फिनटेक इन्टरनेसनल प्रालिलाई नेपाल राष्ट्र बैंकले तत्काललाई काठमाडाैं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारीसाधनमा यात्रुहरूले भुक्तानी गर्ने भाडा स्मार्ट कार्डमार्फत भुक्तानी हुने प्रणाली सञ्चालनमा ल्याउन अनुमति दिएको छ । उपत्यकाभित्रका सार्वजनिक यातायातमा यात्रुले कार्डमार्फत भाडा तिर्न मिल्ने व्यवस्था ल्याउनका लागि कम्पनीले अनुमति पाएको हो ।
यो प्रविधिले हाल सञ्चालनमा रहेको नगदमार्फत भाडा भुक्तानी हुने प्रणालीमा फिर्ता पैसाको समस्या समाधान हुने र कोभिड–१९ संक्रमणको सम्भावना पनि घटाउन सहज हुने कम्पनीले जनाएको छ । त्यस्तै, सरकारबाट तोकिएको भाडा भुक्तानी नभइरहेको अवस्थामा स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गर्ने यस प्रणालीले बस व्यवसायी, यात्रु तथा सरोकारवाला निकायले यस प्रविधिवाट परिवर्तनको अनुभूति गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
योजना : कम्पनीले १ फागुनदेखि उपत्यकाभित्रका ७ वटा रुटमा चल्ने बसहरूमा इलेक्ट्राेनिक टिकेटिङ मेसिन जडान गरी कार्डमार्फत बस भाडा भुक्तानी गर्ने प्रणाली सुरु गर्ने जनाएको छ । उक्त रुटहरूमा मुख्य ३० स्थानमा यात्रुसेवा तथा सहायता बुथ स्थापना गरी कार्ड वितरण गर्ने, कार्ड रिचार्ज गर्ने तथा ग्राहकलाई सेवा सम्बन्धमा जानकारी गराउने जनाइएको छ ।
सेवा सञ्चालन भएको रुटमा अधिकतम यात्रुहरूलाई ‘यात्रा कार्ड’ नामको स्मार्ट कार्ड उपलब्ध गराउने जनाइएको छ । सेवा सञ्चालन भएको ६ महिनाभित्र उपत्यकाभित्र सञ्चालन हुने १ हजार बसमा कार्डमार्फत भाडा भुक्तानी गर्ने सेवा सञ्चालन गरिसक्ने कम्पनीको भनाइ छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका यात्रुलाई सहुलियत कायम हुने कार्ड वितरण गर्ने कम्पनीले जनाएको छ । एक वर्षभित्र उपत्यकाभित्र चल्ने ५ हजार सार्वजनिक यातायातका सवारीसाधनमा कार्डमार्फत भाडा भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याउने योजना बनाएको कम्पनीले जनाएको छ । त्यस्तै, ६ महिनाभित्र अनलाइन बस टिकट बुकिङ र बस ट्याकिङ वेब तथा एप तयार गरी सञ्चालनमा ल्याउने जनाइएको छ ।