उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यावसायिक सञ्चार संस्थाविरुद्ध उत्रन आफ्नो समूहका पत्रकारहरूलाई निर्देशन दिएका छन् । नेकपाको ओलीनिकट पत्रकारहरूको गण्डकी प्रदेश भेलालाई. आइतबार पोखरामा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सुरुमै प्रश्न गरे, ‘कर्पोरेट मिडियाका अपराधपूर्ण कुराहरू हेर्नुभएको छ कि छैन ?’
त्यसपछि उनले आफ्नो समूहका पत्रकारमाझ भने, ‘गलत कुराहरू हाकाहाकी तपाईंहरूले बुझिहाल्नुहुन्छ नि ! ती कर्पोरेट मिडियाका दलालहरू, ती दलालहरूको चाहिँ तपाईंहरूले समाचार दैनिक सम्प्रेषण गरेको हेर्नुस् त ! गलत कुरा भरपूर लगाएर उल्टा कुरा जनतालाई विषाक्त बनाउने हिसाबले सम्प्रेषण गरेकागर्यै छन् ।’
यति बताइसकेपछि उपप्रधानमन्त्री पोखरेलले सञ्चार संस्थाविरुद्ध उत्रन निर्देशन नै दिए । ‘ती कर्पोरेट मिडियाका ती अपराधपूर्ण कुराको विरोधमा उत्रनैपर्छ, यो प्रेस संगठन नेपालले संगठित गराउँदै त्यसको प्रतिवाद गर्नैपर्छ । जनतालाई गलत सूचना दिएर गलत ढंगले जनतालाई भ्रममा पारेर सयौँ कुरालाई अन्धो बनाउने जुन अपराधपूर्ण क्रियाकलाप भइरहेको छ, यसको विरुद्ध खबरदारी गर्नु जरुरी छ ।’
उपप्रधानमन्त्री पोखरेलले आफ्नो समूहका पत्रकारको जिम्मेवारी पनि तोके । ‘प्रेस संगठन नेपाललाई यसो घारघुर गरी, बटुलबाटुल गरी बनाइएको संगठनको रूपमा नबुझ्नुहोला । तपाईंहरू ब्रिज हो, पुल हो, साँघु हो । पार्टीले गरेका र देशमा भएका सकारात्मक कुरा जनताको बीचमा पुर्याउने ब्रिज हो तपाईंहरू । तपाईंहरू गाडेको खाँबो मात्र होइन, साँघु हो । जनताको बीचमा पुर्याउने र जनताको कुरा माथि ल्याउने । यो अभिभारा तपाईंहरूमा छ,’ पोखरेलले भने ।
पत्रकारमा पेसागत दक्षता र विचारप्रतिको प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो । ‘पत्रकार भनेको विचार बोकेको एउटा कार्यकर्ता र पेसागत दक्षता भएको कार्यकर्ता हुनुपर्छ । यसमा ओल्टेपोल्टे हुन पाइँदैन । टु इन वान हुन नसक्ने हाम्रो संगठनका पत्रकारले विकास गरेको मानिनेछैन,’ उनले भने ।