खुँडा प्रहार गरेर युवकको हत्या गर्ने एक पक्राउ

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथीभेरा गाउँपालिका– ३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए । 

छविसपाथीभेरा– ३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मंगलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।

 खुँडा प्रहार गर्नेमध्येका एकजना सोही गाउँपालिका– २ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने सोही ठाउँका प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरी शव जिल्ला अस्पताल सिमखेतमा राखिएको र शवको परीक्षण भने अहिलेसम्म नभएको बताइएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यसअघिसमेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ । रासस

See More On

सुझावित समाचार