दोधारा–चाँदनीमा आइसिपी निर्माणको गुरुयोजना बन्दै

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण

इन्टरमोडलले जग्गा पहिचान गरेर भोगाधिकारका लागि मन्त्रालयमा पत्राचार गर्यो, गुरुयोजनाका लागि परामर्शदाता छानिँदै

सुदूरपश्चिम प्रदेशको दोधारा–चाँदनीमा एकीकृत भन्सार जाँचचौकी (आइसिपी) निर्माणका लागि गुरुयोजना बनाउन थालिएको छ । संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल इन्टरमोडल तथा यातायात विकास समितिले आइसिपी निर्माणको गुरुयोजना निर्माण अघि बढाएको हो । 

भारतको वनबासामा निर्माण हुन थालेको आइसिपीसँग लिंक गर्ने गरी दोधारा–चाँदनी आइसिपी निर्माणको योजना अघि बढाइएको नेपाल इन्टर मोडलका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । दोधारा–चाँदनी नगरपालिकामा निर्माण हुने आइसिपीको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । अब गुरुयोजना बनाउन परामर्शदाता नियुक्ति गर्ने अन्तिम तयारी भइरहेको गजुरेलले बताए । ‘यसअघि उद्योग वाणिज्य मन्त्रालयको सहसचिवको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन गरेको थियो, त्यसपछि इन्टरमोडलको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरेको हो,’ उनले भने, ‘आइसिपीका लागि पर्याप्त जग्गा उपलब्ध हुनु, स्थानीय पनि सकारात्मक देखिनु, भारतको आइसिपीसँग लिंक हुनु, पहुँचमार्गबाट नजिक हुनुलगायत हरेक हिसाबले सम्भावना देखिएको छ ।’

दोधारा–चाँदनीको कञ्चनभोजमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढाइएको थियो । तर, स्थानीयले विरोध गरेपछि उद्योगमन्त्री लेखराज भट्टले त्यहाँबाट अन्तै सार्ने बताएका थिए । भारतले पनि वनबासामा आइसिपी निर्माण गर्ने जानकारी गराएपछि नेपालले सोहीअनुसार पायक पर्ने गरी नयाँ ठाउँ खोजेर आइसिपी निर्माणको प्रक्रिया अघि बढाएको हो । 

अध्ययनबाट दोधारा–चाँदनी नगरपालिकाको वडा नम्बर १ मा पर्ने मायापुरी सामुदायिक वन र वडा नम्बर २ मा पर्ने गौरीशंकर सामुदायिक वन क्षेत्रमा आइसिपी निर्माण गर्न प्रस्ताव गरिएको हो । उक्त क्षेत्रमा करिब २ सय ८० बिघा रहेको छ । वन मन्त्रालयको नाममा रहेको उक्त जग्गा भोगाधिकारका लागि प्रक्रिया थाल्न उद्योग, वाणिज्य मन्त्रालयमा पत्राचार गरिएको कार्यकारी निर्देशक गजुरेलले बताए । 

गुरुयोजना तीन महिनामा सक्ने
दोधारा–चाँदनीमा आइसिपी निर्माणको गुरुयोजना तीन महिनामा सक्ने योजना रहेको इन्टरमोडलले जनाएको छ । ‘परामर्शदाता छनोट भइसकेको छ, सम्झौता केही दिनमै हुनेछ,’ उनले भने, ‘सम्झौतालगत्तै परामर्शदाताले काम थाल्नेछ, आगामी तीन महिनाभित्र गुरुयोजना तयार गरिसक्ने हाम्रो योजना छ ।’

एक वर्षभित्र निर्माण सुरु गर्ने लक्ष्य
दोधारा–चाँदनी आइसिपी निर्माण प्रक्रियालाई मन्त्रालय र इन्टरमोडलले विशेष महत्वका साथ अघि बढाएको गजुरेलले बताए । विराटनगर र वीरगन्जको आइसिपी सञ्चालनमा आइसकेको छ । भैरहवा र नेपालगन्जमा आइसिपी निर्माणको प्रक्रिया अघि बढिसकेको छ । सुदूरपश्चिममा समेत आइसिपी आवश्यक हुने भएकाले दोधारा–चाँदनीको आयोजनालाई महत्वका साथ अघि बढाएको गजुरेलको भनाइ छ । ‘गुरुयोजना तीन महिनाभित्र सक्ने र त्यसलगत्तै इआइए र डिपिआर अघि बढाउने हाम्रो योजना छ,’ उनले भने, ‘यता गुरुयोजना बन्दै गर्दा मन्त्रालयले जग्गा भोगाधिकारलगायतको प्रक्रिया सक्नेछ, त्यसपछि हामी निर्माणको प्रक्रिया सुरु गर्न सक्ने अवस्थामा पुग्नेछौँ ।’ आगामी एक वर्षभित्र निर्माण नै सुरु गर्ने लक्ष्य राखिएको उनले बताए । 

See More On

सुझावित समाचार