लगानी बोर्ड नेपालले तल्लो अरुण जलविद्युत्को परियोजना विकासको जिम्मा भारतीय कम्पनी एसजेभिएन लिमिटेडलाई दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ४६औँ बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडलमा विकास गर्न एसजेभिएनलाई दिने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीहरूको मूल्यांकन गरी एसजेभिएनलाई छनोट गरिएको बोर्डले जनाएको छ । ६ सय ७९ मेगावाट क्षमताको उक्त परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित रहनेछ । २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले उक्त परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो ।
उक्त अवसरमा प्रधानमन्त्रीले विद्युत्को उत्पादनसँगै खपतको समेत योजना बनाउनुपर्नेमा जोड दिएको बोर्डले जनाएको छ । पूर्वाधार परियोजनाहरूलाई समयमै सम्पन्न गर्न नेपाल सरकारका सम्बद्ध निकायका पदाधिकारीहरूलाई प्रधानमन्त्रीले निर्देशनसमेत दिएको सहसचिव एवं प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले बताए ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देशन गरेबमोजिम लगानी बोर्डको रणनीतिक योजना, परियोजना बंैक, वेबमा आधारित एकल बिन्दु सेवा र नलेज म्यानेजमेन्ट पोर्टल (केएफपी) का बारेमा भइरहेको प्रगतिको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको उक्त बैठकले बोर्डमा विशेषज्ञ सदस्यका रूपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवं आमन्त्रित सदस्यका रूपमा बालकृष्ण सिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।