चार कम्युनिस्ट पार्टीको संयुक्त रणनीतिक मोर्चा घोषणा

‘राजनीतिक समिक्षा सभा, वैकल्पिक संयुक्त सरकार’ को माग

शुक्रबार, ३० माघ, २०७७
डिजिटल संस्करण

पार्टी एकताको उद्देश्यसहित चारवटा कम्युनिस्ट पार्टीहरूको रणनीतिक संयुक्त मोर्चा घोषणा भएको छ । घोषणा भएको संयुक्त मोर्चाले मुलुकको समस्या समाधानका लागि राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार निर्माण गरेर वैज्ञानिक समाजवादमा जानुपर्ने माग राखेको छ ।

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा घोषणा भएको हो ।

घोषणा सभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले मोर्चाले वर्तमान संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यले संयुक्त मोर्चा घोषणा भएको बताए । मोर्चाले क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने र जनजीविकाको समस्या समाधान गर्न निरन्तर संघर्ष गर्ने उनको भनाइ थियो । 

वैद्यले प्रतिनिधिसभा विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउँदै सरकारले समाजवाद र समृद्धिको कुरा गरे पनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको आरोप लगाए । साथै नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन विदेशी शक्तिहरू लागिरहेको वैद्यको दाबी थियो ।

उनले यो समस्या समाधानका लागि २००७ सालदेखि दश वर्ष लामो जनयुद्धको समयसम्म भएका विभिन्न आन्दोलनले गणतन्त्र र राजनीतिक स्वतन्त्रताजस्ता विषयमा मात्रात्मक उपलब्धिहरू हासिल भए पनि गुणात्मक परिवर्तन हुन नसकेको निष्कर्ष मोर्चाको छ । साथै ०६२/६३ को जनआन्दोलन र त्यसपछि भएका विभिन्न समुदायका आन्दोलनका उद्देश्य पनि पूरा नभएकाले त्यसका लागि संयुक्त मोर्चा हुँदै पार्टी एकतासम्म पुग्ने लक्ष्य रहेको मोर्चाको अवधारणा पत्रमा उल्लेख गरिएको छ । 

त्यस्तै वर्तमान संसदीय व्यवस्थाबाट नेपाली समाजका आधारभूत समस्या समाधान गर्न असफल भएर आर्थिक, राजनीतिक र सांस्कृतिक हिसाबले संकटग्रस्त हुन पुगेको भन्दै मोर्चाले विद्यमान व्यवस्थाभित्रबाटै समस्याको समाधान सम्भव नभएको उल्लेख गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले अहिले केही राजनीतिक दलहरूले संसद् पुनर्स्थापना गरेर समस्या समाधान हुने गरेको भने पनि त्यसको कुनै तुक नरहेको बताए ।

‘अहिले केही साथीहरू पुस ५ मा भएको संसद् विघटन प्रतिगामी हो, पुनर्स्थापना  गर्नुपर्छ भनिरहेका छन् । तर, त्यसो हुँदा पनि पुस ४ भन्दा अघि मुलुकमा जे भइरहेको थियो त्यही मात्रै हुने हो,’ आहुतिले भने, ‘त्यसो भएको हुनाले हामीले थप अघि बढेर संघर्ष गर्नुपर्ने अवस्था आएको छ । उनले यो समस्या समाधानका लागि विगतमा भएका गल्ती–कमजोरीको राजनीतिक समीक्षा सभा गर्नुपर्ने र वैकल्पिक संयुक्त सरकार गठन गर्नुपर्ने माग राखे ।

घोषित मोर्चाले पनि आफ्नो अवधारणापत्रमा मुलुकको वर्तमान समस्या समाधानका लागि ‘राजनीतिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार र जनगणतन्त्र–वैज्ञानिक समाजवाद’ स्थापनाको राजनीतिक शृंखला हुँदै अघि बढ्नुपर्ने दाबी गरेको छ ।

पार्टी एकता गर्ने मुख्य लक्ष्यका साथ घोषणा भएको मोर्चाले विभिन्न वामपन्थी, देशभक्त, सच्चा लोकतन्त्रवादी शक्ति, व्यक्तित्वहरूलगायत उत्पीडित वर्ग र समुदायका प्रतिनिधिसँग सहकार्य गर्नेसमेत जनाएको छ । ‘मोर्चा गठनको मुख्य लक्ष्य कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरण र एकता हो । त्यसैले यस रणनीतिक संयुक्त मोर्चामार्फत पार्टीहरूबीच गरिने सहकार्य र सैद्धान्तिक–व्यावहारिक अन्तरक्रियालाई व्यवस्थित गर्दै पार्टी एकतासम्म पुग्ने प्रयत्नलाई घनीभूत पारिनेछ,’ मोर्चाको अवधारणापत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, मोर्चाको संरचना पनि सार्वजनिक गरिएको छ । जसअन्तर्गत केन्द्र, प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहसम्म गठन गर्न सकिने भनिएको छ । केन्द्र र प्रदेश समितिमा हाललाई १५ जना रहनेछन् भने जिल्ला तहमा ११ सदस्यीय समिति बनाइने बताइएको छ । साथै सबै कमिटीलाई समावेशी बनाउनुपर्नेछ ।

मोर्चाको केन्द्रीय समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल गरी १२ जना रहेका छन् । समितिमा थप तीनजना पछि परिपूर्ति गर्ने जनाइएको छ ।

मोर्चाले पहिलो चरणको संघर्षको कार्यक्रमअन्तर्गत फागुन ६ गते बुटवल,  १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने भएको छ । उक्त सभामा मोर्चाले भन्न खोजेका विषय जनतासामु राख्ने र प्रचार गर्ने उद्देश्य रहेको बताइएको छ । यसपछि दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।
 

सुझावित समाचार