कम्बोडियाका एक सोन र नेपालका कुलमान

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

नेपालमा किन विकास भएन भन्ने प्रश्नको सोझो उत्तर हो– कुलमानहरूले कहिल्यै निर्धक्क भएर काम गर्ने वातावरण नपाउनु

कम्बोडियाको राजधानी फोनम फेबाट काठमाडौं करिब चार हजार किलोमिटरको दूरीमा छ । अमेरिकाले सुरु गरेको युद्धबाट कम्बोडिया २० वर्ष आक्रान्त भयो, एक हिसाबले ध्वस्त नै भयो । नेपाल पनि १० वर्ष सशस्त्र द्वन्द्वमा फसेकै हो । सन् १९८९ मा कम्बोडियाको युद्ध अन्त्य हुँदै गर्दा नेपालमा सशस्त्र द्वन्द्वको जग बस्दै थियो । युद्धको अन्त्यपछि कम्बोडियाले लोभलाग्दो फड्को मा¥यो । कपडाको निर्यात र पर्यटनबाट सञ्चालित कम्बोडियाको अर्थ व्यवस्थाले गएको २० वर्षमा औसत वृद्धिदर ८.५ प्रतिशत कायम राखेको छ । कम्बोडिया विश्वका दु्रत गतिमा वृद्धिरत अर्थतन्त्रमध्ये एक हो । डेढ करोड हाराहारी जनसंख्या रहेको यो देशमा कोरोनाबाट अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन, अर्थ व्यवस्था पनि सम्हालिएको छ ।

नेपालमा जनयुद्ध अन्त्यसँगसँगै शान्ति सम्झौता भएको पनि लगभग १५ वर्ष भइसक्यो । तर पनि हाम्रो अर्थतन्त्रले गति लिनै सकेको छैन । जारी कोरोनाको महामारीबाट मर्नेहरूको संख्याले दुई हजारको आँकडा पार गरेको छ, अर्थ व्यवस्था थिलथिलो छ । देश बनाउने बौद्धिक जनसंख्या युरोप–अमेरिका र पसिना चुहाउन सक्ने करिब ६० लाखभन्दा बढी युवा मुलुकबाहिर खाडीलगायतका देशमा श्रम बेच्न बाध्य छन् । कामको खोजीमा बिदेसिनेमा प्रतिशतका हिसाबले यो विश्वकै ठूलो संख्या हो । नेपाली समाज एकदमै नकारात्मक, निराशाजनक र अत्यासलाग्दो समाजमा बदलिनुको मुख्य कारण नै यही हो ।

हाम्रो पुस्ताका बिपी, मदन, हर्क गुरुङ सबै विदेश छन् । जनताको आवाज बोलिदिने लगभग कोही छैन भन्दा हुने अवस्था छ । यो देशको राजनीतिमा बोल्न वा आफ्ना नेतालाई प्रश्न सोध्नसमेत नसक्ने, परिश्रम गर्न पनि नसक्ने कायरहरू हावी छन् । जो आपसमा भिड्दै जनतालाई रनभुल्लमा राख्न अभिशप्त छन् । क्षमतावान् एवं परिश्रमी श्रमजीवीजति सबैलाई विदेश पठाएर, मस्तिष्कविहीन अनुचरहरूको बलमा जनताबारे कुनै चिन्ता र चिन्तन नभएका असुरहरूको शासन निर्बाध यहाँ चलिरहेको छ ।

आखिर किन एउटा उस्तै मुलुक विकासतिर अघि बढ्छ, तर उस्तै अर्काे मुलुक आफ्ना सबै तेजिला जनता विदेश धकेलेर अन्तहीन भुमरीमा फसिबस्छ ? यो प्रश्नको स्पष्ट उत्तर कम्बोडियाको खानेपानीको क्षेत्रमा क्रान्तिका संवाहक ‘एक सोन च्यान’ र नेपालको जलविद्युत् क्षेत्रमा क्रान्ति गरेका कुलमानबीचको तुलनाले दिन्छ । 

कम्बोडियाको पानी प्राधिकरण र नेपालको विद्युत् प्राधिकरण : कम्बोडियाको फोनम फे पानी आपूर्ति प्राधिकरण (पिपिडब्ल्युएसए)को कहानीका सुरुवाती चरणहरू धेरै हदसम्म हाम्रो विद्युत् प्राधिकरण (एनइए)सँग मेल खान्छ । विडम्बनापूर्ण भिन्नता के छ भने कुलमानलाई जम्माजम्मी चार वर्ष मात्रै विद्युत् प्राधिकरण चलाउन दिइयो । तर, कम्बोडियाका एक सोन पानी प्राधिकरण १० वर्ष चलाएर मन्त्रालयको सचिव हुँदै जलमन्त्रीसम्म भए । एक सोनले पानी प्राधिकरणलाई बेलायतको भन्दा पनि धेरै अघि लिएर गए ।

आखिर किन एउटा उस्तै मुलुक विकासतिर अघि बढ्छ, तर उस्तै अर्काे मुलुक आफ्ना सबै तेजिला जनता विदेश धकेलेर अन्तहीन भुमरीमा फसिबस्छ ? यो प्रश्नको स्पष्ट उत्तर कम्बोडियाको खानेपानीको क्षेत्रमा क्रान्तिका संवाहक ‘एक सोन च्यान’ र नेपालको जलविद्युत् क्षेत्रमा क्रान्ति गरेका कुलमानबीचको तुलनाले दिन्छ । 

अहिले सिंगापुरले पनि कम्बोडियाबाट पाठ सिकिरहेको छ । एक सोनले कामै नलाग्ने भ्रष्टाचारले सिध्याएको झुत्रो पानी संस्थानलाई विकसित देशहरूलाई समेत पाठ सिकाउने सफल संस्थानमा बदलिदिए । कम्बोडियामा २४सै घन्टा सातै दिन प्रत्येक घरधुरीमा सीधै पिउनयोग्य धाराको पानी अब सामान्य भएको छ । यही कारण एक सोन पानीको क्षेत्रमा कम्बोडियामा मात्र होइन, विश्वमा नै चिरपरिचित नाम बन्यो । एक महिनाअघि विश्व प्रतिष्ठित स्प्रिन्जर नेचरले सिंगापुर र बेलायतका प्रोफेसरको सहयोगमा उनले सम्भव गराएका परिवर्तनका कामहरू समेटेर छुट्टै किताब नै निकालेको छ । उनले दिलाएका उपलब्धिका केही पाटाहरू यहाँ समेट्ने प्रयास गरेको छु । 

थप केही समय काम गर्न दिइएको भए सम्भवतः कुलमान पनि नेपालको विकासका एक संवाहक मात्र नभएर कमजोर ऊर्जा क्षेत्र रहेका विश्वका सबै विकासशील देशका लागि प्रेरणाका स्रोत हुने थिए । चार वर्षमै उनले अभूतपूर्व उपलब्धि दिलाएर देखाइदिएका पनि हुन् । तर, सुधार गरेबापत पुनः नियुक्ति नदिई एक किसिमले सजाय नै दिएर लखेटियो । राजा महेन्द्र एउटा नेपाली नागरिक संयुक्त राष्ट्रसंघको महासचिव बन्ने प्रबल सम्भावना हुँदा एउटा रैती आफूभन्दा माथि जाने भयो, सम्मानित हुने भयो भनेर भयात्तुर थिए । अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू पनि एउटा सामान्य कर्मचारी कुलमानले विद्युत्को क्षेत्रमा गरेको कामले कतै आफ्नो राजनीति डगमगाउला कि भनेर डराएर पन्छाई नै दिए ।

अहिले कमजोर, अशिक्षित र अक्षमबाट शासित हुनुपर्ने रोग ठूला राष्ट्रिय संस्था नास्ट, रिकास्ट, विश्वविद्यालयदेखि गाउँ र वडासम्मै छिरेको छ । जसकारण यो देश नै अकर्मण्यताको सिकार बन्न पुगेको छ । तपाईंले सामान्य उपलब्धि गर्दा पनि सबै अक्षम राजनीतिज्ञ डराउँछन् । उनीहरूकहाँ केही राम्रो काम लिएर कोही जानु नै हुँदैन । तपाईंको काम हुन तपाईं पार्टीको भएर पनि भएन, गुटको भएर पनि हुँदैन, टिक्ने हो भने आफ्नो ज्ञान नदीमा सेलाएर विवेकहीन अन्धभक्त कार्यकर्ता हुनुपर्छ । र, यसो हुनु नै सर्वाेपरी सक्षमता बनेको छ । राजनीतिका अक्षम असुरहरूका कारण नेपालले ऊर्जा क्षेत्रको कायापलट गरी विद्युत् प्राधिकरणलाई सफल कम्पनी बनाउन सक्ने छनक देखाएका कुलमान गुमायो । सायद, कम्बोडियाका उदाहरणीय एक सोनजस्तै विश्वका ठूला विश्वविद्यालयमा कुलमानको केस पढाइने थियो । 

एक सोन च्यानले के परिवर्तन गरे ? : एक सोनले आफ्नो टाउकोमा बन्दुक तेर्सिंदा पनि बरु मर्न तयार तर परिवर्तन गर्ने दृढ इच्छाशक्ति देखाएर राष्ट्रपति, सेनाका जर्नेल–कर्नेललगायतबाट पानी प्राधिकरणले दिएको सेवाको बिल भुक्तानी गराइछाडे । एकपटक एक उच्चपदस्थ सैन्य अधिकारीले पानीको बिल तिर्न निकै अनुनयपूर्ण ताकेता गर्दा पनि तिर्न अस्वीकार गरिरहे । ती अधिकारीले पानी प्राधिकरणका कर्मचारीलाई झपार्दै, धपाउँदै गरे । एक दिन एक सोन आफैँ खन्तीलगायतका औजार लिएर ती अधिकारीको घरको पानीको लाइन काट्न पुगे । पानीको लाइन काट्दै गर्दा ती जर्नेलले एक सोनको टाउकोमा बन्दुक तेस्र्याए र त्यो ठाउँ छोड्न या त्यही मर्न चुनौती दिए ।

त्यस दिन फर्किए पनि अर्काे दिन उनी सेक्युरिटी लिएर लाइन काट्न पुनः गए र पानीको लाइन काटेरै छाडे । तिन–चार दिनसम्म घरमा पानी नगएपछि ती अधिकारी बाध्य भएर एक सोनलाई भेट्न पुगे । एक सोनले उनलाई बिलको पैसा मात्र तिराएनन्, जनतासँग सार्वजनिक माफी माग्न पनि लगाएका थिए । यसले उनको छवि र विश्वास जनतामा निकै उच्च भयो, यो आँटबापत उनले ठूलो जनसमर्थन पनि प्राप्त गरे । जनताको समर्थन र विश्वासलाई लिएर ७–८ वर्षमै पानी प्राधिकरणको कायापलट गरिदिए । नेपालमा पनि विद्युत् प्राधिकरणको कायापलट हुने स्थिति बन्दै थियो, कुलमानलाई बलात् हुत्याइयो । जसको मूल्य अब यो देश र यहाँका जनताले आउने कैयौँ वर्ष भुक्तान गरिरहनु पर्नेछ । 

भ्रष्ट्राचारीलाई कारबाही, युवालाई अवसर : सरकारी प्रणालीका पुराना शक्तिशाली कर्मचारीहरू परिवर्तनलाई सजिलै स्विकार्न सक्दैनन् । एक सोनले आफ्ना कर्मचारीलाई तीन फरक समूहमा वर्गीकृत गरे– अनुभवी तर परिवर्तन हुन अनिच्छुक, परिवर्तनलाई बेवास्ता गर्ने र सरकारी संरचनाभित्र परिवर्तन चाहने । उनले ती समूहमध्ये परिवर्तन चाहने शिक्षित युवा समूहलाई अगाडि बढाए । यद्यपि, परिवर्तन चाहने युवा कर्मचारीको समूहलाई दुई–तीन वर्षसम्म पुराना कर्मचारीहरूले असहयोग गर्ने काम चली नै रह्यो । जब परिवर्तन देखा पर्न थाले, युवा समूहको प्रेरणाको कुनै सीमा नै थिएन ।

कर्मचारीको मनोबल थप उच्च बनाउन तलबमा व्यापक वृद्धि, बोनस, प्रोत्साहन र दण्ड तथा इनामका योजनाहरूका साथ अभिप्रेरित गरिरहे । भ्रष्ट्राचारमा लिप्त, अनुशासनहीन कर्मचारीलाई भकाभक कारबाही गरेर कम्पनीबाट नै निकाले । कम्बोडियाको पानी प्राधिकरणमा कतिसम्म भ्रष्टाचारको अचाक्ली स्थिति थियो भने १५ डलर पर्ने पानीको मिटर र पाइप जडानलाई त्यहाँ कर्मचारीहरूको मिलेमतोमा २०० डलरसम्मको बिल बनाइन्थ्यो । भ्रष्टाचारमा ढाडिएकालाई कारबाही गर्दा धेरैपटक उनलाई ज्यान जोगाउन पनि मुस्किल परेको थियो । 

एक सोनलाई युवा कर्मचारीको ठूलो साथ थियो । युवालाई ठूला अन्तर्राष्ट्रिय तालिमहरूमा पठाए र फर्किंदा उनीहरूले के–के सिकेर आए र अब के परिवर्तन गर्ने भन्ने जाँच नै लिने व्यवस्था गरे । उत्कृष्ट बुझाइ नलिई विदेश डुलेर मात्र आउनेलाई अर्काे अवसर नदिने नीति ल्याए । यसले युवामा विदेश गएर सिक्ने र देशमा फर्केर लागू गर्ने हुटहुटी बलियो भयो । क्षमतावान् युवाहरू मुख्य पदमा पुगे । कामअनुसार पदको बढोत्तरी हुने व्यवस्था ल्याए । यो नियमले निकै राम्रो काम ग¥यो । एक सोनले एउटै काम विश्व बैंक, युएनका कर्मचारी र आफ्ना युवा कर्मचारीलाई पनि दिए । विश्व बैंक– युएनले दुई वर्ष लाग्छ भनेको काम सोनका कर्मचारीले एक वर्ष नपुग्दै सकिदिए । त्यसपछि उनीहरूले आफ्नो सबै काम ठेक्कापट्टाबाट होइन, आफैँ गर्न थाले । त्यसपछि विश्व बैंक र युएनलाई नै एक सोनका कर्मचारीले काम सिकाउन थाले । र, पानी प्राधिकरणको आमूल परिवर्तनका संवाहक यिनै युवा भए । 

देश विकास गर्ने हो भने स्वार्थतन्त्रका लागि होइन, एक सोनले जस्तै कुलमानहरूले पनि निर्धक्क आफ्नो क्षमताअनुरूपको काम गर्न पाउने पद्धतिका लागि लड्नुपर्छ । कुलमानहरूले निर्बाध काम गर्न पाउने प्रणाली र संस्था बनाउनु भनेको नै देश बनाउनु हो । 

नियुक्तिमा क्षमता र कार्यकुशलता : पेसाले कुलमान र एक सोन दुवै आफ्नो देशका उत्कृष्ट इन्जिनियर हुन् । प्रायः संस्थाहरू कायापलट त्यतिवेला भएका छन्, जतिवेला चलिरहेको पद्धतिभन्दा बाहिरको फरक मान्छे नेतृत्वमा आएका छन् । कुलमान र एक सोनको नियुक्ति पनि यस्तै प्रक्रियाबाट भएको हो । सायद चलिरहेको वरिष्ठताका आधारमा नियुक्ति गरिएको भए कुलमान विद्युत् प्राधिकरणको प्रमुख हुने थिएनन् । हामी अझै अन्धकारको युगमा हुने थियौँ । कुलमानभन्दा सिनियर केहीले उनको नियुक्तिसँगै राजीनामा दिएका पनि हुन् । संस्थाले लगातार परिवर्तनको फड्को मार्न नियुक्ति गर्ने र हुने मानिसमा केही हदसम्म इमानदारिता, विश्वास र क्षमता हुनुपर्छ । उदाहरणका लागि कुलमानले रिपोर्ट गर्ने ऊर्जामन्त्रीलाई ऊर्जासम्बन्धी केही ज्ञान हुँदैन, तर निर्णय र आदेश दिने ठाउँमा उनै मन्त्री हुन्छन् । कुलमानका योजना तर्जुमा उनले बुझ्दैनन् । 

प्राधिकरणका वर्तमान हाकिम हितेन्द्र शाक्य पनि आफ्नो क्षेत्रका निकै सम्मानित र अनुभवी व्यक्ति छन् । तर, उनले निर्णय गर्ने ठाउँ बोर्डमा राजनीतिक भागबन्डाबाट आएका कथित विज्ञ नेताहरू आएर बसेका छन् । हितेन्द्रले आफूभन्दा निकै कमसल र योजनाविहीन हुँदा पनि ती बोर्ड सदस्यलाई जबरजस्ती ज्यू–हजुर गर्नुपर्ने बाध्यता छ । बोर्डमा नियुक्ति पाउनासाथ सबै पार्टीका कार्यकर्ताले बधाई दिँदा तिनलाई भ्याइनभ्याई छ । बधाई ओइ-याउने यी कार्यकर्ता एकजनाले पनि उनलाई कसरी कुन काम गरेबापत यो पदमा नियुक्ति पाउनुभयो, हजुरको योग्यता के हो, अबको योजना के भनेर सोध्दैन । कुनै योजना नभएको, काम नलाग्ने पार्टी पनि होइन, एउटा गुटभित्रको पनि गुटको नेतालाई करोडौँ जनतालाई विद्युत् सेवा दिने र १० हजारभन्दा बढी कर्मचारी भएको प्राधिकरणको बोर्ड सदस्य बनाइएको छ । यी नियुक्ति पाएका आफैँलाई लाज लाग्नुपर्ने, पार्टीको अन्धभक्त भए भन्दैमा अलकत्रा नै खाने ? 

हितेन्द्रलाई स्वतन्त्र विश्वस्तरीय अनुभवको सल्लाह दिने एकजना पनि बोर्डमा छैन । यी राजनीतिक नियुक्ति र विज्ञताविहीन मन्त्रीलाई अटेर गर्न हितेन्द्रलाई कुलमानको जस्तो जनताको साथ र विश्वास पनि छैन । तसर्थ, आफ्नो क्षेत्रको निकै सम्मानित व्यक्ति हुँदाहुँदै पनि हितेन्द्र ऊर्जामन्त्रीका जमिनमुनि तार बिछ्याउनु हुँदैन भन्ने उडन्ते गफलाई समर्थन गर्न बाध्य छन् । 

एक सोनले आफ्नो कार्यकालमा ९० प्रतिशत जनतालाई शुद्ध खानेपानीको धारासँग जोडे जुन पहिले २५ प्रतिशत थियो । पानी उपयोग गर्नेमध्ये ७२ प्रतिशतले बिल नै भुक्तानी गर्दैनथे । त्यसलाई ६ प्रतिशतमा झारे, जसलाई सिंगापुर र डेनमार्कसँग तुलना गर्न मिल्छ । पानी उत्पादन क्षमता २६२ प्रतिशतले बढाए । पानीका धाराका पाइप ४५६ प्रतिशतले विस्तार गरे । उनले गरेका कामको अहिले संसारभर प्रशंसा गरिन्छ । 

अन्त्यमा, नेपालमा किन विकास भएन भन्ने प्रश्न आउँछ । यसको सोझो उत्तर हो– कुलमानहरूले कहिल्यै निर्धक्क भएर काम गर्ने गरी नेतृत्व गर्न पाएनन्, चाहे त्यो प्रजातन्त्र, पञ्चायत या वर्तमानको गणतन्त्र नै किन नहोस् । गणतन्त्रमा त अझ यस्तो प्रवृत्ति स्थानीय निकायका वडासम्म डरलाग्दोसँग विस्तारित भएर गएको छ । तसर्थ, देश विकास गर्ने हो भने स्वार्थतन्त्रका लागि होइन, एक सोनले जस्तै कुलमानहरूले पनि निर्धक्क आफ्नो क्षमताअनुरूपको काम गर्न पाउने पद्धतिका लागि लड्नुपर्छ । कुलमानहरूले निर्बाध काम गर्न पाउने प्रणाली र संस्था बनाउनु भनेको नै देश बनाउनु हो । 

(ढकाल बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट जल (ऊर्जा) नीति तथा व्यवस्थापनमा स्नातकोत्तर हुन्) 
 

सुझावित समाचार