उपलब्धि रक्षाका निम्ति एकजुट हुनुपर्छ : प्रचण्ड (भिडियोसहित)

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलब्धि रक्षाका निम्ति एकजुट हुनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईद्वारा लिखित पुस्तक ‘गुमनाम आमाहरूको कथा’को लोकार्पण कार्यक्रममा प्रचण्डले संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिमाथि हमला भएकाले प्रतिवादमा उत्रिनुपरेको बताए । प्रतिगामी कदमविरुद्ध मोर्चा खोलिसकिएको उनको भनाइ छ । उनले नेपालको संविधान पूर्ण छ भनेर आपूmले दाबी नगरेको भन्दै नेपालको संविधानले समावेशी लोकतन्त्रको सवालमा राम्रो व्यवस्था गरेको बताए । 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय आत्मविश्वासको संकट भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणताकाको संसद् विघटन गर्न नसकिने प्रावधानको सम्झौता तथा सहमतिमाथि विश्वासघात गरेको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले जनयुद्धको जगमा आजको परिवर्तन आएकाले जनयुद्धलाई नकार्न नहुने बताए । जनयुद्ध केही पनि थिएन भन्ने इतिहास बनाउन लागिएको भन्दै उनले जनयुद्धको योगदानको सही मूल्यांकन गर्नुपर्नेमा जोड दिए । 

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले विचार, सिद्धान्त, दर्शन र दृष्टिकोणको हिसाबबाट हेर्दा जनयुद्ध जारी रहेको आफ्नो ठम्याइरहेको बताए । बन्दुक पड्काउनुपर्ने स्थितिलाई शान्ति–सम्झौताले पूर्णविराम लगाएको भए पनि वैचारिक, सैद्धान्तिक हिसाबको दुई खालको घर्षण हुनुले जनयुद्ध जारी राख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

सुझावित समाचार