दोस्रो टेस्ट : पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

अग्लो कदका तीव्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्युजिल्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विशाल अन्तरले पराजित गरेको छ । यो जितसँगै न्युजिल्यान्ड टेस्ट क्रिकेटको विश्व वरीयतामा पहिलो नम्बरमा उक्लेको छ । 

पहिलो इनिङमा पाँच विकेट लिएका काइल जेमिसनले दोस्रो इनिङमा पनि प्रभावशाली खेल प्रदर्शन गर्दै पाकिस्तानका ६ खेलाडी आउट बनाएका थिए । ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने केन विलियम्सनले १ विकेट लिएका थिए । 

पहिलो इनिङमा २९७ रन बनाएको पाकिस्तानले दोस्रो इनिङमा १८६ रन मात्र बनाउन सकेको थियो । पहिलो इनिङमा ६५९ रन बनाएको न्युजिल्यान्डले अन्ततः पाकिस्तानलाई एक इनिङ र १७६ रनले पराजित गरेको हो । दुई खेलको यस शृंखलामा न्युजिल्यान्ड २–० ले विजयी भएको छ । 

पहिलो इनिङमा व्यक्तिगत २३८ रन बनाएका कप्तान केन विलियम्सनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधि जिते ।  

दोस्रो इनिङमा पाकिस्तानका अविद अलिले २६, मोहम्मद अब्बासले ३, अजहर अलिले ३७, ह्यारिस सोहेलले १५, फवाद आलमले १६, मोहम्मद रिजवानले १०, फाहिम अश्रफले २८, जफार गोहारले ३७ रन बनाएका थिए । 

सुझावित समाचार