धरान उपमहानगरपालिकाको वडा नम्बर १६ ले बिहान–बेलुका छाक टार्न मुस्किल अतिविपन्न ३२ परिवारलाई रासन कार्ड वितरण गरेको छ । वडा कार्यालयले पहिलो चरणमा अतिविपन्न ३२ परिवारलाई छनोट गरी रासन कार्ड वितरण गरेको हो ।
लक्षित वर्गको कार्यक्रमअन्तर्गतको बजेटबाट अतिविपन्न परिवारलाई रासन कार्ड बनाएर वितरण गरिएको वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । ‘कोरोनाका कारण लकडाउन भएपछि राहत वितरण गर्ने क्रममा घर–घरमा पुग्दा वडामा ९२ जनाको परिवार ज्यादै विपन्न, अशक्त र खानै नपुग्ने भेटिएको थियो, तीमध्ये ३२ जनाको परिवारलाई धेरै नै समस्या भएकाले पहिलो चरणमा रासन कार्ड उपलब्ध गराएका हौँ,’ अध्यक्ष गिरीले भने ।
रासन कार्ड प्राप्त परिवारलाई परिवारमा एकजना मात्र भए महिनामा १५ केजी चामल, एक केजी दाल, एक केजी नुन र एक लिटर तेलको व्यवस्था गरिएको छ । एकजनाभन्दा बढी भएको परिवारलाई २५ केजी चामल व्यवस्था गरिएको छ । वडामा कोही भोकै मर्न नपरोस् भनेर अति विपन्न परिवारलाई वडा कार्यालयबाट रासन उपलब्ध गराउने गरी कार्ड व्यवस्था गरिएको वडाध्यक्ष गिरीले बताए ।