बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको अनुसन्धानमा लापरबाही नगर्न कांग्रेसले सरकारलाई चेतावनी दिएको छ । कांग्रेसको केन्द्रीय महिला विभागले विज्ञप्तिमार्फत घटनाको घोर निन्दा र भत्र्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय गर्न सरकारसँग माग गरेको छ ।
‘महिलामाथि हुने गरेका अनवरत हिंसाका शृंखलाले सिंगो राष्ट्र र समाज आतंकित छ, अढाई वर्ष पहिले कञ्चनपुरमा बीभत्स बलात्कार र हत्याको सिकार भएकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पनि कानुनी कठघरामा उभ्याउन सकेको छैन,’ विभागकी सचिव लक्ष्मी खतिवडाले आइतबार विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘भागरथी हत्याको घटनाको अनुसन्धानमा लापरबाही नहोस् ।’
विद्यालयबाट घर फर्किने क्रममा २१ माघमा बैतडीको दोगडाकेदार गाउँपालिकाको सनातन धर्म उमाविकी छात्रा भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । कांग्रेसले घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।
विभागले घटनाको स्थलगत अवलोकन र सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन खबरदारीका लागि विभागकी सदस्य राधिका सिंहलाई खटाएको छ ।
खतिवडाले महिलाविरुद्ध सिलसिलेवार रूपमा भइरहेका हत्या र हिंसाका घटनालाई रोक्न सबैलाई त्यसको विरुद्धमा उभिन पनि आह्वान गरेकी छिन् । ‘गत असोजमा मष्टा गाउँपालिका बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार र हत्याको घटना पनि महिलामाथि हुने गरेका जघन्य अपराधको एउटा कडी हो, यी अपराधलाई तोड्न महिलाविरुद्ध सिलसिलेवार रूपमा हुने गरेका हत्या र हिंसाका सिलसिलालाई तोड्नुपर्ने हुन्छ,’ खतिवडाले विज्ञप्तिमार्फत भनेकी छिन्, ‘यसका निम्ति राजनीतिक पार्टी, विभिन्न संघसंस्थाहरू, पेसाकर्मीलगायत सिंगो समाज अपराधको खिलाफमा खडा रहनु आजको मूल आवश्यकता हो ।’
उनले सबैको प्रयासबाट मात्रै अपराधीको बढेको मनोबल घटाउन र दण्डहीनताको अन्त्य गर्ने वातावरण बनाउन सकिने बताएकी छिन् ।