नेप्से घट्ने क्रम रोकिएन : लगानीकर्ताको सम्पत्ति ३ खर्ब रुपैयाँले घट्यो

बिहिबार, २० फागुन, २०७७
डिजिटल संस्करण

नेप्से घट्ने क्रम बुधबारसमेत जारी रहे पनि लगानीकर्ताले सेयर खरिद बढाउन थालेका छन् । मंगलबारको तुलनामा बजारमा बढेको कारोबारले पनि यही देखाउँछ । यद्यपि, बजारमा मोलमोलाइ भने तीव्र भइरहेको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेको हो । 

बैंकले निक्षेपमा दिँदै आएको ब्याजदर बढ्न सक्ने हल्लाले नेप्से घटेको हो भने कतिपयले यसलाई विगतमाझैँ सिजनल प्रभावको रूपमा समेत लिन थालेका छन् । विगतमा पुसदेखि चैत मध्यसम्म बजार घट्ने प्रवृत्तिमा रहने गथ्र्याे । तर, पछिल्लो समय कम्पनीहरूले वैशाख–जेठसम्मै साधारणसभा गर्ने र लाभांश प्राप्त गर्ने अवधि बाँकी रहने गरेकाले बजार धेरै घट्नबाट रोकिँदै आएको थियो । 

हाल भने अधिकांश कम्पनीको लाभांश प्राप्त गर्ने अवधि सकिएकाले पनि बजार बढ्न नसकेको हो । नाफामा रहेका लगानीकर्ताले बेच्नु र नोक्सानमा रहेकाले केही समय पखर्नु सही हुने विश्लेषकहरू बताउँछन् । यस दिन नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २ हजार ४ सय १६ बिन्दुमा पुगेको छ ।

बुधबार धितोपत्र र ऋणपत्र गरी २ सय १२ कम्पनीको कारोबार भएकोमा सर्वाधिक कमाउनेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कम्पनी रहेका छन् । यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, हिमालयन हाइड्रोपावर र नेसनल हाइड्रो पावर कम्पनीको ८ प्रतिशतले मूल्य बढेको छ । कारोबारमा आएकामध्ये १ सय ५८ वटा कम्पनीको मूल्य घटेका छन् । यस दिन सबैभन्दा धेरै गुमाउनेमा एसियन लाइफ इन्स्योरेन्स र वरुण हाइड्रो पावर रहेका छन् । यी कम्पनीको मूल्य ५ देखि ६ प्रतिशतसम्म घटेको हो । 

बुधबार १ करोड १३ लाख कित्ता किनबेच हुँदा ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँ मूल्यबराबरको कारोबार भएको छ । सबैभन्दा धेरै सेयर कारोबार हुनेमा नेपाल टेलिकम छ । नेपाल टेलिकमले बुधबार ४० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । लाभांश घोषणा गरेकै दिन कम्पनीको मूल्य १ महिनायताकै उच्चदरमा घटेको छ ।

यसपटक बोनस सेयर घोषणा हुने अपेक्षामा रहेका लगानीकर्ताहरू कम्पनीको पछिल्लो घोषणाले निराश बनेका हुन् । कम्पनीको यो लाभांशदर प्रस्ताव १० वर्षयताकै न्यून हो । अहिलेको मूल्यअनुसार लगानीकर्ताले पाउने वास्तविक प्रतिफल भने ३ दशमलव ३३ प्रतिशत मात्रै हो । कम्पनीको मूल्य ५ प्रतिशतले घटेर १ हजार १ सय ९९ रुपैयाँमा कारोबार भएको छ ।

कम्पनीको सेयर बिक्री बढेकाले कारोबार रकममा समेत वृद्धि हुँदा यस दिनकै उच्च कारोबार गर्ने कम्पनीमा परेको छ । 
अघिल्लो आर्थिक वर्षको नाफाबाट एसियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश नदिने प्रस्ताव गरेपछि कम्पनीको मूल्यमा समेत प्रभाव परेको छ । कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ भने कारोबार रकमका आधारमा समेत दोस्रो स्थानमा छ । यद्यपि, कम्पनीले ०७६÷७७ का लागि लाभांश घोषणा गर्नै बाँकी छ । 

See More On

सुझावित समाचार