नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले गलत प्रवृत्तिको टिप्पणी गर्दा गणतन्त्र र राष्ट्रपतिको अपमान नहुने बताएकी छिन् । नेकपा माधव–प्रचण्ड पक्षले बाग्लुङमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा झाँक्रीले राजाको निरंकुशताविरुद्ध लडेको पुस्तालाई प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदमको टिप्पणी गर्ने अधिकार सुरक्षित भएको बताइन् ।
उनले दश वर्षअघि राजाविरुद्ध लड्दा टाउको फोडेकोलाई निरंकुश प्रधानमन्त्री र उनकै गुटको राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्ध बोल्न फेरि रोक्ने भन्दै प्रश्नसमेत गरेकी छिन् । ‘यहाँ गणतन्त्रका लागि टाउको फोडेकालाई लाभको पद पाएँ भनेर हेपिएको छ । राष्ट्रपतिले केपी समूहको उपाध्यक्षकै भूमिकाको काम गरेपछि टीका–टिप्पणी हुनु नौलो होइन,’ झाँक्रीले भनिन्, ‘पटक–पटक संविधान र कानुन च्यात्नेलाई बा र आमा भनेरै बसिदिनुपर्ने दासत्वबाट माथि उठेर आवाज निकाल्नुपर्छ ।’
उनले आमनागरिकले गरेको प्रश्नमा मञ्चमा उभिएर प्रतिनिधिको रूपमा आफूले टिप्पणी गरेको बताइन् । ‘केपी ओली संसदीय दलको नेतासमेत नबन्दै प्रधानमन्त्रीको शपथ गराउनेदेखि अध्यादेशको रूपमा लगिएका सबै विषय आँखा चिम्लेर सदर गर्नेलाई कसको गुट भन्ने ?’ झाँक्रीले भनिन्, ‘सबैको राष्ट्रपति भएको भए हिउँदे अधिवेशन माग गरिएको निवेदन ६ घन्टासम्म बेवास्ता हुन्थ्यो ?’
झाँक्रीले संसद् पुनर्स्थापना भएपछि राष्ट्रपतिमाथि महाअभियोग लाग्नेसमेत बताइन् । ‘दोस्रोपटक राष्ट्रपति दोहोरिने वेलामै हामीले भनेका थियौँ, तर जबर्जस्ती गरियो,’ उनले भनिन्, ‘नेतृत्व छान्नेवेला पनि कमजोरी भएछ, जनताले माफी दिनुहोला ।’ नेतृत्वले शाहवंशीय खलक बन्न खोजेपछि आन्दोलनको विकल्प नरहेको उनको भनाइ छ ।