सेयर बजारमा लगानी गर्ने क्रममा तीव्र दरमा वृद्धि भइरहेको छ । पछिल्लो तीन सातामै बजारमा कारोबार रकम करिब ९५ प्रतिशतले वृद्धि भएको छ । दुई साताअघि २२ अर्ब ७४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा गत साता यो वृद्धि भएर ४४ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो । सातागत आधारमा भने कारोबार रकममा अघिल्लो साताको तुलनामा ३० प्रतिशतले मात्रै वृद्धि भएको हो ।
यो अवधिमा होटेल, जीवन बिमा, लघुवित्त, वित्त र निर्जीवन बिमा कम्पनीहरूमा लगानी १ सय ९ देखि ३ सय २३ प्रतिशतसम्म बढेको छ । यी क्षेत्रमा गत साताभरमा १६ करोडदेखि ७ अर्ब ६१ करोड रुपैयाँसम्म कारोबार भएको छ । गत साता भने अघिल्लो साताको तुलनामा वित्त कम्पनी समूहमा लगानी घटेको छ ।
सेयर बजारका लगानीकर्ताको सम्पत्तिको मूल्य अंकित मूल्यभन्दा ५ सय प्रतिशतले वृद्धि भएको छ । अंकित मूल्यका आधारमा सूचीकृत धितोपत्रको कुल मूल्य ५ खर्ब २८ अर्ब रहेकोमा बढेर ३२ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।
साताभरमा नेप्से परिसूचक २ प्रतिशतले मात्रै बढेको छ । सातामा ३ दिन बजार घटे पनि नेप्सेले ५० अंक जोड्न सफल भएको हो । नेप्से २ हजार ४ सय २५ बिन्दुसम्म आइपुगेर बिहीबार बजार बन्द भएको हो ।
सातामा नेपाल टेलिकम र जलविद्युत् लगानी तथा विकास कम्पनी सूचीकृत ‘अन्य’ समूह, निर्जीवन बिमा, जीवन बिमा, लघुवित्त, उत्पादन तथा प्रशोधन र होटेल समूहको समूहगत परिसूचक मात्र बढेको छ । यी समूहमा शून्य दशमलव १५ देखि ९ प्रतिशतसम्म वृद्धि भएको हो ।
बजारमा गत साता ८४ लाख १७ हजार कित्ता सेयर सूचीकृत भएको छ । साल्ट ट्रेडिङ, सिटिजन्स बैंक र फस्र्ट माइक्रोको बोनस सेयर सूचीकृत भएको हो ।
प्राविधिक विश्लेषण
७ दिनमा ३ दिन रातो मैनबत्ती चित्र बनेको छ । अन्तिम दिन लामो कालो मैनबत्ती चित्र बनेको छ । यसले बियरिस प्रवृत्तिमा बजार जाने संकेत गर्छ । साताभरको कारोबारमा पनि बजारको बुलिस प्रवृत्ति कमजोर बन्दै गएको देखिन्छ ।
रेखाचित्रले २ हजार ४ सय ४० मा नेप्सेले प्रतिरोधको सामना गर्न लागेको देखाएको छ । यो बिन्दुआसपासमा लगत्तै दुईपटक पुगेर बजार ओर्लिएको छ । यसले अंग्रेजी अक्षरको एम (डबल टप) आकृति बनाएको छ । यसले बजार घट्न सक्ने सम्भावनालाई पनि देखाउँछ । तर, बढ्दो लगानीले बजार घट्ने सम्भावना भने कम छ ।
केही दिन बजार साइडवेज मुभमेन्टमा भने जान सक्ने देखिन्छ । लाभांश पाउने अवधि सकिए पनि बैंकहरूमा रहेको उच्च तरलताले बजारको वृद्धिलाई भने सघाइरहेको हो । नेप्से अधिक खरिदको क्षेत्रमै रहे पनि क्रमशः सन्तुलनतर्फ उन्मुख देखिन्छ । अन्तिम दिन नेप्सेको १४ दिने आरएसआई सूचक ८५ स्केलमा छ । ९६ स्केलबाट घटेर ८५ मा आइपुगेको हो ।