फेवातालको पानीको सतह एक मिटर घटाएसँगै तालमा रहेको माटो, ढुंगा, गिटी, बालुवालगायत फोहोरमैला निकालिने भएको छ । गण्डकी प्रदेश सरकारको अगुवाइ र पोखरा महानगरपालिकाको समन्वयमा ताल सफा गर्न लागिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीले १० दिनअघि पानीको सतह एक मिटर घटाएर फेवा बाँध मर्मतको काम सुरु गरेको छ ।
मर्मतका लागि एक महिनाको समय लाग्ने बताइएको छ । यहीवेला तालको गहिराइ बढाउन र सुन्दरताका लागि सरसफाइको काम गरिन लागेको हो । पानीको सतह घटेपछि तालको किनार दुई मिटरदेखि कतै ५० मिटर परसम्म पुगेको छ । ताल किनारका अधिकांश भाग समुद्रका बिचजस्ता देखिएका छन् । ताल किनारमा लोदो माटो, फोहोरको थुप्रो देखिएका छन् ।
गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले ताल सफाइका लागि एक समिति गठन गरेको छ । बैठकले मन्त्रालयअन्तर्गतको वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठको संयोजकत्वमा ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा. अनुप गुरुङ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख इन्जिनियर किरण आचार्य, डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल, बृहत् जलाधार व्यवस्थापन केन्द्र पोखराका वरिष्ठ जलाधार संरक्षण अधिकृत रामसिंह थापा, भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका वरिष्ठ जलाधार संरक्षण अधिकृत कृष्णप्रसाद घिमिरे र पोखरा महानगरपालिका योजना आयोगका सदस्य सरोज कोइराला रहेको सात सदस्य समिति गठन गरेको हो ।
चार भागमा विभाजन गरी काम गरिने
माटोढुंगा, गिटी, बालुवालगायत फोहोरमैला निकाल्न ताललाई चार भागमा विभाजन गरी काम गर्ने निर्णय भएको मन्त्री लम्सालले जानकारी दिए । उनका अनुसार बाँधदेखि फिर्केखोलासम्म पर्ने ताल क्षेत्रमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीले, फिर्केखोलादेखि कोमागाने पार्कसम्म पोखरा महानगरपालिका र ताल संरक्षण तथा विकास प्राधिकरणले, वाराहीघाटदेखि गौराको चौतारासम्मको क्षेत्रमा ताल संरक्षण तथा विकास प्राधिकरण पोखरा र बृहत् जलाधार व्यवस्थापन केन्द्र पोखरा र भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले काम गर्नेछन् ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले अध्ययनका लागि एक साता लाग्ने र त्यसपछि के कति माटो निकाल्ने, बजेट कति लाग्छ भन्ने थाहा हुने जानकारी दिए । अध्ययनले हालको अवस्थामा ताल पुरिँदै गए एक सय ९३ वर्षमा फेवातालको अस्तित्व नै नरहने देखाएको उनले बताए ।
बर्सेनि एक लाख ४२ हजार मेट्रिकटन माटो र फोहोरमैला थुप्रिन्छ
जापानिज सहयोग संस्था (जाइका)ले गरेको अध्ययनअनुसार फेवातालमा बर्सेनि एक लाख ४२ हजार मेट्रिकटन माटो र फोहोरमैला थुप्रिने गरेको छ । जसबाट प्रत्येक दुई वर्षमा शून्य दशमलव १८ वर्गकिलोमिटर ताल पुरिँदै आएको छ । ०६५ मा सम्पन्न सीमांकनअनुसार फेवातालको जलाधार क्षेत्रफल नौ हजार नौ सय ५६ रोपनी अर्थात् पाँच सय ५ हेक्टर छ ।
तालमा थिग्रिँदै गएको माटो र फोहोरमैला ननिकाले र तत्कालै नियन्त्रण गर्न नसके एक सय ५० वर्षमा तालको अस्तित्व नरहने सो अध्ययनले जनाएको छ । पानीको सतह घट्ने र ताल पुरिने क्रम बढेपछि खाली जग्गामा स्थानीय बासिन्दाले खेती गर्ने गरेका छन् । फेवातालको जम्मा क्षेत्रफल १२ हजार सात सय नौ रोपनी रहेकोमा दुई हजार एक सय एक रोपनी जग्गामा अतिक्रमणपछि खेती गरिएको छ । पुरिएको ६ सय ५३ रोपनी भूभागमा खेती गरिएको छैन ।
३८ वर्षमा फेवाताल ५५ प्रतिशत साँघुरो भइसकेको छ । मानवीय अतिक्रमणका अलावा तालमा बर्सेनि खोलाको मुहानबाट बगेर आउने माटोका कारण आकार र प्रकार घट्ने क्रम तीव्र छ । पोखरा उपत्यका नगर विकास समितिका अनुसार ०१७ देखि ०५५ सालको बीचको समयमा तालको भाग ५५ प्रतिशत साँघुरो भएको हो । समितिका अनुसार ०१७ सालमा तालको जलीय क्षेत्रफल नौ सय ८४ हेक्टर रहेकोमा ०५५ सालसम्म आइपुग्दा घटेर चार सय ४३ हेक्टर मात्र भएको छ ।