प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओली संसद् विघटनको निर्णयपछि पहिलोपटक राजधानी काठमाडौंबाहिर गएका छन् ।
गत ५ पुसमा गरिएको संसद् विघटनको निर्णयपछि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्न पहिलोपटक उपत्यकाबाहिर गएका हुन् ।
उनी धनगढीमा नेकपा ओली समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न पुगेका हुन् ।
नेकपा ओली समूहले यस आमसभामार्फत चुनावका पक्षमा जनमत रहेको संकेतका रूपमा प्रदर्शन गर्ने प्रयास गरेको छ ।
नेकपाको प्रचण्ड–नेपाल समूह भने संसद् विघटन असंवैधानिक रहेको भन्दै संघर्षको दिशामा छ ।
धनगढीमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चुनावको पक्षमा जनलहर उर्लेर चुनावलाई समर्थन गरेको दाबी गरे ।