नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पछिल्लो घटनाक्रमका कारण चोइटिएको नेकपा एकजुट हुनुको विकल्प नभएको बताएका छन् ।
आज शनिबार विज्ञप्ति जारी गर्दै गौतमले अहिलेकाे परिस्थितिले नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको बताउँदै एकता अपरिहार्य रहेको बताए ।
नेपालको मात्रै नभई एसियाको इतिहासमा पहिलोपटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीअन्तर्गत दुईतिहाइ मतबाट बनेको सरकारको कार्यकाल अवधि पूरा नहुँदै नेकपा विभाजित हुनु दुःखद र पीडादायी भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेकपामाथि जनताले धेरै आशा र भरोसा राखेको भन्दै उनले राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधको समाधान गर्न नसकेका कारण पार्टी विभाजनको बाटोमा पुगेको उनको ठहर छ ।
‘एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरूमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले व्यहाेर्नुपर्ने अवस्था सिर्जना भएको छ । पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधिसभालाई दुरुपयोग गर्ने सम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो ’ विज्ञप्तिमा भनिएको छ ।
उनले एक अर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लंघन गर्दै, आफ्ना ऐतिहासिक योगदानलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीहरूलाई हसाउँदै सुरु गरेको लडाइँ बन्द गर्न र पुनर्मिलनकाा लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
हजारौँ सहिदको रगतबाट विकसित भएको पार्टीलाई मिलेर पुनर्गठन गरी ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गर्न र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरूलाई पार्टी पद्धतिअनुरूप सम्मानजनक ढंगबाट हल गर्न पनि उनको सुझाब छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान अपिल आदरणीय कमरेडहरु, आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको...
Posted by Bamdev Gautam on Friday, January 8, 2021