परिवर्तन पर्खिरहेको इराकी कुर्दिस क्षेत्र

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

युवाहरूमा कायम ठूलो असन्तुष्टिका कारण इराकी कुर्दिस्तानमा विपक्षी दलको आह्वानविनै स्वस्फूर्त आन्दोलन उठ्न थालेको छ ।

 डिसेम्बर २ मा शिक्षक तथा सरकारी कर्मचारीले इराकको अर्धस्वशासित कुर्दिस क्षेत्रको एक सहर सुलेमानिएमा शान्तिपूर्ण प्रदर्शन गरे । प्रदर्शनकारीले आफूले पाउनुपर्ने महिनौँ अवधिको तलबको माग गरे । वित्तीय संकटका कारण कुर्दिस्तान क्षेत्रीय सरकारले महिनौँदेखि आफ्ना कर्मचारीलाई समेत पूरा तलब भुक्तानी गर्न सकेको छैन । तर, माग सम्बोधन गर्नुको साटो स्थानीय अधिकारीले प्रदर्शनकारीविरुद्ध सुरक्षाकर्मीको प्रयोग गरे । 

दमनले कुर्द जनता थप आक्रोशित बने र प्रदर्शन सुलेमानिएबाट अन्य सहरमा फैलियो । त्यसपछिको प्रहरी धरपकडमा कम्तीमा सात मानिसको ज्यान गयो भने दर्जनौँ घाइते भएका छन् । सयौँ पक्राउमा परेका छन् । इराकको कुर्दिस्तान क्षेत्रमा विगतमा पनि यस्तो हिंसात्मक दृश्य देखिएको थियो । सन् २०११ देखि त्यस क्षेत्रका प्रमुख दुई दल कुर्दिस्तान डेमोक्रेटिक पार्टी (केडिपी) र पेट्रोटिक युनियन अफ कुर्दिस्तान(पियुके)विरुद्ध पटक–पटक प्रदर्शन भएका छन् । 

विगतमा जस्तै केडिपी र पियुकेका नेता बग्दाद सरकारले कुर्दिस्तान क्षेत्रीय सरकारको बजेट रोक्का गरेको भन्दै आफू जिम्मेवारीबाट उम्किन खोजेका छन् । तर, वर्तमान संकटका लागि इराकी कुर्दिस्तानका दुई सत्तारुढ दलको दशकौँदेखिको भ्रष्टाचार तथा कुव्यवस्थापन जिम्मेवार छ । कुर्दिस जनतालाई यो राम्ररी थाहा छ, त्यसैले मानिसको आक्रोश घट्नुको साटो बढिरहेको छ । 

डिसेम्बरको प्रदर्शन यो वर्षको एक्लो प्रदर्शन थिएन । विगत १२ महिनाभित्र कुर्दहरू विभिन्न सामाजिक–आर्थिक दुरवस्थाको विरोधमा सडकमा उत्रिए । जनवरी तथा फेब्रुअरीमा महामारी आएर कुर्दिस क्षेत्रको अर्थतन्त्रमा क्षति पुग्नुअघि मानिसहरूले बिजुली तथा मट्टितेलको उचित व्यवस्थाको माग गर्दै पियुकेको शासन रहेको सुलेमानिएमा प्रदर्शन गरेका थिए । मे महिनामा केडिपीको नियन्त्रणमा रहेको सहर डुहोकमा शिक्षक तथा सरकारी कर्मचारीको आह्वानमा ज्यालाको माग गर्दै शान्तिपूर्ण प्रदर्शन भएको थियो । तर, प्रदर्शन आह्वान भएको दिन सुरक्षा फौजले आयोजकहरूको घर छापा मारे । त्यस्तै प्रदर्शनी गर्ने भनिएको ठाउँमा प्रवेश निषेध गरे । त्यस वेला पत्रकारहरूसमेत पहिले नै पक्राउ परेका थिए । 

इराकी कुर्दिस्तान क्षेत्र दुई दल केडिपी र पियुकेको नियन्त्रण छ र ती दल दुईवटा परिवारको कब्जामा छन् । दुई सत्तारुढ पार्टीको नातावाद, भ्रष्टाचार तथा कुव्यवस्थापनले कुर्दिस क्षेत्रको विकासमै असर गरेको छ । 

अर्को घटना अगस्टमा भयो, जब केडिपी नियन्त्रित सहर जखोका ट्रक चालक विरोधमा उत्रिए । उनीहरू टर्किस ट्रक चालकलाई टर्की–इराक सीमाक्षेत्रसम्म आउन दिने इराकी कुर्दिस्तान क्षेत्रीय सरकारको निर्णयबाट आक्रोशित भएका थिए । विरोधमा उत्रिएका ट्रक चालक र तिनको समाचार संकलन गर्न गएका पत्रकारलाई तितरबितर बनाउन सुरक्षाफौज परिचालन गरियो । यी धरपकडविरुद्ध मानवअधिकारवादी संगठन तथा स्वतन्त्र प्रेसको निगरानी गर्ने संस्थाहरूले सतर्क गराएका थिए । न्युयोर्कमा मुख्यालय रहेको ह्युमन राइट्स वाचले कुर्दिस अधिकारीलाई ‘आलोचकलाई पक्राउ गर्नुको साटो, तिनको कुरा सुन्न’ आग्रह गरेको थियो ।

यो वर्ष इराकस्थित कुर्दिस क्षेत्रमा भएको प्रदर्शनहरू कामको ज्यालाको माग तथा उपभोग्य वस्तुको अभावबाट सिर्जना भएको थियो, तथापि मानिसहरू पहिलेदेखि असन्तुष्ट थिए । आमजनतामा कुर्दिस क्षेत्रका वर्तमान अकर्मण्य प्रणालीप्रति आक्रोश बढिरहेको थियो । इराकी कुर्दिस्तान क्षेत्रमा केडिपी र पियुकेको नियन्त्रण छ र ती दुई दल पनि जम्मा दुईवटा परिवारको कब्जामा देखिन्छन् । केडिपीमा बरजानी परिवारको र पियुकेमा तलाबानी परिवारको वर्चस्व देखिन्छ । सन् १९९२ मा कुर्दिस क्षेत्रीय सरकारको उदयसँगै सरकारी संस्थानमा यी दुई दलको अधिपत्य रहँदै आएको छ । सरकारी पद तथा उच्च पदहरू बरजानी तथा तलाबानी परिवारका सदस्यले पाएको देखिन्छ । यो सेटिङले चुनावी प्रक्रियासमेत यिनै दुई दलको पक्षमा हुने स्थिति खडा गरेको छ । 

दुई सत्तारुढ पार्टीको नातावाद, भ्रष्टाचार तथा कुव्यवस्थापनले कुर्दिस क्षेत्रको विकासमै असर गरेको छ । परिणामस्वरूप कुर्दिस अर्थतन्त्र पूर्णतः तेल तथा ग्यासमा निर्भर बनेको छ र अर्थतन्त्रका अन्य क्षेत्र कमजोर देखिन्छन् । अहिले तेलको मूल्य न्यून भएको र बग्दादसँगको बजेट विवाद उत्पन्न भएका कारण त्यस क्षेत्रका सरकारी कर्मचारीलाई ज्याला दिन नसकिने अवस्था आएको छ । यो स्थिति र सीमित आर्थिक अवसरका कारण कुर्दिस क्षेत्रको सामाजिक तथा आर्थिक असमानता बढेको छ । 

यो स्थितिबाट सबैभन्दा बढी जोखिम नयाँ पुस्ताले सामना गरिरहेको छ । सन् २०१८ को एक सर्वेक्षणअनुसार १८–३४ वर्ष उमेर समूहको जनसंख्याको झन्डै २० प्रतिशतभन्दा बढी हिस्सा बेरोजगार छ । युवाहरूको ठूलो संख्या असन्तुष्ट रहेकाले पछिल्लो समय इराकी कुर्दिस्तानमा विपक्षी दलको आह्वानविनै स्वस्फूर्त आन्दोलन उठ्न थालेको छ । युवाहरूमा परिवर्तनको उग्र आकांक्षा देखिन्छ, त्यसकारण वर्तमान असन्तोष सामान्य तलबका लागि मात्र हो भनेर सम्झिनु सत्तापक्षको कमजोरी हुन सक्छ । 

(लेखक एओएएस युनिभर्सिटी अफ लन्डनस्थित डिपार्टपेन्ट अफ पोलिटिक्स एन्ड इन्टरनेसनल स्टडिजमा टिचिङ फेलो हुन्)
अलजजिराबाट

सुझावित समाचार