बैठकको तयारीमा जुट्यो संसद् सचिवालय

सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठक सञ्चालन तयारीबारे लिए ब्रिफिङ

बिहिबार, १२ फागुन, २०७७
डिजिटल संस्करण

 प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन आदेश दिएपछि संसद् सचिवालय बैठक सञ्चालनको तयारीमा जुटेको छ । मंगलबार अदालतको फैसला आएपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठक सञ्चालनको तयारीलाई लिएर सचिवालयसँग ब्रिफिङ लिएका छन् । 

बुधबार महासचिव भरत गौतमले कर्मचारीहरूसँग सदन सञ्चालनको आवश्यक तयारीबारे छलफल गरेका छन् । बिआइसिसी भवन र सचिवालयका कर्मचारीले अधिवेशन सञ्चालनका लागि काम बाँडफाँड पनि गरिसकेका छन् । संसद्् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बैठक सञ्चालनका लागि काम सुरु भइसकेको जानकारी दिए ।

‘अदालतको १३ दिनभित्र बैठक बस्नेबारे निर्देशनात्मक आदेश आइसकेपछि संघीय संसद् सचिवालय र बिआइसिसीका पदाधिकारी–कर्मचारीबीच अनौपचारिक बैठक बस्यौँ । दुवैतर्फबाट गर्नुपर्ने काम–कारबाहीको प्राथमिकताबारेमा र गर्न बाँकी कामबारे पनि छलफल गरेर जिम्मेवारी बाँडफाँड गरेका छौँ । काम अघि बढिसक्यो,’ प्रवक्ता पाण्डेले भने । 

बुधबार बानेश्वरस्थित संघीय संसद् भवनमा दिनभरि सरसफाइको काम चलेको थियो । बिआइसिसीका कर्मचारीहरूले कुर्सी, टेबल, पर्दाको सरसफाइ गरेका थिए । माइक परीक्षणको काम पनि भइरहेको छ । कतिपय टुटेफुटेका सामग्री मर्मतको काम पनि सुरु भएको छ ।

सचिवालयले पनि प्रत्यक्ष प्रसारण गर्ने उपकरणलगायतका सामग्री तयारी अवस्थामा राख्न संसद् भवन बानेश्वर लगिसकेको छ । ‘अहिले साथीहरू कार्यस्थलतिर खटिसक्नुभएको छ,’ पाण्डेले भने, ‘हाम्रा पदाधिकारी–कर्मचारीहरू सबैलाई आ–आफ्नो ठाउँमा खटाएर त्यहाँ भएका उपकरणहरूको परीक्षण गर्ने, सरसफाइ गर्नेलगायतको काम थालेका छौँ । पानी, स्यानिटाइजरलगायतलाई पर्याप्त व्यवस्था गर्ने काममा हामी आजैदेखि लागिसकेका छौँ ।’

कोभिड– १९ बाट जोगिने गरी बैठक सञ्चालन हुने संसद् सचिवालयको भनाइ छ । हरेक सांसदलाई दुई मिटरको दूरीमा बसाएर सदन सञ्चालन गर्ने सचिवालयले तयारी छ । एक सांसद र अर्काे सांसदको बीचमा एउटा कुर्सी खाली रहनेछ । प्रवक्ता पाण्डे भन्छन्, ‘छैटौँ अधिवेशनमा हामीले जसरी सदन सञ्चालन गरेका थियौँ, अहिले पनि त्यही ढंगले सुरक्षाका मापदण्ड अपनाउँछौँ । माननीय सदस्यहरूलाई ठूलो हलमा राखेरै बैठक सञ्चालन गर्छौँ ।’

संसद्को छैटौँ अधिवेशन सञ्चालन हुँदा संघीय संसद्् सचिवालयले कोभिडबाट सुरक्षित रहन विभिन्न मापदण्ड अपनाएको थियो । त्यसका लागि संसद् भवन बानेश्वरमा तापक्रम नाप्नका लागि सेन्सरजडित मेसिनहरू उपयोगमा ल्याइएको थियो । पर्याप्त स्यानिटाइजर, मास्कको व्यवस्था गरिएको थियो । अहिले पनि संघीय संसद् भवन र सिंहदरबारस्थित संसद् सचिवालयमा त्यस्ता सबै सुविधा रहेको पाण्डेको भनाइ छ । त्यस्तै, अदालतले संसद् पुनस्र्थापना गरेसँगै संसदीय समितिलाई बैठक बस्न बाटो खुलेको छ ।

सुझावित समाचार