बढ्दो आयातले मुलुकको बचत आधा घट्यो

१२ महिना ६ दिनको वस्तु तथा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिती

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

बढ्दो आयात तथा अनुदान र प्रत्यक्ष वैदेशिक लगानी घटेसँगै ६ महिनामा मुलुकको शोधनान्तर (आम्दानी र खर्चअन्तर) बचत आधाले घटेको छ । लामो समयसम्म ऋणात्मक रहने गरेको शोधनान्तर बचत गत आर्थिक वर्षयता आयातमा भएको कमीले धनात्मक हुँदै आएको थियो । 

गत असारमा २ खर्ब ८२ अर्बसम्म देखिएको शोधनान्तर बचत पुसमा आइपुग्दा घटेर १ खर्ब २४ अर्बमा सीमित भएको हो । यो अवधिमा मुलुकको आयात ६ खर्ब ६१ अर्ब पुगेको छ । यद्यपि, यो अघिल्लो वर्षको यही अवधिको तुलनामा भने करिब ५ प्रतिशतले कम हो । 

त्यस्तै, सरकारले प्राप्त गर्दै आएको अनुदान करिब १० प्रतिशतले घटेर २६ अर्बमा सीमित भएको छ । प्रत्यक्ष वैदेशिक लगानी ३७ प्रतिशतले घटेर ७ अर्ब ६५ करोड भएको छ । मुलुकले बाहिरबाट कमाउने ब्याज आम्दानी, पर्यटकबाट हुने कमाइ पनि घटिरहेको छ । ब्याज आम्दानी २० प्रतिशतले घटेर ३३ अर्ब र पर्यटकबाट हुने कमाइ ९२ प्रतिशतले घटेर ३ अर्ब ३१ करोडमा सीमित भएको छ । 

सरकारले एक महिनामै शतप्रतिशतले ऋण बढाएपछि विदेशी मुद्राको सञ्चितिमा पुनः ऐतिहासिक वृद्धि देखिएको छ । मंसिरमा ३१ अर्ब २२ करोड रुपैयाँ ऋण लिएको सरकारले पुसमा ३४ अर्ब ३८ करोड ऋण थपेपछि ६५ अर्ब ६० करोड रुपैयाँ ऋण पुगेको हो ।

विदेशी मुद्राको सञ्चिति १४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । यसले मुलुकको १२ महिना ६ दिनको वस्तु तथा आयात धान्न सक्ने अवस्था छ । बढ्दो आयातले सञ्चिति पर्याप्ततामा भने ह्रास भइरहेको छ । मंसिरमा १४ खर्ब ७४ अर्ब सञ्चिति हुँदा पनि १३ महिनासम्म पुग्ने अवस्था थियो । रेमिट्यान्स रकममा भने ११ प्रतिशतले वृद्धि भएर ४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।  

राष्ट्र बैंकका अनुसार मूल्य वृद्धिदर भने मंसिरको तुलनामा पुसमा केही बढेको छ । मंसिरमा २ दशमलव ९३ रहेको मूल्य वृद्धिदर पुसमा ३ दशमलव ५६ प्रतिशत रहेको हो । घिउ, तेल, फलफूल, दाल, गेडागुडी, माछामासुलगायतको मूल्य वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा १० देखि १७ प्रतिशतसम्म बढेको छ । काठमाडौंमा अघिल्लो वर्षको तुलनामा ३ दशमलव ५५ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । पहाडमा ४ दशमलव ७२, हिमालमा ३ दशमलव ३८ र तराईमा २ दशमलव ८७ प्रतिशतसम्म मूल्य वृद्धि छ । 

बैंकहरूले ब्याजदर बढाउनुपर्ने अवस्था
बैंकहरूको निक्षेप वृद्धिदर साँघुरिँदै गएको र कर्जा लगानी भने बढ्दै गएको छ । गत असारको तुलनामा निक्षेप ९ दशमलव २ प्रतिशतले बढेर ४१ खर्ब ९१ अर्ब र कर्जा लगानी ११ प्रतिशतले बढेर ३० खर्ब २९ अर्ब पुगेको छ । 

‘आयात बढेसँगै बैंकहरूको निक्षेपको वृद्धिदर घट्न थालेको छ भने कर्जा लगानी बढिरहेको छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘अहिले बैंकहरूमा पुनर्कर्जाका रूपमा राष्ट्र बैंकले ८० अर्ब लगानी गरेको छ, यसले तरलतामा दबाब कम भएको हो ।’ 

बैंकहरूले निकट भविष्यलाई नै हेरेर निक्षेपको ब्याजदर बढाउनुपर्ने अवस्था आएको भट्टले बताए । हाल बैंकहरूले साधारण बचतमा २ दशमलव ७८ प्रतिशत हाराहारी र मुद्दतीमा औसत ८ प्रतिशत ब्याजदर दिइरहेका छन् ।

सुझावित समाचार