नेप्सेको अनलाइन कारोबार प्रणाली (नट्स)मा मंगलबार समस्या आउँदा करिब ३५ मिनेट कारोबार रोकिएको छ । समस्याका कारण नेप्सेले साबिकको कारोबार समयपछि पनि ३५ मिनेट थप गरेको थियो । प्रयोगमा आएको अढाई वर्षमा यसअघि पनि पटक–पटक नट्स प्रणालीमा समस्या देखिँदै आएको छ । मंगलबार के भएको हो भन्नेबारे नेप्सेले उल्लेख गरेको छैन । ‘सफ्टवेयर प्रदायक कम्पनी वाइको लिमिटेडले केही दिनमा अध्ययन गरेर जानकारी दिनेछ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘अहिले केही भन्न सकिँदैन, तर समय भने थपेका छौँ ।’
मंगलबार प्रणाली नचलेपछि ब्रोकरहरूले समेत ३५ मिनेट कारोबार गर्न सकेका थिएनन् । मध्याह्न १२ बजेर २१ मिनेटमा समस्या देखिएको भए पनि १ बजेर दुई मिनेटमा समाधान भएपछि कारोबार सुचारु भएको थियो । नेप्सेको कारोबार प्रणाली मात्र होइन, वेबसाइटमा समेत समस्या देखिएर केही ढिलो गरी लोड हुने भएको थियो ।
१९ करोड ८१ लाख रुपैयाँमा निर्माण गरिएको प्रणाली अन्तर्राष्ट्रियस्तरको नभएको भन्दै सुरुदेखि नै विवाद हुँदै आएको थियो । कारोबारमा समस्या आउनुअघिदेखि घट्न थालेको बजार सुचारु भएपछि पनि घट्ने क्रम रोकिएन । यद्यपि, अन्तिम समयमा बजार बढ्ने प्रयासमा देखियो । समग्रमा नेप्से २९ अंक गुमाएर २ हजार ५ सय ३२ बिन्दुमा आइपुगेको छ ।
कारोबार रकममा पनि यस दिन गिरावट आएको छ । अघिल्लो दिन १० अर्ब रुपैयाँमाथिको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब १४ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । यो रकम उच्च नै हो । कारोबारमा आएका १ सय ९४ धितोपत्र तथा ऋणपत्रमा ३९ वटाको मूल्य बढेको, १ सय ३८ वटाको मूल्य घटेको हो । मूल्य बढेकामध्ये १३ कम्पनीको मूल्य मात्रै ४ सय रुपैयाँभन्दा माथि छ । गुडविल फाइनान्स, श्रीइन्भेस्टमेन्ट, समृद्धि फाइनान्सको सेयर मूल्य १० प्रतिशतसम्म वृद्धि भएको छ ।
ग्रामीण विकास लघुवित्त, प्रभु बैंक, ग्लोबल आइएमई कारोबार रकमका आधारमा अग्रस्थानमा छन् । यी कम्पनीको २९ करोडदेखि ३४ करोड ७१ लाख रुपैयाँसम्ममा कारोबार भएको हो । कारोबारमा आएकामध्ये विकास बैंक र वित्त कम्पनीको परिसूचकमा मात्रै सुधार भएको हो ।