राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् ।
सोमबार पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन जुलुससहित सिंहदरबार पश्चिमगेटस्थित शाहको सालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् ।
उनले मुलुकका निर्माता पृथ्वीनारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताए ।
अध्यक्ष राणाले सरकारमा बस्नेहरू राष्ट्रप्रति इमानदार र बफादार बन्नुपर्ने बताए ।
मुलुकमाथि अत्याचार भएको भन्दै उनले अन्याय र अत्याचारविरुद्ध राप्रपा विरोधमा उत्रिने दिन आएको उल्लेख गरे ।
उनले नेपालमा हिन्दूधर्म पुनर्स्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको पनि बताए ।
पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता–कार्यकर्ता जुलुससहित पुगेका थिए ।
भिडलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गरेको थियो ।