बुधबार कारोबार खुलेको केही समयपछि नै नेप्से परिसूचक वृद्धिको बाटोमा देखिए तापनि बजार बन्द हुने समयमा ओरालो लागेको छ । कारोबार अवधिमा ४६ अंकसम्म बढेको बजार बन्द हुँदा भने करिब ७ अंकले घटेको छ । नेप्से परिसूचक २ हजार ४ सय ६६ विन्दुमा आएको हो ।
१ बजेर ४४ मिनेट जाँदा बजार एकाएक उच्च दरमा घटेको थियो । पछि केही सम्हालिए पनि सुधार भने हुन सकेन । नेकपा सरकारबाट बाहिरिएको समूहले बिहीबार आमहडतालको कार्यक्रम सार्वजनिक गरेपछि लगानीकर्ताहरूमा मनोवैज्ञानिक प्रभाव परेको हो । सर्वसाधारणले सजिलै किनबेच गर्ने सेयरको कारोबार मापक फ्लोट परिसूचकसमेत घटेको छ ।
बैंकिङ, जलविद्युत्, लघुवित्त र सामूहिक लगानी कोष समूहगत परिसूचकबाहेक सबै समूह घटेका छन् । बैंकिङ समूहको ग्लोबल आइएमई, हिमालयन, कृषि विकास, सिटिजन्सलगायतको मूल्य बढेपछि यो समूहमा सुधार भएको हो । यद्यपि ग्लोबल आइएमईको मूल्य र कारोबार यो समूहमा सबैभन्दा धेरैले वृद्धि भएपछि यो समूहलाई उचालेको हो ।
बैंकको मूल्य करिब ५ प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा अग्रस्थानमा छ । बैंकको ६० करोड रुपैयाँको सेयर किनबेच भएको हो । यस समूहकै सबैभन्दा धेरै चुक्ता पुँजी भएको र मूल्य औसत रहेकाले पनि लगानीकर्ताहरू आकर्षित भएका हुन सक्छन् । दुई दिनयता बैंकको सेयरमा लगानीकर्ताहरू एक्कासी झुम्मिएका छन् । वाणिज्य बैंक समूहमा मात्रै २ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
लघुवित्त समूहका स्वाभिमान, जनउत्थान, उन्नति सहकार्य, माहुली सामुदायिकको मूल्य १० प्रतिशतको दरमा वृद्धि भएको छ । २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि लाभांश घोषणा गरेको स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरैले वृद्धि भएको हो । कम्पनीले ३० माघमा बुक क्लोज घोषणा गरेको छ ।
कारोबारमा आएको २ सय १ धितोपत्र तथा ऋणपत्रमा ७५ वटाको मूल्य बढेको, १ सय १२ वटाको मूल्य घटेको हो । १० दशमलव ५२ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश दिएको लाइफ इन्स्योरेन्स कर्पोरेसनले २५ फागुनमा साधारणसभा गर्ने भएको छ । कम्पनीले बुक क्लोजलगायतको जानकारी सार्वजनिक गरिसकेको छैन ।