कोरोना संक्रमण भएका वेला भेटेको व्यक्तिबारे जानकारी लुकाउने महिलालाई जेल सजाय

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण

सिंगापुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको समय आफूले भेटेको एकजना व्यक्तिबारे जानकारी लुकाएकी एक महिलालाई जेल सजाय सुनाइएको छ । सिंगापुरका सञ्चारमाध्यमहरूले जनाएअनुसार ६५ वर्षीया ओबी हिवकलाई जेल सजाय सुनाइएको हो ।

उनले कोरोना संक्रमित भएको समयमा भेटेको एकजना केटा साथीबारेको जानकारी लुकाएकी थिइन् । सिंगापुरका अधिकारीहरूले सिसिटिभी फुटेज र अरू माध्यममार्फत ती महिलाले केटा साथीलाई भेटेको सूचना लुकाएको पुष्टि गरेका हुन् । 

ती महिलाले आफ्नो परिवारले पुरुष साथीसँग भेटेको थाहा पाए गतल सोच्ने डरले जानकारी लुकाएको बताएकी छिन् । सिंगापुरले संक्रमण फैलन नदिन कठिन प्रयास गरिरहेको छ । त्यसमा उसले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको निगरानीलाई महŒवका साथ लिने गरेको छ । सरकारको यो प्रयासमा असहयोग गर्ने नागरिकमाथि सिंगापुरले जेल सजायसम्म दिने निर्णय गरेको छ । 

सरकारको प्रयासका कारण सिंगापुरमा भाइरस संक्रमण ठूलो मात्रामा फैलन पाएको छैन । अहिलेसम्म त्यहाँ कोरोना भाइरस संक्रमणबाट २९ जनाको मात्रै मृत्यु भएको छ । संक्रमितको संख्या पनि तुलनात्मक रूपमा कम देखिएको छ ।

ती महिलालाई गत फेब्रुअरीमै संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुभन्दा पहिले महिलाले ७२ वर्षीय लिम कियङ होङ नाम गरेका व्यक्तिलाई पाँचपटक भेटेकी थिइन् । 

सरकारी अधिकारीहरूले ती महिला आफ्नो श्रीमान् ब्याडमिन्टन खेल्न बाहिर गएको समय पुरुषसँग भेट्न जाने गरेको दाबी गरेका छन् । सिंगापुरको स्ट्रेस टाइम्सले उल्लेख गरेअनुसार ती महिलाले श्रीमान् बाहिर भएको समयमा उक्त पुरुषसँग बिहान–बेलुकाको खाना वा खाजा खाने समयमा भेटेको जनाएका छन् । ‘उनी आफ्नो परिवारले ती केटा साथीसँग नियमित भेटिरहेकोबारे जानकारी नपाओस् भन्ने चाहन्थिन् । परिवारले उनीहरूको सम्बन्धबारे गलत नसोचून् भन्ने उद्देश्यले भेटघाट भएको विषय लुकाएकी थिइन्,’ सरकारी अधिकारीहरूले अदालतमा पेस गरेको पत्रमा भनेका छन् ।

संक्रमणका कारण ती महिलालाई अस्पतालमा भर्ना गर्नुपरेको थियो । त्यसपछि महिलाले फोनमार्फत उनका केटा साथीलाई पनि आफूहरूको भेटबारे बाहिर खुलासा नगर्न भनेकी थिइन् । लिमलाई पनि मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाको वकिलले भने उनले अरु कसैलाई संक्रमण नसारेको दाबी गरेका छन् ।

सिंगापुरका अधिकारीहरूले पार्किङ रेकर्ड, क्रेडिट कार्ड, फोन रेकर्ड र सिसिटिभी फुटेजलगायत तथ्यको अध्ययन गरी उनीहरूबीचको भेटको पुष्टि गरेका हुन् । सिंगापुरको अदालतले महिलाले अन्य व्यक्तिलाई यो संकटबाट बचाउनुपर्नेमा जानकारी लुकाएर धोका दिएको उल्लेख गरेको छ । अदालतले संकटको समयमा नागरिकको यस्तो गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरेको छ ।
 

सुझावित समाचार