प्रधानमन्त्रीको सेयर रहेको माथिल्लो ३– बी कछुवाको गतिमा

परीक्षण उत्पादन गरिसक्नुपर्ने समयमा ४६ प्रतिशत मात्र काम सम्पन्न

बिहिबार, २० फागुन, २०७७
डिजिटल संस्करण
प्रधानमन्त्रीको सेयर रहेको माथिल्लो ३– बी कछुवाको गतिमा

दुई वर्षअघि आयोजना शिलान्यास गरिँदै । फाइल तस्बिर

सम्झौताअनुसार काम भएको भए नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली ३–बी जलविद्युतबाट अहिले धमाधम परीक्षण उत्पादन भइरहेको हुन्थ्यो । तर, २९ फागुन २०७७ मा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाको काम आधा पनि सकिएको छैन । किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा निर्माणाधीन आयोजना ऊर्जामन्त्री वर्षमान पुनले २७ माघ २०७५ मा शिलान्यास गरेका थिए ।

माथिल्लो त्रिशूली ३ ए जलविद्युतकाे क्यासेट परियोजनाका रूपमा निर्माण हुन लागेको आयोजनाको प्रगति हालसम्म ४६ प्रतिशत मात्र भएको आयोजना प्रमुख मोहनप्रसाद गौतमले जानकारी दिए । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारासाथ जनताका लागि लगानी रहेको आयोजनामा प्रधानमन्त्री केपी ओलीको पनि सेयर रहेको छ । जलविद्युतमा जनताको लगानी बढाउन भन्दै प्रधानमन्त्री केपी ओलीको पनि सेयर रहेको आयोजनाको निर्माण कार्य भने कछुवाको गतिमा भइरहेको छ । १० हजार कित्ता सेयरका लागि आवेदन दिएको प्रधानमन्त्रीदम्पतीले आयोजनाको सेयर बाँडफाँड गर्दा २०–२० कित्ता पाएका थिए । 

कोरोनाका कारण गत वर्ष चैतदेखि ठप्प रहेको आयोजनाको काम अझै पनि सुचारु हुन सकेको छैन । चिनियाँ ठेकेदार कम्पनीका कामदार पनि चीनबाट नै आउनुपर्ने भएकाले काम अझै सञ्चालन हुन नसकेको उनको भनाइ छ । ‘कोरोनाका कारण कामदार अझै आएका छैनन् । उनीहरू यही हप्ता आउने क्रममा छन् । खोप लगाइसकेका कारण उनीहरू आएर अब काम सुचारु हुन्छ,’ प्रमुख गौतमले भने । 

चिनियाँ नाका बन्द भएको र आयोजनाका उपकरण पनि चीनमै निर्माण गरी ल्याउनुपर्ने भएकाले पनि आयोजना अघि बढाउन नसकिएको उनको गुनासो छ । उनका अनुसार यसै हप्ता चिनियाँहरू आउने र मार्चको दोस्रो हप्ताबाट काम सुचारु हुनेछ । आयोजनाको म्याद एक वर्ष थप्ने तयारी भइरहेको पनि गौतमले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली ३– बी जलविद्युत् आयोजना इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा भइरहेको छ । 

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका स्थानीय पालिकाका बासिन्दाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहेको छ ।

सुझावित समाचार