विद्यालयका कम्प्युटर : छुनलाई होइन, हेर्न चैँ पाइन्छ !

बिजुली अभावको पीडा

मंगलबार, ४ फागुन, २०७७
डिजिटल संस्करण
विद्यालयका कम्प्युटर : छुनलाई होइन, हेर्न चैँ पाइन्छ !

धार्चे गाउँपालिका–७ लापुस्थित कालरात्रि मावि र प्रभातकिरण माविमा प्रयोगविहीन अवस्थामा राखिएका कम्प्युटर । तस्बिर : नयाँ पत्रिका

धार्चे गाउँपालिका–७ लापुस्थित कालरात्रि माविमा कक्षा ८ मा पढ्दै गरेकी करिना सुनारको लक्ष्य कम्प्युटर इन्जिनियर बन्ने छ । लक्ष्य भेट्टाउन उनले कक्षा ६ देखि नै कम्प्युटर विषय रोजेकी छन् । तर, हिजोआज उनलाई आफ्नो लक्ष्य पूरा हुँदैन कि भन्ने लाग्न थालेको छ । किनभने, सैद्धान्तिक विषय पढ्दै गरेकी उनले कम्प्युटरको प्रयोगात्मक कक्षा लामो समयदेखि लिन पाएकी छैनन् ।

बिजुलीको अभावमा उनी पढ्ने विद्यालयले कम्प्युटरको प्रयोगात्मक कक्षा सञ्चालन गर्न सकिरहेको छैन । यस वर्ष मात्र होइन, लामो समयदेखि विद्यालयमा कम्प्युटरको प्रयोगात्मक कक्षा हुन सकेको छैन । ‘दुई वर्षअघि कक्षा ६ मा उक्लिएपछि कम्प्युटर विषय पढ्न थालेकी हुँ,’ नयाँ पत्रिकासँग करिनाले भनिन्, ‘अहिलेसम्म मुस्किलले ११–१२ पटक कम्प्युटर चलाउन पाएकी छु ।’ 

कालरात्रि माविमा पढ्ने अन्य विद्यार्थी पनि मुस्किलले वर्षमा चार–पाँचपटक मात्र कम्प्युटर चलाउन पाएको बताउँछन् । ‘सैद्धातिक शिक्षा लिएर मात्र परीक्षा दिँदा समस्या हुने रहेछ,’ करिनाले भनिन्, ‘रहर हुँदाहुँदै पनि कम्प्युटर विषयमा राम्रो गर्न सकिएको छैन ।’

कालरात्रि माविमा मात्र होइन, धार्चे गाउँपालिका–७ लापुमा रहेको अर्को प्रभातकिरण माविका विद्यार्थीको समस्या पनि उस्तै छ । बिजुलीको अभावमा यी दुवै विद्यालयमा रहेका कम्प्युटर ल्याब प्रयोगविहीन भएका छन् । सैद्धान्तिक ज्ञानसँगै अनिवार्य प्रयोगात्मक ज्ञान लिनुपर्ने विषय भए पनि विद्यार्थीले कम्प्युटरको प्रयोगात्मक कक्षा लिन पाएका छैनन् । विगत केही वर्षदेखि कम्प्युटर विषय पठाउँदै आएका यी विद्यालय अहिले चरम बिजुली संकटको मार खेप्दै आएका छन् । 

विद्यालय समयमा आउँदैन बिजुली
दिउँसो–दिउँसो विद्युत् नहुँदा कम्प्युटरको प्रयोगात्मक कक्षा सञ्चालन गर्न नसकिएको कालरात्रि माविका सह–प्रधानाध्यापक सूर्य विश्वकर्माले बताए । ‘विगत ६ वर्षदेखि हामीले कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय पढाउँदै आएका छौँ,’ सहायक प्रअ विश्वकर्माले भने, ‘तर, यस वर्ष दिउँसो–दिउँसो विद्यालयमा विद्युत् नहुँदा कम्प्युटरको प्रयोगात्मक ज्ञान दिन सकेका छैनौँ ।’

कम्प्युटरसम्बन्धी ज्ञान भएको शिक्षकसमेत विद्यालयमा नभएको उनले बताए । ‘कम्प्युटर शिक्षकका लागि दरबन्दी छैन, आर्थिक व्ययभार धान्न नसकिने हुँदा कम्प्युटर पढाउन छुट्टै शिक्षक राख्न सकिएको छैन,’ उनले भने । विषयगत शिक्षकको अभावमा अन्य विषय पढाउने शिक्षकले नै अहिले कम्प्युटर कक्षा लिइरहेको उनले जानकारी दिए । विद्यालयमा हाल दुईवटा ल्यापटप र प्रदेश सरकारले दिएका केही थान कम्प्युटर छन् । तर, सबै थन्किएका छन् । 

भोल्टेज नपुगेर कम्प्युटर खुल्दैन
विद्युत् अभावकै कारण प्रभातकिरण माविका विद्यार्थीले पनि कम्प्युटर प्रयोग गर्न पाएका छैनन् । ‘बिहान १० देखि ४ बजेसम्म विद्यालयको कक्षा सञ्चालन हुन्छ । तर, त्यही समयमा बिजुलीको भोल्टेज पुग्दैन,’ प्रभातकिरणका शिक्षक वेसबहादुर गुरुङले भने, ‘भोल्टेज नपुगेर कम्प्युटर नै खुल्दैन, अनि कसरी पढाउनु ?’

आर्थिक अभावका कारण सोलार मर्मत गर्न नसकिएको उनले जानकारी दिए । ‘कहिलेकाहीँ बिहान र बेलुकी विद्यार्थीलाई बोलाएर कम्प्युटर सिकाउने गरेका छौँ,’ उनले थपे, ‘तर, त्यसरी सधैँ सम्भव हुने कुरा भएन ।’ विद्यालयमा हाल १२ वटा कम्प्युटर रहेको उनले जानकारी दिए । 

गाउँपालिकासँग बजेट छैन
अन्य गाउँपालिकाजस्तै धार्चे गाउँपालिकाले पनि आफ्नो गाउँपालिकालाई प्रविधिमैत्री बनाउने, शिक्षामा प्रविधिको प्रयोग बढाउने लक्ष्य लिएको छ । तर, व्यवहारमा प्रविधिको प्रयोग कार्यान्वयन हुन सकेको छैन । प्रविधिमैत्री शिक्षामा ध्यान दिन नसकिएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख टीकाराम आचार्यले बताए । ‘हामीले पनि शिक्षामा प्रविधिको प्रयोग बढाउने लक्ष्य लिएका छौँ,’ शिक्षा शाखा प्रमुख आचार्यले भने, ‘तर, लक्ष्य पूरा गर्न सकिरहेका छैनौँ ।’ उनले बजेट अभाव भएकाले पनि लक्ष्य पूरा गर्न नसकिएको बताए । आगामी आर्थिक वर्षमा प्रविधिमैत्री शिक्षा बनाउन बजेट बढाउने लक्ष्य गाउँपालिकाले लिएको उनले बताए ।

सुझावित समाचार