीले दोस्रो चरणको कामलाई तीव्रता दिएका छन् ।
आयोजनाको सुरुङ ३ वैशाख २०७६ मा चीनको सिआइसी र चाइना इन्जिनियरिङ ओभरसिज प्रालिको संयुक्त निर्माणमा ‘ब्रेक थ्रु’ भइसकेको छ । द्रोस्रो चरणमा नदीको बहाव फर्काउने बाँध (कफरड्याम)को काम सुरु गरिएको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बताए ।
‘विद्युत्गृह, ब्यारेज, सर्ज साफ्ट, भेरीको पानी बबईमा खसाल्न चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गरिँदै छ ।’ उनले भने, ‘१ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।’ कम्पनीले दोस्रो चरणका सबै कार्य २०८० सम्म सकाउने लक्ष्य राखेको छ । आयोजनामा ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुने कार्यालयले जनाएको छ ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण भए बाँके र बर्दियाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । बाह्रै महिना सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब अप्रत्यक्ष तथा विद्युत्बाट २.१ अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान आयोजनाको छ । आयोजनाले ४८ मेगावाट विद्युत् निकाल्ने लक्ष्य राखेको छ ।