पहिलोपटक २६ सयमा नेप्से

१ सय २६ वटाको मूल्य घटे पनि लगानीकर्ताको सम्पत्ति २१ अर्ब थपियो

बुधबार, ५ फागुन, २०७७
डिजिटल संस्करण

नेप्से परिसूचकले पहिलोपटक २ हजार ६ सय बिन्दु भेट्न सफल भएको छ । लगातार नयाँ उचाइ बनाइरहेको नेप्से मंगलबार उच्च उतारचढावमा देखिए पनि कारोबारको अन्तिम समयमा भने बजार अघिल्लो दिनको तुलनामा १५ अंकले बढेको हो । कारोबारका क्रममा बढेर २ हजार ६ सय ३१ सम्म र घट्दा २ हजार ५ सय ८४ सम्म ओर्लिएको नेप्सेले बजार बन्द हुँदा २ हजार ६ सय १ बिन्दुमा कायम राख्न सफल भएको छ । 

लगानीकर्ताले उच्च बिन्दुमा बजार पुगेसँगै प्रतिफल सुरक्षित गर्न लागेपछि बजारको वृद्धिदर सुस्तिएको हो । यस दिन कारोबार बन्द हुँदा बैंकिङ, विकास बैंक, ‘अन्य’ र सामूहिक लगानी कोष समूहगत परिसूचकमा मात्रै वृद्धि भएको छ । वाणिज्य बैंकहरूमा लगानीकर्ता आकर्षित हुन थालेसँगै यो समूहगत परिसूचकमा पछिल्लो समय सुधार देखिँदै गएको छ ।

१० अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा बैंकिङ समूहमा मात्रै ३ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यस दिन सिद्धार्थ, नेपाल, ग्लोबल आइएमई र एनएमबि बैंक मूल्य परिवर्तनका आधारमा वृद्धि हुने प्रमुख १० भित्रको सूचीमा परेका वाणिज्य बैंक हुन् । 

चन्द्रागिरि हिल्स, नेपाल पूर्वाधार विकास बैंक र मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरैले बढेर सर्किट ब्रेक लागेको छ । चन्द्रागिरि हिल्स, नेपाल पूर्वाधार विकास बैंक भने केही दिनअघिदेखि कारोबारमा आएका नयाँ कम्पनी हुन् । 

यस दिन कारोबारमा आएका २ सय ८ धितोपत्र तथा ऋणपत्रमा ६५ वटाको मूल्य बढेको, १ सय २६ वटाको मूल्य घटेको छ । मूल्य घट्नेमा १ सय २३ वटाको मूल्य २ प्रतिशतभन्दा कमले घटेको हो । बजारमा अधिकांशको मूल्य घटे पनि लगानीकर्ताको कुल धितोपत्रको सम्पत्ति मूल्य भने २१ अर्ब रुपैयाँले बढेर ३५ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । 

मंगलबार हिमालयन जनरल इन्स्योरेन्सले गत आवको नाफापछि ६ दशमलव ७५ प्रतिशत लाभांश दिने प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले ३ प्रतिशत बोनस र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेपछि मूल्य २४ रुपैयाँले घटेर ७ सय १४ रुपैयाँमा सीमित भएको छ । 
 

See More On

सुझावित समाचार