सुदूरपश्चिममा १६ हजार स्वास्थ्यकर्मीलाई लगाइने

सोमबार, १२ माघ, २०७७
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको विवरण संकलन गर्न थालिएको छ । करिब १६ हजार स्वास्थ्यकर्मीलाई खोप लगाउनका लागि तथ्यांक संकलन भइसकेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले पहिलो चरणमा अग्रपंक्तिमा खटिने करिब १६ हजार स्वास्थ्यकर्मीलाई खोप लगाइने बताए । यस्तै १० हजार सुरक्षाकर्मीलाई खोप लगाउनुपर्ने विवरण आएको उनले बताए । ‘तीमध्ये कतिलाई खोप लगाउन आवश्यक छ भन्ने यकिन गर्दै छौँ,’ कार्कीले भने, ‘ट्राफिक प्रहरी, शव व्यवस्थापनमा खटिने सैनिकलगायतलाई प्राथमिकता दिएर खोप लगाइनेछ ।’

संघीय सरकारले भारतबाट अनुदानमा प्राप्त खोप सुदूरपश्चिममा कति पठाउने भन्ने यकिन भइसकेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयले खोप भण्डारणका लागि भण्डारकक्षको व्यवस्थापन गरिसकेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भण्डारण कक्षमा कोरोनाविरुद्धको खोप राखिने बताइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले दुई–तीन दिनभित्र केन्द्रबाट खोप आउने जानकारी पाएको बताए । ‘कति आउने भन्ने यकिन भइसकेको छैन,’ उनले भने, ‘खोप आएको एक हप्ताभित्रै लगाउन सुरु गर्छौं ।’ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, सरसफाइ कर्मचारीलाई पहिलो चरणमा खोप लगाइने निर्देशनालयले जनाएको छ । 
 

सुझावित समाचार