लमजुङको दोर्दीमा सेनाको नि:शुल्क स्वास्थ्य शिविर

आइतबार, २ फागुन, २०७७
डिजिटल संस्करण

लमजुङको दोर्दी गाउँपालिका- ८ वन्सारमा नेपाली सेनाको आयोजना र  जिल्ला अस्पताल लमजुङको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नि:शुल्क स्वास्थ्य शिविरमा चार सय ८६ जना बिरामीले सेवा लिएका छन् ।

नियमित स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण भेगका बासिन्दालाई मध्यनजर गर्दै जिल्लास्थित उदीपुरमा रहेको नेपाली सेनाको श्रीजंग गणले जिल्ला अस्पताल जमजुङको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको नेपाली सेना श्रीजंग गणका गणपति जयराम थापाले बताए । 

नागरिक र नेपाली सेनाबीचको सम्बन्धलाई प्रगाढ बनाउन र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गलाई स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको थापाको भनाइ छ ।

गाउँमै सेवा पाएपछि दोर्दी- ३ की ७० वर्षीया दिलमाया तामाङ निकै खुसी भइन् । उनले भनिन्,  ‘सधैँ बन्दुक बोकेर सुरक्षा दिन खट्ने सेना औषधि बोकेर गाउँमा आउँदा खुसी लागेको छ ।’ 

जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठका अनुसार शिविरमा जनरल स्वास्थ्य परीक्षण एक सय ६२ जनाले गरेका छन् भने आँखाको परीक्षण एक सय १४ जना, स्त्रीरोगसम्बन्धी जाँच २० जना, दाँतसम्बन्धी जाँच तथा उपचार ८१ जना, ल्याबसम्बन्धी जाँच ६२ जना र  फिजियोसम्बन्धी जाँच ४७ जनाले गरेका थिए । शिविरमा नि:शुल्क औषधिसमेत वितरण गरिएको थियो । 

See More On

सुझावित समाचार