लगानीकर्ता अतालिँदा घट्यो सेयर बजार

कारोबार रकम भने सोमबारभन्दा बढी

बुधबार, १९ फागुन, २०७७
डिजिटल संस्करण

सेयर बजारमा सक्रिय लगानीकर्ता अतालिएसँगै बजारको बुलिस प्रवृत्ति कमजोर भइरहेको छ । केही दिनयता नेप्सेमा उच्च उतारचढाव देखिन थालेको छ । बजार बढ्ने अपेक्षाविपरीत घट्न थालेसँगै लगानीकर्ताले बिक्री बढाइरहेका छन् । बजार स्वाभाविक गतिमा घटबढ भइरहने भए पनि केही समययता बैंकले निक्षेपमा दिँदै आएको ब्याजदर बढ्न सक्ने, सरकार परिवर्तन हुन सक्नेलगायतका अड्कलबाजीले पनि प्रभाव परेको हो । 

‘प्रतिनिधिसभा ब्युँतिएसँगै सरकार परिवर्तनको समेत सम्भावना रहेकाले लगानीकर्ता मनोवैज्ञानिक त्रासमा देखिएका कारण नेप्सेमा उतारचढाव आएको मान्न सकिन्छ,’ एक ब्रोकरले भने । बजार हालसम्मको उच्च बिन्दुबाट ७ कारोबार दिनमा १ सय ८५ अंकसम्म घटेको छ । 

मंगलबार नेप्से परिसूचक तीव्र उतारचढावबीच बन्द भएको छ । अन्तरदिनको कारोबारमा नेप्से २ पटकसम्म वृद्धिको प्रयासमा देखिए पनि लगातार घट्न पुग्यो । यस दिन नेप्से परिसूचक ५९ दशमलव ७७ अंकले  घटेर २ हजार ४ सय ५५ बिन्दुमा आएको छ । यस दिन २ सय ८ किसिमका धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ९ वटाको मात्रै मूल्य बढेको छ भने १ सय ९० वटाको मूल्य घटेको छ । कुल १ करोड ३१ लाख कित्ता–इकाइको किनबेच हुँदा ६ अर्ब ११ करोड ९६ लाख मूल्यबराबरमा सेयर कारोबार भएको छ । कारोबार रकममा केही दिनयता गिरावट आए पनि सोमबारको तुलनामा वृद्धि भएको हो । 

त्यस्तै, यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स ९ दशमलव ८० अंकले घटेर ४ सय ४३ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ समूहमध्ये २ वटा समूह मात्रै बढेका छन्  । साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्समा सकारात्मक सर्किट लागेको छ भने हिमालयन पावर कम्पनीको मूल्य पनि ८ प्रतिशतले बढेको छ । साल्ट ट्रेडिङले अघिल्लो आर्थिक वर्षको नाफापछि २५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश बाँडेको थियो । साल्ट ट्रेडिङ उच्च मूल्यमा कारोबार हुनेमध्येमा कम्पनीको सेयर पर्दै आएको छ ।  

यस दिन सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । लगानीकर्ताले एकै दिन ७ दशमलव ३१ प्रतिशतले गुमाएका हुन् । यस दिन कारोबार रकमका आधारमा एसियन लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । कम्पनीको २८ करोड २६ लाख मूल्यबराबरको सेयर कारोबार भएको हो । 

See More On

सुझावित समाचार