कानुनी उपचारको खोजीमा गएको राजनीतिलाई नागरिकको चेतनाले प्रभावित गर्नुहुँदैन भन्ने मान्यता अलोकतान्त्रिक हो
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीबाट संसद् विघटन भएलगत्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मलाई फोन गर्दै बधाई दिए । अलमलिँदै मैले बधाई दिनुको कारण सोधेँ । जवाफमा नेता पौडेलले भने, ‘हिजो तपाईंले भोलि नै संसद् विघटन हुन्छ भनी गरेको अनुमान मिल्यो नि ।’ यो ठट्यौलीपूर्ण बधाई दिइरहँदा रामचन्द्र पौडेलमा अब देशले लिने मार्गबारे चिन्ता प्रस्ट देखिन्थ्यो ।
संसद् विघटन भएको एक दिनअगाडि कांग्रेस नेता रामचन्द्र पौडेलसँग मेरो टेलिफोनमा लामो कुराकानी भएको थियो । कुराकानी ओलीको भावी कदमका विषयमा केन्द्रित थियो । मैले भोलि नै प्रमले संसद् विघटन गर्लान् भनी अनुमान गरेको थिएँ । प्रधानमन्त्रीको छलकपट र छटपटी हेर्दा यस्तो अनुमान लगाउने ठाउँ प्रशस्त थिए । तत्काल कांग्रेस सभापति र संसद् विघटनविरुद्ध उभिने सवै घटकलाई अहिले नै मिटिङ गरेर रोक्न सकिन्छ कि भनी मैले पोडेललाई सुझाएँ । ‘देउवालाई भन्नुहोस् र विघटन रोक्न पहल गरिहाल्नुस्,’ मैले भनेँ ।
राजनीतिमा त्यसैले बाजी मार्छ, जसले समयमा ‘स्मार्ट मुभ’मार्फत् छक्का हान्न जान्दछ भन्छन् । प्रचण्ड–माधव नेपाल समूह ‘लोसे’ निस्किए । लोसे मात्र होइन, जनतासँग जोडिने गरी यिनले विषय पनि उठाउन रुचाएनन् । प्रम ओलीलाई जनताको कठघरामा उभ्याएर उनलाई पदमुक्त गर्ने संवैधानिक मार्ग प्रचण्ड–नेपाल समूहले लिनै चाहेनन् । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा स्मार्ट राजनीतिज्ञ हुन्थे भने उनी बालुवाटार धाएर खुद्रा मसिना नियुक्तिका लागि प्रम ओलीसँग याचना नै गर्नुपर्दैनथ्यो । देउवालाई ज्योतिषको भनाइ सिद्ध गर्ने ठूलो अवसर विघटनपूर्व नै आएको थियो । उता प्रधानमन्त्री ओली देउवा र प्रचण्ड–नेपाल गठबन्धनभन्दा स्मार्ट निस्किए । अहिले उनको फुर्ती बढेको त्यही कारण हो । तर, यो निभ्न थालेको बत्तीको फुर्तीझैँ छ ।
रामचन्द्र पौडेल संसद्मा थिएनन् र उनीसँग संसदीय मोर्चामा अग्रणी भूमिका खेल्ने हैसियत नै कमजोर भइरहेको म बुझिरहेको थिएँ । भोलि नै विघटन हुन्छ भन्ने मेरो राजनीतिक विश्लेषण थियो, कुनै ठोस सूचनाबाट म अगाडि बढेको थिइनँ । तर, आफूले जे नहोस् भनेको नेपालको राजनीतिमा त्यही भइरहेको थियो, अर्थात् संसद् फेरि पनि विघटन ।
जे नहुनु थियो, त्यही भयो । अब के हुन्छ ? प्रम ओलीले पार्टी र आमनागरिकको मात्र विश्वास र भरोसा तोडेनन् । हामी जो वैचारिक रूपमा उनीसँग कहीँ मत्यैक्य राख्दैनौँ, तर सरकार पाँच वर्ष टिकोस् भनी सधँै कामना गथ्र्यौं, त्यो चाहना पनि पूरा भएन । मैले गिरिजाप्रसाद कोइरालालाई २०५१ को मध्यावधिपछि उत्पन्न राजनीतिक परिस्थितिमा उनको गिर्दो राजनीतिक उचाई नगिचबाट देखेको थिएँ ।
कोइरालासँग सबैथोक थियो मध्यावधिपछि पनि, त्यसका बाबजुद उनी छटपटीमा थिए आफ्नो गुमेको साख फिर्ता गर्न । गिरिजाप्रसाले त्यो अवसर पाए र उनले जीवनको उत्तरार्धमा आफ्नो साख पुनस्र्थापित गराए । तर, कैयन् राजनीतिकर्मी छन्, लामो संघर्ष र यातना सहेर पनि आस्थाको राजनीतिमा मात्रै अझै विश्वास गर्छन् । तिनको विश्वासमाथि एकपटक फेरि कुठाराघात भएको छ प्रम ओलीबाट ।
नेपालमा राजनीति अमर्यादित हुँदा ती अबोध राजनीतिकर्मी परिवारको पीडा र व्यथाको अध्ययन अनुसन्धान नै भएको छैन । म नख्खुजेलमा बस्दा नक्सलवादी भनिने झापा विद्रोहबाट जेल परेका धेरै युवासँग कुराकानी हुन्थ्यो । यदाकदा अहिले पनि हुन्छ । ती अधिकांश छेउ–किनाराका कम्युनिष्ट छन् अहिले । अबोध कांग्रेसको कुरै नगरौँ, ती बर्माबाट भाग्न बाध्य पारिएका रोहिंग्या मुसलमानभन्दा पनि आफ्नै देशमा पीडित छन्, आफ्नै पार्टीबाट प्रताडित छन् ।
कांग्रेस जहाँ चुकेको थियो ,कम्युनिस्टलाई त्यहीँ अपार सम्भावना थियो । कम्युनिस्टले सरकार सामान्य रूपमा पाँच वर्ष मात्र चलाउन सकेको भए नागरिकको भरोसा र विश्वास मात्र होइन, ती अबोध सीमान्तकृत राजनीतिकर्मी पनि संविधानप्रति आश्वस्त हुन्थे । आफ्नो विगतको त्याग र बलिदानप्रति न्याय गर्न सक्थे, र सबैभन्दा ठूलो आफ्नो सन्तान र कुटुम्बबाट भोगिरहेको अपमानबाट पनि केही त्राण पाउँथे । अब फेरि ती धिक्कारिनेछन् ‘तिमीहरूले देश डुबायौ’ भनेर । देश डुबाउने भस्मासुर टोलीको नेतृत्व यतिखेर प्रम ओली गर्दै छन् ।
राजनीति पेसा बनाउनेहरूका लागि नाफाको व्यापार भयो भनी धेरै होहल्ला राजधानीमा चलिरहन्छ । यो होला, तर यस्तो नाफाको व्यापार नबनाउने र आदर्शका लागि लड्ने ठूलो जमात नेपालको गाउँघर, सहरमा शान्त रूपमा बसेको छ । ती कांग्रेस भएर पनि कांग्रेस छैनन्, ती कम्युनिस्ट भएर पनि कम्युनिस्ट छैनन् । तिनको विश्वास छ, कोहीले त केही गर्लान् नि देशका लागि भनेर । जसरी कांग्रेसमा भएका शान्त कांग्रेसी क्रमशः निथ्रिए र कम्युनिस्टको विस्तार हुन सहज भयो, नेपालमा । अब कांग्रेस र कम्युनिस्ट दुवै स्खलित हुँदा राजनीतिक परिस्थिति फरक पर्नेवाला छ ।
कैयन् राजनीतिकर्मी छन्, जो लामो संघर्ष र यातना सहेर पनि आस्थाको राजनीतिमा अझै विश्वास गर्छन् । तिनको विश्वासमाथि एकपटक फेरि कुठाराघात भएको छ ओलीबाट ।
जान रविन्सन बेलायत क्याम्ब्रिज विश्वविद्यालयकी प्रसिद्ध अर्थशास्त्री थिइन् । पोस्ट केन्सियन अर्थशास्त्रमा उनको भूमिका अद्वितीय छ । भारतको ‘एक्सिडेन्टल’ प्रम मनमोहन सिंह यिनको चेला मानिन्छन् । जान भारतलाई परस्पर विरोधी विचार पनि सत्य हुन समय नलाग्ने देश हो भनी अनुमान गर्थिन् । उनी भन्थिन्, ‘भारत महाशक्ति राष्ट्र हुने अनुमान गर्न सकिन्छ ।’ त्यस्तै भारत संसारको सबैभन्दा गरिब राष्ट्र हुने अनुमान पनि गर्न सकिन्छ । किन यस्तो भन्दा जान भन्थिन् ‘भारत युनिक’ छ, अर्थात् भारत आफ्नो किसिमको एउटा मात्र देश छ विश्वमै । कुनै कुराको अनुमान गर्न नसकिने ।
भारतझैँ नेपाल पनि परस्पर विरोधी भावनाले भरिएको देश हो । यहाँको राज्य चरित्रबारे कुनै पनि कुराको अनुमान लगाउन सकिन्न । यहाँको संविधान र कानुन पढेर नेपाली मात्र होइन, विश्वका कुनै नागरिक आश्वस्त हुन सक्दैनन् । यहाँ राजनीतिज्ञ डाक्टर छन, वकिल छन्, इन्जिनियर छन् । प्रम ओलीको त के कुरा गर्नु, उहाँलाई त सर्वोच्चले बनाएको संवैधानिक पिठ प्रमुख बनाए पनि हुने । सबथोक जानेका छन् ।
प्रमले संसद् विघटन संविधानतः सही हो भनिरहँदा संविधानविज्ञ सुभाष नेम्वाङले मुखमा टेप लगाएर बस्न रुचाए । भारतमा तत्कालीन प्रम इन्दिरा गान्धीले संकटकाल लगाउँदा भारतीय कांग्रेसका कैयन् वरिष्ठ वकिलले इन्दिराको तानाशाहीविरुद्ध जयप्रकाश नारायणसँग आन्दोलनमा उत्रिन रुचाए । नेपालमा ‘पार्टी कोट’ लगाएका वकिलले कालो कोटको अपमान गर्न रुचाएको देख्दा उदेक लाग्छ ।
कम्युनिस्ट एकतापछि झन्डै तीन वर्षदेखि नेपालमा दुईतिहाइको सरकार थियो । अनुमान थियो, यो पाँच वर्षसम्म निर्बाध चल्नेछ । यसले निम्न र श्रमजीवी लाखौँ नेपालीको जीवनलाई सम्बोधन गर्नेछ भन्ने थियो तर भएन । प्रम ओलीमा त्यो बाटो हिँड्न रुचि नै थिएन । तसर्थ फेरि भारत नपसी ती श्रमजीवी र निम्न वर्गको जीवन गुजारा नहुने परिस्थिति यथावत् रह्यो । कोरोनाबीच पनि ती भारत पसे । कोरोना महामारीका वेला पनि नेपालीहरू जुन संख्यामा भारत पस्न बाध्य भएको नेपालका टेलिभिजनमा प्रसारित भयो, त्यसले कुन नेपालीको आँखा रसाएन होला ।
नेपाली भारतविरोधी हुन् । भारत नेपालविरोधी हो । भारत गरिब नेपालीको सबैभन्दा ठूलो रोजगारदाता मित्र पनि हो । जान रविन्सनले यसै भन्थे होलिन् नेपालबारे ‘युनिक छ यो देश’ भनी टिप्पणी गर्दा । थप उनी भन्थिन् होला ‘नेपालका कम्युनिस्ट खाँटी छन्, यिनले समृद्धि र राजनीतिक स्थिरता दिनेछन्’ भनेर । तत्कालै जानलाई यो पनि भन्नुपथ्र्यो होला, नेपालका कम्युनिस्ट ‘कमाऊ–निस्ट’ हुन् भनेर ।
संसद् विघटनसँगै नेपालको राजनीति यतिखेर सर्वोच्चको संवैधानिक पिठमा पुगेको छ । अब यो राजनीतिको अखडा भएको छ, सबैका लागि । अखाडामा को–को उत्रेका छन् जित्नका लागि, हेरौँ । राष्ट्रपति छिन्, प्रम छन्, कांग्रेस सभापति देउवा छन्, प्रचण्ड–नेपाल गठबन्धन छ, सर्वोच्च अदालतभित्र संवैधानिक पिठ अर्थात् अखडा छ र कालो कोटधारी वकिलहरू छन् । अखडामा हुने यी सबै दन्तबझान अबोध जनता र कार्यकर्ताको नाममा रचिँदै छ । नेतालाई यो थाहा नभए पनि जनतालाई थाहा छ, यो अखडाभन्दा ठूलो अखडा नेपालभूमि र यहाँ बस्ने झन्डै तीन करोड नागरिक हुन् ।
संवैधानिक पिठलाई नागरिक चेतनाले सडकबाट सहयोग गर्दै छ । संवैधानिक पिठलाई आमनागरिकको विचारले प्रभावित गर्छ भन्ने मानिन्छ, विश्वमै । आमनागरिकले स्थिर विचारलाई कुनै माध्यमद्वारा प्रकट गर्छन् भने पिठ पनि त्यो विचारभन्दा बाहिर जान सक्दैन भन्ने उदाहरण लोकतान्त्रिक देशले पेस गरेका छन् । यहीँनेर कांग्रेस नेता देउवा चुकेको आममानिसको बुझाइ छ ।
कानुनी उपचारको खोजीमा गएको राजनीतिलाई नागरिकको चेतनाले प्रभावित गर्नुहुँदैन भन्ने मान्यता सर्वथा अलोकतान्त्रिक र निजी स्वार्थबाट प्रेरित हो । संवैधानिक पिठले आफ्नो निर्णय दिने नै छ तर नागरिक चेतनालाई प्रस्फुटन हुनबाट रोक्ने उद्यम गर्नु अराजनीतिक विषय हो । लामो समय लोकतन्त्रका लागि संघर्ष गरेका कांग्रेस सभापति देउवालाई मैले यो कुरा स्मरण गराउन आवश्यक थिएन होला ।
देउवाको ‘म यता न उताको’ भन्ने भाकाको भक्तपुरमा सम्प्रेषित अभिव्यक्तिमा मालपोतमा काम गर्ने लेखनदासको सोच देखिन्छ । यो बाटो र सोच गलत हो । यदि त्यस्तो सोच र समझबाट कांग्रेस नेता तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध लड्थे भने संसद् पुनस्र्थापना सम्भव नै थिएन । निर्वाचन वा सत्तामा तत्कालै जाने लोभ पाल्ने कि संविधानको रक्षा गर्न अहिले एकलव्य भएर लाग्ने लोकतन्त्रवादीले ।
नागरिकबीच प्रस्ट स्थापित राजनीतिक प्रावधानलाई प्रमले कानुनी उपचारमा हालेर देशलाई नै भिरमा पुर्याएका छन् । एउटा सुदूर दुर्गम गाउँमा बस्ने किसानले पनि बुझेको छ, संविधानसभाबाट जारी संविधानमा सितिमिती संसद् विघटनको प्रावधान नै छैन भनेर । प्रम ओलीको संसद् विघटनको कदमले राजनीतिक दल र वकिल मात्र होइन, किसान र मजदुर पनि संविधान पल्टाएर फेरि पढ्न बाध्य भए ।
देशको सर्वश्रेष्ठ विधानलाई संविधान भनिन्छ । राज्य र नागरिकको व्यवहारलाई संविधानमार्फत रेगुलेट गरिन्छ । प्रम ओली संविधानअन्तर्गत छन् कि छैनन्, यसको छिनोफानो सडकदेखि सर्वोच्चसम्म घन्किनुपर्छ । म ठोकुवा गरेर भन्छु प्रम ओली पूर्णतः गलत छन् र उनले असंवैधानिक काम गरेका छन् । उनलाई यतिखेर कसैले प्रम भन्नु पनि गैरकानुनी हो । उनी बलजफ्ती प्रमको कुर्सीमा आसीन छन् । भारतको संविधानवादको यात्रामा संकटकालको समयबाहेक संवैधानिक पिठले सरकारको मुख हेरेको छैन भनिन्छ । निःसन्देह कोर्टको निर्णय सरकार र नागरिकको हैसियतबीच चलेको द्वन्द्वबाट अप्रभावित हुँदैन ।
नागरिकको हैसियत सडकमा छ र स्वतन्त्रताको हुन्छ । राज्यको मनोमानीविरुद्ध हुन्छ । सरकारको हैसियत शक्तिको हुन्छ तर प्रम ओलीको शक्ति ‘खालबाट उठेको भोर जुवाडे’झैँ भएको छ । म सर्वोच्चमा सरकारको सेटिड. छ भन्ने कुरा पत्याउँदिनँ । यस्तो शंका गर्ने जमात राजधानीमा ठुलो छ । अनुमानै गर्न नसक्ने व्यवहार त नेताहरूले देखाउँछन्, स्वार्थको लागि । सर्वोच्चको निर्णय सवै स्वार्थभन्दा माथि हुन्छ भनिन्छ । तर पनि म संसद् विघटनको कानुनी उपचार मात्र पर्खिएर बस्ने कांग्रेस सभापति देउवाको कुरासँग सहमत छैन, बरु म रामचन्द्र पौडेलको कुरासँग सहमत छु । ‘संविधानको रक्षा गर’ भन्ने पौडेलको अर्जुनदृष्टिलाई म तारिफ गर्छु ।
म नागरिक हुँ यो देशको । वर्तमान संविधानका कैयन् कुराहरूसँग मेरो असहमति छ । संविधानमै कैयन् अन्तरविरोध पनि छन् । तर, नेपाली समाजलाई सभ्य र असभ्य कुन बाटो हिँडाउने भन्दा सभ्य बाटो नै म रोज्छु । नेपाललाई देशी–विदेशीको क्रीडास्थल बनाउन नदिन पनि म सभ्य बाटो रोज्छु । सभ्य बाटोको राजमार्ग संवैधानिक मार्गबाट मात्र हिँड्न सकिन्छ, यतिखेर । भन्छन्, संविधानको आत्मा संविधानवादमा हुन्छ भनेर । म कानुनको विद्यार्थी होइन तर पनि भन्छु संविधानवाद जिन्दावाद !