भागरथीको बलात्कार र हत्या भएको नवौँ दिन : न दोषी भेटियो न अस्पतालबाट शव उठ्यो

घरभरी मान्छे छन्, तर एक्लै छिन् भागरथीका आमा

शनिबार, ३० माघ, २०७७
डिजिटल संस्करण

‘हामी दोषीनजिक पुगेका छौं’ भागरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ ।  ‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी सुवेदी ६ दिनदेखि आफैँले अनुसन्धानको कमान्ड सम्हालिरहेका छन् । उनले अबको केही समयभित्रै अपराधी सार्वजनिक गर्ने तयारीमा प्रहरी लागेको बताए । तर, ठ्याक्कै समय तोक्न सकिने अवस्था भने नरहेको सुवेदीको भनाइ छ ।     

भागरथीको बलात्कारपछि हत्या भएपछि घटनास्थलमा सिआइबी, अनुसन्धान विभाग र नेपाल प्रहरीको ठूलो टोली खटिएको छ । खोचलेक प्रहरी चौकीलाई केन्द्र बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । यता जिल्ला सदरमुकाममा विद्यार्थीले शुक्रबार प्रशासनअगाडि थाली बजाएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले प्रशासनअगाडिको गढी बजारमा धर्ना बस्दै शुक्रबार थाली बजाएका हुन् । 

यता भागरथीको शव नौ दिनदेखि जिल्ला अस्पतालको शवगृहमा छ । उनका हत्यारालाई सार्वजनिक नगर्दासम्म आफन्तले शव नउठाउने अड्डी कसेका छन् । एकातिर जिल्ला हुँदै देशका विभिन्न ठाउँमा आन्दोलन चर्किँदै गएको छ भने अर्कातिर उनको शव नउठाउँदा प्रहरी दबाबमा परेको छ । 

प्रहरीले भने घटना भएदेखि कुनै कसर बाँकी नराखी अनुसन्धानमा खटिएकाले थप दबाब आवश्यक नभएको बताएको छ । ‘हामीले सुदूरपश्चिमभरिको पूरै जनशक्ति बैतडीमा केन्द्रित गरेका छौँ । प्रहरीले गर्ने काम रात–दिन नभनी गरिरहेको छ,’ डिआइजी सुवेदी भन्छन्, ‘प्रहरीले छिट्टै नै भागरथीका हत्यारा सार्वजनिक गर्नेछ । यो निर्मला प्रकरणजस्तो हुनेछैन ।’

घरभरी मान्छे छन्, तर एक्लै छिन् भागरथीका आमा 

बैतडी, दोगडाकेदार– ७ की १७ वर्षीया किशोरी भागरथीको हत्या भएको नौ दिन पुगेको छ । उनको घर पुग्दा आँगनमा शोकाकुल परिवार भेट्न आउनेहरूको भिड देखिन्थ्यो । 

भागरथीकी आमा द्रोपती र आफन्तहरूका आँखा भने आँसुले टिल्पिलाइरहेका थिए । आमा द्रोपती घरि उनैले हुर्काएका गाईवस्तुतिर हेर्थिन् । घरि दाउराका खाततर्फ हेर्थिन् । एकछिन टोलाउँथिन् । अनि आँगनमा आएकाहरूका अनुहार एक–एक गरी नियालेजस्तो गर्थिन् । त्यसपछि सेतो पछ्यौरीले आँखा पुछ्दै भक्कानिन्थिन् । द्रोपतीको दैनिकी यसरी नै चलिरहेको छ । 

परिवारलाई भेट्न शुक्रबार कञ्चनपुरबाट केही महिला अधिकारकर्मी आएका थिए । त्यस्तै केही मिडियाकर्मी र बैतडीका प्रदेश सांसद लीलाधर भट्ट पनि भागरथीको आँगनमा देखिन्थे । उनीहरू सबैले भागरथीको शोकाकुल परिवारलाई सान्त्वना दिँदै थिए । आमा द्रोपतीको मन भने शून्य थियो । चाउरिएको अनुहार फुङ्ग उडेको थियो । महिना दिनअघि श्रीमान् बितेपछि सेतो पहिरनमा छिन् उनी । सेतो पछ्यौराले आँसु पुछ्दापुछ्दा उनका आँखा सुन्निएका थिए । वरपर गाउँभरिका महिला जम्मा भएका थिए । उनीहरूका आँखा पनि ओभाना थिएनन् । प्रायः सबैजना सुँकसुँकाइरहेका थिए । 

‘भागरथी अझै पनि फर्केर आउँछिन्जस्तो लागिरहन्छ’ काँपेको रुन्चे आवाज निकाल्दै आमा द्रोपती बोल्छिन्, ‘खाना पकाउनै मन लाग्दैन । पकाए पनि उनको बाटो हेरेर कुर्न मन लाग्छ । एक्लै खान नसकेर भागरथीलाई बोलाउँछु । तर, उनी आउँदिनन् ।’ उनले यती भन्न नपाउँदै आँसु भुइँमा खस्यो । आँगनमा बसेर भागरथीलाई सम्झिँदै दिन बित्छ । बिस्तारामा पनि उनैलाई सम्झिँदै रात घर्किन्छ ।

भागरथीले दुई चुल्ठी बाटेर खिचेको फोटो सामाजिक सञ्जाल फेसकुमा भेटिन्छ । भागरथीको अन्तिम दिन, अन्तिमपटक बाटिदिएको दुई चुल्ठीको झझल्कोले सबैभन्दा बढी सताउँछ आमालाई । ‘अरू दिन आफैँ कपाल बाटेर हिँड्थी । त्यो दिन मलाई कपाल बाट्न लगाई,’ आमा संझिन्छिन् । उनको न्यायका लागि अहिले धेरै ठाउँमा त्यही दुई चुल्ठीवाला फोटोको प्ले कार्ड बनाएर गाउँदेखि सहरसम्म आन्दोलन चर्किरहेको छ । 

सधैँ ३ बजेको आसपासमा भागरथी घर फर्किएर खाजा खान्थिन् । र, लगत्तै आमालाई सघाउथीन् । गाईवस्तुको स्याहार गर्थिन् । बाख्राहरूलाई खानेकुरा खुवाउँथिन् । दाउरा चिर्नेदेखि चुलोचौकोसम्म हरेक काममा भागरथी खट्थिन् । तर, त्यो दिन ३ बज्यो, छोरी आइनन् । बाटो हेरेर बसिरहेकी आमाका आँखा थाक्न थाले । तर, छोरी आँगनमा देखिइनन् । बेलुका गाउँका सबैका छोराछोरी विद्यालयबाट फर्किए । सधैँ ३ बजे घर पुगिसक्ने भागरथी भने फर्किनन् । 

आमाको मनमा चिसो पस्यो । सधैँ ठीक समयमा फर्किने उनी त्यो दिन मोबाइल अफ गरेर घर नफिरेपछि द्रोपतीले छिमेकी गुहारिन् । सबै खोजीकार्यमा लागे । त्यो दिन उनको कतै पत्तो लागेन । छिमेकीहरूले जवान छोरी कसैसँग भागेर गएको अड्कल काटे । भोकै बिस्तारामा पल्टिएकी आमा रातभरि निदाउन सकिनन् । दोस्रो दिनभर दौडभुप भयो । साँझ ५ बजेको समयमा छोरीको शव लवलेक जंगलको वनमाराको झाडीमा छोरीको शव फेला परेको खबर आयो । 

बुबाको किरिया गरेर मजदुरीका लागि भारत गएका छोरा केही दिनअघि घर फिरेका छन् । उनी न कसैसँग बोल्छन् । न आमालाई सम्झाउन सक्छन् । बहिनीको वियोग कसरी भयो ? उनी केही मेसो पाउदैनन् । दिनभरि एकोहोरो टोलाइरहन्छन् । रातभरि अनिँदो बस्छन् । 

See More On

सुझावित समाचार