बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेन बनाइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बुधबार बुटवलस्थित राजमार्ग चौराहामा सडक विस्तार कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
बुधबार सडक विस्तारको शुभारम्भ गर्दै मन्त्री पौडेलले तीव्र सहरीकरणका क्रममा आवश्यकताअनुरूप काम भइरहेको भन्दै सडक विस्तारले बुटवलको सुन्दरता बढाउने बताए । विस्तार रोकिँदा बुटवलको सुन्दरता बिग्रिएको चर्चा गर्दै उनले अब बुटवलको अनुहार चहकिलो हुने बताए ।
सडक क्षेत्र मिचेर बनेका घरटहरा खाली नगर्दा बुटवलको सडक विस्तार रोकिँदै आएको थियो । तर, अदालतको आदेशसँगै सडक निर्माणको अवरोध हटेको केही सातापछि बुटवलको सडक विस्तारको शुभारम्भ गरिएको हो ।
चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम डेढ वर्षदेखि रोकिएको थियो ।
२४ जना घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तार रोकिएको थियो । तर, अदालतले २० पुसमा घरधनीका विपक्षमा फैसला गरेपछि व्यापारिकमार्ग विस्तार आयोजनाले सडकमा बनेका घर हटाउन समय दिएको थियो । समयमा पनि घर नभत्काएपछि सडक आयोजनाले डोजर लगाएर भत्काइदिएको थियो ।