गीतकार सुनील कोइरालाले गीतिसंग्रह ‘सुनील’ प्रकाशित गरेका छन् । संग्रह ‘स्कुल अफ लिडर्स प्रालिबाट प्रकाशित भएको हो । यस संग्रहमा ‘मेरो देश’, ‘मृत्युदण्ड,’ ‘स्वदेश याद आयो’, ‘सहिद’, ‘अखण्ड राष्ट्र’, ‘बन नेपाली’लगायत एक सय २४ वटा देशभक्ति तथा मायाप्रेमसँग सम्बन्धित गीतहरू संगृहीत छन् ।
सुनीलका गीतमा गायक सत्यराज आचार्य, कानुनविद् डा. भीमार्जुन आचार्य, निकिता थापा, सुमन साङ्देन, अप्सरा घिमिरेजस्ता थुप्रै कलाकारले स्वर दिएका छन् । सचिन सिंह, राजु सिंह, नवराज बराल, महेश खड्कालगायतले संगीत भरेका छन् ।
कोइरालाले यसअघि पनि धेरै गीतहरूको रचना गरिसकेका छन् । आफूले रचना गरेका गीतहरू हरेक पे्रमीप्रेमिका र देशलाई माया गर्नेहरूलाई समर्पित रहेको उनको भनाइ छ । कवि तथा गीतकार रत्नशमशेर थापाले सुनीलका गीत रसिला, गतिला, खँदिला र चम्किला रहेको प्रतिक्रिया दिएका छन् । यस्तै कवि तथा गीतकार कृष्णहरि बरालले भनेका छन्, ‘सरल शब्द, सरल अलंकार, बिम्ब तथा प्रतीक भावलाई उनेर प्रस्तुत गर्न सिपालु सुनीलका गीत, संगीतको प्रयोगका दृष्टिले पनि बलिया छन् ।’