जुनियर अधिकृतको वृत्ति विकासका लागि नयाँ मापदण्ड बन्दै

मंगलबार, २७ माघ, २०७७
डिजिटल संस्करण

लामो समयदेखि बढुवा हुन नसकेका जुनियर अधिकृतहरूको वृत्ति विकासका लागि नेपाल प्रहरीले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । यसबारे छलफल सुरु गरिएको प्रहरीले जनाएको छ । 

नयाँ मापदण्ड बने इन्स्पेक्टर र असइका रिक्त पदमा ६० प्रतिशत बढुवामार्फत र ४० प्रतिशत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ । अहिले ६० प्रतिशत खुला प्रतिस्पर्धाबाट र ४० प्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति गर्ने व्यवस्था छ । समयमै वृत्ति विकास नहुँदा प्रहरीका जुनियर अधिकृत १७ वर्षदेखि एउटै पदमा कार्यरत छन् । यही समस्याका कारण पछिल्लो ३० महिनामा सइभन्दा मुनिका पाँच हजार नौ सय ९७ कर्मचारीले राजीनामा दिएका छन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको असन्तुलित वृत्ति विकासका विषयमा नयाँ पत्रिकाले आइतबार ‘प्रहरीको पीडा : ३० वर्ष जागिर, १७ वर्ष एउटै पद’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जुनियर प्रहरी अधिकृतको वृत्ति विकास गर्न नयाँ मापदण्ड बनाउनेबारे छलफल सुरु भएको बताए । 

‘जुनियर प्रहरी अधिकृतको वृत्ति विकास रोकिएको छ । यसले धेरै जुनियर प्रहरी अधिकृतको करिअरमा प्रभाव परेको छ । यो समस्या समाधान गर्न नेपाल प्रहरी लागेको छ । नयाँ मापदण्ड बनाउन छलफल चलाइएको छ,’ प्रवक्ता कुँवरले भने । उनका अनुसार नयाँ मापदण्ड बनेपछि जुनियर प्रहरी अधिकृतको वृत्ति विकाससम्बन्धी गुनासा केही हदसम्म समाधान हुनेछन् । 

आन्तरिक छलफलपछि प्रहरीले नेपाल प्रहरी नियमावली ०७१ संशोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव लैजानेछ । कानुन र अर्थ मन्त्रालयले स्वीकृत दिएपछि नयाँ नियमावली लागू हुनेछ । 

साबिकको नियमावलीमा इन्स्पेक्टर र असइको पदपूर्ति ६० प्रतिशत खुला प्रतिस्पर्धा र ४० प्रतिशत बढुवामार्फत पदपूर्ति गर्ने व्यवस्था छ । अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । ज्ब कि डेढ सयभन्दा धेरै सइ बढुवाका दाबेदार छन्, जो १५ वर्षभन्दा ‘जेठा’ सइ हुन् । तीमध्ये ३० जना त १७ वर्षदेखि सइमा कार्यरत छन् । बढुवा गरिने ४० जना छान्न प्रहरी नेतृत्वलाई हम्मे भएको छ । 

नेपाल प्रहरीमा झन्डै ८० हजार सुरक्षाकर्मीको दरबन्दी छ । तीमध्ये साढे ६ हजार दरबन्दी रिक्त छ । समयमै वृत्ति विकास नहुँदा जुनियर तहका धेरै प्रहरी अधिकृतले राजीनामा दिई सेवा छाडिरहेका छन् । प्रहरीकै तथ्यांकअनुसार पछिल्ला ३० महिनामा मात्रै ६ हजार ३८ कर्मचारीले राजीनामा दिएका छन् । त्यसमध्ये ९९.३२ प्रतिशत अर्थात् पाँच हजार नौ सय ९७ जना जुनियर तहका छन् । राजीनामा दिने सबैभन्दा धेरै प्रहरी हवल्दार छन्, उनीहरूको संख्या चार हजार एक सय ४४ रहेको छ । त्यस्तै, सात सय ६६ जवान, सात सय ४१ असइ र दुई सय १५ सइले राजीनामा दिएका छन् । 

सुझावित समाचार