१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

मंगलबार, २१ पुष, २०७७
डिजिटल संस्करण

पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच चार विधा सार्वजनिक गर्दा यी तीन खेलाडीले वचश्र्व जमाएका छन् । यी सबै मनोनीत भएका खेलाडी गत वर्ष काठमाडौंमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता हुन् । गौरिकाले सर्वाधिक चार स्वर्ण हात पारेकी थिइन् । मन्देकाजी र सुवासले समान दुई स्वर्ण जितेका थिए । 

मञ्चले गत वर्ष मंसिरमा भएको १३औँ सागमा नेपाललाई दिएको सफलताको आधारमा खेलाडीदेखि प्रशिक्षकको मनोनयन गरेको जनाएको छ । १७औँ संस्करणको अवार्डमा मंगलबार सार्वजनिक भएको विधामा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक छन् । यी सबै विधामा समान पाँचजनाको मनोनयन भएको मञ्चको सचिव तथा छनोट समितिका संयोजक गोविन्द रेग्मीले जानकारी दिएका छन् । 

सुवास वर्षका उत्कृष्ट पुरुष र युवा विधाको मनोनयनमा परेका छन् । उत्कृष्ट महिलाको मनोनयनमा परेकी गौरिकासँगै मन्देकाजी पिपुल्स च्वाइस अवार्डमा पनि मनोनीत भएका छन् । संयोजक रेग्मीको संयोजकत्वमा रहेको ११ सदस्य खेलाडी छनोट समितिले सार्वजनिक गरेको मनोनयनमा वर्षका उत्कृष्ट पुरुष खेलाडीमा मन्दे, सुवाससँगै एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथु छन् ।

यसैगरी उत्कृष्ट महिला खेलाडीमा गौरिकासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारी छन् । वर्षका उत्कृष्ट युवा खेलाडीमा सुवासका साथ तेक्वान्दोकी सिना लिम्बू मादेन, तेक्वान्दोकै भूपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरी मनोनयनमा छन् ।

सागमा नेपाललाई उत्कृष्ट नतिजा दिलाउनमा प्रशिक्षकको महत्वपूर्ण भूमिका निर्वाह गरेका तेक्वान्दोका नवीन श्रेष्ठ, करातेका मदन उप्रेती, उसुका अमरकुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापामगर वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेको मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशीले जानकारी दिएका छन् ।

गौरिका र मन्देसँगै पिपुल्स च्वाइस विधामा भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनीत भएका छन् । अवार्ड २८ पुसमा ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमिभर्चुअल हुनेछ । मञ्चले विभिन्न १० विधामा अवार्ड दिनेछ । पल्सर स्पोर्टस् अवार्डमा पिपुल्स च्वाइस, वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षकसँगै पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, एकजना अन्तर्राष्ट्रिय खेल पत्रकारको घोषणा कार्यक्रमकै दिन हुने बताइएको छ ।

खेलाडी छनोट समितिमा अञ्जन खड्का, निरञ्जन राजवंशी, प्रजित शाक्य, सुजन श्रेष्ठ, सुवास हुमागाईं, अनिल मल्लठकुरी, कुशल तिमल्सिना, गोविन्दराज नेपाल, निशान राई र मोती अमगाईं सदस्य छन् । छनोट समितिले ०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शन तथा हात पारेको नतिजाको आधारमा मनोनयन गरिएको जनाएको छ ।

यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को नाम राखिएको जनाएको छ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित गिफ्ट पाउनेछन् ।

वर्षका पुरुष खेलाडी
विकेश कुथु (फुटबल)    

– १३औँ सागमा फुटबलको टिम स्वर्ण
– आठौँ राष्ट्रियमा आर्मी क्लबबाट स्वर्ण 
– ए डिभिजन लिगमा दोस्रो 
– विशाल गोल्डकप च्याम्पियन 

गोपीचन्द्र पार्की (एथलेटिक्स) 
– १३औँ सागमा पाँच हजार मिटर दौडमा स्वर्ण पदक 
– आठौँ राष्ट्रिय खेलकुदमा पाँच हजार मिटर दौडमा स्वर्ण, १० किलोमिटर दौडमा कांस्य
– गणेशमान सिंह ओपन रोडरेसमा प्रथम 
– चितवन नेसनल १५ किलोमिटर ओपन रोडरेसमा प्रथम 

कमल श्रेष्ठ (तेक्वान्दो)
पुम्से एकल (२४–२९ वर्ष)
– १३औँ सागमा स्वर्ण    
– आठौँ बृहत् राष्ट्रिय खेलकुदमा तीन स्वर्ण
– नवौँ कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा दुई स्वर्ण

मन्देकाजी श्रेष्ठ (कराते)
– १३औँ सागमा दुई स्वर्ण पदक (टिम काता र एकल) 
– आठौँ राष्ट्रिय खेलकुद, स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कांस्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता)

सुवास तामाङ (गल्फ) 
– १३औँ दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण (व्यक्तिगत र समूह) 
– पहिलोपटक नेपाललाई ऐतिहासिक स्वर्ण ।
– आठौँ राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मीबाट, सुवास तामाङ, राहुल विक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन, सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।

वर्षकी महिला खेलाडी

अनु अधिकारी (कराते) 
– १३औँ सागमा स्वर्ण पदक
– आठौँ राष्ट्रिय खेलकुदमा रजत पदक 
– बंगलादेश, पाँचौँ साफ च्याम्पियनसिप करातेमा स्वर्ण पदक
– उज्वेकिस्तानमा भएको १६औँ सिनियर कराते च्याम्पियनसिपमा १६औँ स्थान

आयशा शाक्य (तेक्वान्दो) 
– १३औँ सागमा दुई स्वर्ण
– आठौँ बृहत् राष्ट्रिय खेलकुदमा कांस्य

गौरिका सिंह (पौडी) 
– १३औँ सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक
– सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबर 
– आठौँ राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात् १२ स्वर्ण जित्न सफल । 

सन्तोषी श्रेष्ठ (एथलेटिक्स) 
– १३औँ सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक
– आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कांस्य (पाँच हजार, १५ सय र १० हजार मिटरमा) 
– वीर गणेशमान सिंह १० किलोमिटर रोडरेसमा स्वर्ण 
– नेवाः च्यारिटी धरान १० किलोमिटर रनमा स्वर्ण 
– कान्तिपुर हाफ म्याराथन (२१ किलोमिटर) मा रजत 

सोनी गुरुङ (ट्रायथलन) 
– १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा एक स्वर्ण र एक रजत 
– आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण 
– दोस्रो ग्रेड बुद्धिस्ट ट्रेल– २०१९ मा स्वर्ण 
– हाइअल्टिच्युट त्रि–एडभेन्चर प्रतियोगिता २०१९ मा स्वर्ण 

वर्षका युवा खेलाडी

भूपेन श्रेष्ठ (तेक्वान्दो)
– १३औँ सागमा स्वर्ण पदक
– आठौँ बृहत् राष्ट्रिय खेलकुदमा स्वर्ण 
– हैदराबादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण 
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य

पुनम श्रेष्ठ (जुडो)
– १३औँ सागमा स्वर्ण 
– आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण 
– राजविराजमा सम्पन्न छैटौँ नेसनल ओपन जुडो च्याम्पियनसिपमा स्वर्ण 

सञ्जु चौधरी (भारोत्तोलन) 
– १३औँ सागमा स्वर्ण (राष्ट्रिय कीर्तिमान) 
– सुनीललाल मेमोरियलमा स्वर्णसहित उत्कृष्ट खेलाडी
– चीनमा भएको एसियन च्याम्पियनसिप र टोकियो ओलम्पिक छनोट खेलमा प्रतिस्पर्धा

सिना लिम्बू मादेन (तेक्वान्दो) 
– १३औँ राष्ट्रिय खेलकुदमा एक स्वर्ण, एक कांस्य    
– आठौँ राष्ट्रिय खेलकुदमा एक स्वर्ण, एक रजत, एक कांस्य
– नवौँ कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा एक स्वर्ण, एक रजत, एक कांस्य 

सुवास तामाङ (गल्फ)
– साग दुई स्वर्ण (व्यक्तिगत र समूह) 
– आठौँ राष्ट्रिय खेलकुदको टिम स्पर्धामा रजत (आर्मी टिम–सुवास तामाङ, राहुल विक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट ०७६ मा च्याम्पियन ।
– सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।

वर्षका उत्कृष्ट प्रशिक्षक

अमरकुमार थिङ (उसु)
– १३औँ सागमा पाँच स्वर्ण, ६ रजत पाँच कांस्य पदक जिताउन सफल 

मदन उप्रेती (कराते)
– राष्ट्रिय कराते टिमको मुख्य प्रशिक्षक
– १३औँ सागमा नेपाललाई १० स्वर्ण, चार रजत र पाँच कांस्य पदक जिताउन सफल ।
 
नवीन श्रेष्ठ (तेक्वान्दो) 
– १३औँ सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल 
– तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक 
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक ।

प्रकाश थापामगर (बक्सिङ)
– १३औँ सागमा तीन स्वर्ण, ६ रजत ६ कांस्य पदक जिताउन सफल 

शंकर कार्की (पौडी)
– १३औँ सागमा चार स्वर्ण, चार रजत चार कांस्य पदक जिताउन सफल 
– आठौँ राष्ट्रिय खेलकुदमा पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन भूमिका

सुझावित समाचार